आइतबार, असार २८, २०८३

जनकपुर-भिठ्ठामोड सडक : दुई वर्षमा ३५ प्रतिशत काम

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम । जनकपुर-भिठ्ठामोड सडकले भारतीय सीमासँग जोड्छ, सीता नगरीलाई । यही सडक दशकौंदेखि जीर्ण रहँदा भारतीय तीर्थ यात्री आउजाउमा कष्ट त छँदैछ, दैनिक उपभोग्य सामग्री आयातका लागि पनि करिब एक सय ५८ किलोमिटर टाढाको वीरगञ्ज पुग्नुपर्छ । 

जबकि, उक्त सडक हुँदै भारतीय सीमा जम्मा २२ किमि मात्र टाढा पर्छ । वर्षायाममा हिलाम्य र हिउँदमा धुलाम्य हुने गर्छ । सामान्य वर्षा हुँदा पनि महोत्तरी सदरमुकाम जलेश्वरसम्म पुग्न हम्मे पर्छ । 

जीर्ण सडककै कारण दुर्घटना सामान्य विषयजस्तो बनेको छ । १ जेठमा पनि भिठ्ठामोडबाट जनकपुर आउँदै गरेको बस दुर्घटना हुँदा २० यात्री घाइते भएका थिए । 

आजित बनेका स्थानीय बासिन्दाले धर्नालगायत आन्दोलन थालेपछि २५ भदौ ०७३ मा तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले उक्त सडक निर्माणको शिलान्यास पनि नगरेका होइनन् । तर, सडक जस्ताको तस्तै छ । 

परियोजनाको लागत ९३ करोड ४३ लाख रुपैयाँ छ । र, हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरको निगरानीमा काम अगाडि बढेको छ । 

जनकपुरदेखि महोत्तरीको पर्सासम्म प्रतिभा वाई जेभीले ४३ करोड ५६ लाखमा ठेक्का पाएको छ । त्यहाँबाट भिठ्ठामोडसम्म आतिश पप्पु रोशन जेभीले ४९ करोड ८९ लाखको ठेक्का लिएको छ । 

२३ भदौ ०७३ मै दुवै कम्पनीसँग निर्माण सम्झौता भएको थियो । २१ महिना बितिसक्दा आधा पनि निर्माण सकिएको छैन । जबकि, भदौ ०७६ सम्ममा काम सक्नुपर्ने सम्झौता छ । 

बजेट अभावका कारण ढिलाइ भएको डिभिजनल इन्जिनियर सन्तोष कर्णको दाबी छ । उनका अनुसार ६ महिनायता कामको गति सुस्त भएको हो । ‘तीन महिनादेखि ठेकेदारलाई दिने रकम सकिएको छ, अर्थ मन्त्रालयले निकासा गरेको छैन,’ कर्ण भन्छन् । 

हालसम्म चालु आर्थिक वर्षमा ६ करोडसहित १३ करोड रुपैयाँ निकासा भइसकेको छ ।

काम ३५ प्रतिशत मात्र

सम्झौता अवधि सकिन करिब वर्षदिन बाँकी रहँदा निर्माण ३५ प्रतिशत मात्र सम्पन्न भएको छ । रकम अभाव र वर्षाका कारण निर्धारित कार्यसूचीभन्दा करिब चार महिना ढिलो भएको साइट इन्जिनियर मनोज मण्डलको भनाइ छ । 

जिल्ला समन्वय समितिले ढुंगा, गिटी उत्खनन्मा बेला–बेलामा रोक लगाएकाले पनि निर्माणमा ढिलाइ भएको उनको दाबी छ । 

‘सडकको धुलोका कारण आसपासका बासिन्दा खोकी र दमको समस्या देखिन थालेको छ । यसको जिम्मेवारी कसले लिने ?’ स्थानीय सरोज पाण्डेय भन्छन् । 

काममा ढिलाइ गर्ने ठेकेदारलाई कारवाही गर्नुपर्ने स्थानीय निरुपमा रायको माग छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।