आइतबार, असार २८, २०८३

पूर्वका विमानस्थलसँगै जोडिएन प्रदेश राजधानी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इटहरी- प्रदेश–१ को राजधानी विराटनगरस्थित विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान र ‘माउन्टेन फ्लाइट’को प्रयास थालिएको छ । तर, प्रदेशकै विमानस्थलहरूसँग जोडिएको छैन यो । 

यस प्रदेशमा विराटनगरसहित १२ वटा विमानस्थल सञ्चालनमा छन् । सोलुखुम्बूमा चार, खोटाङमा तीन तथा ताप्लेजुङ, संखुवासभा, भोजपुर र ओखलढुंगामा १÷१ विमानस्थल सञ्चालनमा छन् । इलाममा फाल्गुनन्द विमानस्थल निर्माणाधीन छ । धरानमा पनि निर्माण हुने चर्चा चलेको लामो समय बितिसकेको छ ।

नेपाल वायु सेवा निगमका जहाजले खोटाङका थामखर्क, लामिडाँडा र खानीडाँडा, संखुवासभाको तुम्लिङटार र भोजपुर विमानस्थलमा विराटनगरबाट कहिलेकाहीं उडान गर्दै आएका छन् । 

विराटनगरमा मौसम खराब हुँदा मात्र यहाँ आउँदै गरेका जहाजहरू झापाको भद्रपुर विमानस्थल पुग्ने गर्छन् । 

विमानस्थल प्रमुख सुरेशमानसिंहका अनुसार विगतमा भारतीय राज्य विहारको राजधानी पटनासम्म विराटनगरबाट उडान हुन्थे । तर, त्यो अब इतिहासमा सीमित छ । 

एक सय १५ बिघाको यस विमानस्थलको धावनमार्ग १५ सय मिटरको छ । नेपालगञ्ज, सुर्खेत र पोखरा विमानस्थलहरूबाट आफ्नो क्षेत्रका पहाडी गन्तव्यमा उडान हुन्छन् । विराटनगरले भने विगतको आफ्नै इतिहासलाई ब्युँताउन सकेको छैन । 

सीधा उडान नभएकाले पूर्वका पहाडी भेगबाट प्रदेशको राजधानीसम्म आउजाउ गर्नुपर्दा सडकमार्ग मात्र विकल्प बनेको छ । 

खासगरी, सगरमाथाका पहाडी जिल्लाहरूबाट विराटनगर पुग्न मेची र कोशीको तुलनामा अपायक पर्छ । सोलुखुम्बू र ओखलढुंगाका बासिन्दाले त काठमाडौं पुगेर विराटनगरको यात्रा तय गर्नुपर्छ । 

प्रदेशका सबै विमानस्थलमा विराटनगरबाट उडान हुनुपर्ने सोलुखुम्बुका प्रदेश सांसद तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी बताउँछन् । भन्छन्, ‘विमानस्थल भएर पनि सडकबाटै यात्रा गर्नुपर्ने बाध्यता छ । प्रदेश  सरकारले यस विषयमा कार्यक्रम ल्याइसकेकाले काम हुने आशा छ ।’

तराईमा सुनसरी तथा पहाडमा उदयपुर, धनकुटा, तेह्रथुम र पाँचथर विमानस्थल छैनन् । प्रदेश सरकारले ती जिल्लालाई पनि हवाई सेवासँग जोड्ने योजना अगाडि सारेको छ । 

धनकुटाको बेलहारामा विमानस्थल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । त्यसका लागि स्थानीय बासिन्दाले ६० रोपनी जग्गा उपलब्ध गराउने भएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।