धनगढी– मंगलबार डडेलधुराको गन्यापधुरा–३ जगरोलामा भएको जिप दुर्घटनामा परे, २२ वर्षीय विनोद बोहरा । डेढ महिनायता दोस्रो पटक दुर्घटनामा परेका हुन्, उनी ।
दुवै पटक बोहरालाई भाग्यले साथ दियो । र, दुवै पटक हातमा गम्भीर चोट लाग्यो । मंगलबारको दुर्घटनामा उनको हातको कुहिनोमा चोट लागेको छ । र, उपक्षेत्रीय अस्पतालमा उपचाररत छन् ।
गत ४ वैशाखमा पनि उनी डोटीको आदर्श–२ मा दुर्घटनामा परेका थिए । र, हातमै चोट लागेको थियो । त्यतिबेला उनको हातमा रड हाल्नुपरेको थियो । त्यही रड निकाल्न बाँकेको कोहलपुर जाने क्रममा दोस्रो पटक दुर्घटनामा परेका हुन् ।
मंगलबारको दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत भएको छ । प्रहरीका अनुसार घटनामा डोटीको आदर्श–२ का वडाध्यक्ष ४० वर्षीय प्रेमबहादुर बोहराको मृत्यु भएको छ । यस्तै, शैलेश्वरी यातायात व्यवसायी समितिका कोषाध्यक्ष विनोद रावल र जिप मालिकको पनि मृत्यु भएको छ ।
आदर्श–२ कै ३८ वर्षीय लालबहादुर बोहरा र सोही ठाउँकी १४ वर्षीया जानकी बोहराको मृत्यु भएको छ । जानकीबाहेक सबैको घटनास्थलमै ज्यान गएको थियो ।
से१ज ३३० नम्बरको बोलेरो जिप सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो । चालक विष्णु विक, कृष्णकुमार यादव, विष्णु बोहरा, टेकबहादुर बोहरा, नरेन्द्र देउवा, हेमा बोहरा र विमला बोहरा घाइते छन् ।
डोटीको बागटान–६ मा सोमबार भएको अर्को जिप दुर्घटनाका घाइते ओसार्ने क्रममा रातभर सुत्न नपाएकाले चालक निदाएर मंगलबारको दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४