बिहीबार, भदौ ४, २०८३

मिचाहा प्रजातिलाई मल बनाउँदै रोल्पाका किसान

कृषि क्षेत्रमा जलवायु परिवर्तनको असर देखिन थालेपछि रोल्पाका कृषक अनुकूलनका उपाय खोज्न थालेका छन्।
 |  मंगलबार, साउन १९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १९, २०७८

रोल्पा- कृषि क्षेत्रमा जलवायु परिवर्तनको असर देखिन थालेपछि रोल्पाका कृषक अनुकूलनका उपाय खोज्न थालेका छन्।

जिल्लाको सुनिलस्मृति गाउँपालिका–६ गजुलका ३० घरधुरी कृषकले अनुकूलनका विभिन्न उपाय अनुसार खेतीपाती थालेका छन्। 

‘पहिले गरिँदै आएको खेती प्रविधिलाई सुधार गरी खेतीपाती गरेका हौं। कृषिमा अत्यधिक मात्रामा प्रयोग गरिने रासायनिक मल तथा कीटनाशक औषधिले मानव स्वास्थ्य र वातावरणमा समेत असर गरिरहेको हुँदा जलवायुमैत्री खेती सुरु गरेका छौं,’ सुनिलस्मृति–६ गजुलका कृषक इन्द्रबहादुर थापाले भने।

थापाका अनुसार जलवायु परिवर्तनका कारण खेतबारीमा देखिएको मिचाहा प्रजातिले कृषक हैरान थिए। तर त्यही मिचाहा प्रजातिलाई मलमा उपयोग गर्न सकिने सीप सिकेपछि उनीहरू खुसी छन्। ‘मिचाहा प्रजातिलाई बायो चार्टका रूपमा मल बनाएर खेतबारीमा प्रयोग गर्छौं,’ थापाले भने।

मिचाहा प्रजातिलाई काटेर खाल्डोमा जम्मा गरी खरानी नपर्ने गरी जलाएपछि आएको अंगार खेतबारीमा मलका रूपमा प्रयोग गर्ने थापाले बताए।

त्यसरी बनेको अंगारमा सूक्ष्म जीवाणुहरू बस्न सक्ने ठाउँ रहने भएकाले बोटबिरुवालाई फाइदा हुने गरेको कृषक बताउँछन्। अंगारले पानी पनि सोस्ने भएकाले माटोमा आद्र्रता पनि रहिरहन्छ।

त्यस्तै खेतीका लागि उपयोग हुने गाईको मलमूत्र, भेली र बेसनको पीठो मिसाएर झोल मलसमेत प्रयोग हँुदै आएको छ। त्यस्तो मल किसानहरूले सात दिनमा तयार हुने गरेको छ।

त्यसका साथै स्थानीय कृषकहरूले तरकारी खेतीमा लाग्ने मित्र जीवलाई बचाएर शत्रु कीरो मार्न पानी पासो, बत्ती पासोलगायत विभिन्न पासो प्रयोग गर्ने गरेका छन्।

यस्तो प्रविधि प्रयोग गरेर आफूले उत्पादन गरेको जैविक तरकारी अन्य तरकारीभन्दा महँगो हुने हँुदा बजारमा केही समस्या हुने गरेको थापा बताउँछन्।

जैविक तरकारीका रूपमा प्रमाणीकरणसहित स्टिकर टाँसेर काठमाडौं आपूर्ति गर्ने धोको रहेको तर यो काम एक्लो प्रयासले प्रयासले मात्रै सम्भव नभएको थापा बताउँछन्। ‘स्थानीय सरकारले सहयोग गरे जैविक उत्पादनको प्रमाणीकरण गर्न सकिन्थ्यो,’ उनले भने।

जलवायु परिवर्तनमैत्री खेतीमा लागेका किसानहरूलाई पहाडी साना किसानका लागि अनुकूलन कार्यक्रमले सामान्य आर्थिक सहयोग र प्राविधिक सहयोग गरेको आयोजनाका जलवायु परिवर्तन विज्ञ उमाकान्त गुरागाईंले बताए।

मानव स्वास्थ्य र वातावरण नबिग्रने गरी किसानले गर्दै आएको खेती प्रणाली जलवायु अनुकूलनका लागि महत्वपूर्ण सिकाइ रहेको गुरागाईं बताउछन्।

स्थानीय कृषकले अभ्यास गर्दै आएको जलवायुमैत्री खेती तथा अनुकूलनका उपाय वडाका अन्य बस्तीमा पनि विस्तार गर्न आवश्यक रहेको सुनिलस्मृति–६ का वडाध्यक्ष अर्जुन सुवेदी बताउँछन्।

गजुलका किसानहरू वडाका अन्य कृषकका पनि प्रेरणाका स्रोत बनेको सुवेदीले बताए। ‘उहाँहरूको प्रविधि र सीप विस्तार गरेर वडालाई नै जलवायुमैत्री ग्राम बनाउने सोचमा छौं,’ वडाध्यक्ष सुवेदीले भने।

यस्तो प्रविधि अपनाएर खेती गर्ने कृषकहरूले समूह बनाएर अनुभव आदानप्रदान गर्दै आएका छन्। तीस जना कृषक संलग्न रहेको सो समूहले हरेक १५ दिनमा बैठक बसेर अनुभव आदानप्रदान गर्नुका साथै आफूले जानेको प्रविधि तथा सीप पनि हस्तान्तरण गर्ने गर्छन्। - उमा केसी/रासस

प्रकाशित: Aug 03, 2021| 10:52 मंगलबार, साउन १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।