काठमाडौं - ला लिगामा आइतबार राति दुई गोल र एक एसिस्ट गरेका मेस्सीले बार्सिलोनाबाट ७६८ औं रेकर्ड ब्रेकिङ खेल पूरा गरेका छन्।
रियल सोसिडाडमाथि ६-१ गोलको सानदार जित निकालेको बार्सिलोनाबाट ७६८ खेल पूरा गर्दै ३३ वर्षीय प्लेमेकरले पूर्व मिडफिल्डर जावीको रेकर्ड भंग गरेका हुन्।
यो जितसँगै बार्सिलोनाले शीर्षस्थानको एथ्लेटिकोसँग अंक दूरी घटाउँदै चार अंकमा सीमित बनाएको छ। आइतबार रातिको जितमा एन्टोनी ग्रिजम्यानले पहिलो गोल गरेका थिए।
त्यसको केही समयमै सर्जियो डेस्टले दोहोरो गोल गरेपछि बार्सिलोनाले ३–० गोलको अग्रता बनाएको थियो।
यसलाई मेस्सीले ५६ औं मिनेटमा र ओउसमान डेम्बेलेले ७१ औं मिनेटमा गोल गर्दै ५–० मा पुर्याए।
तर, ७७ औं मिनेटमा सोडिडाडका फर्नान्डेजले सान्त्वना गोेल फर्काएपछि मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलानाका लागि आधा दर्जन गोल पूरा गरेका थिए।
मेस्सीको गोलसँगै बार्सिलोनाले ६–१ गोलअन्तरको जित निकाल्यो।
यो जितले उसलाई ला लिगाको दोस्रोस्थानमा पुर्याएको छ। बार्सिलोना ला लिगाको १८ खेलमा अपराजित छ।
६६ अंक बनाएको एथ्लेटिको शीर्षस्थानमा छ भने ६० अंक भएको रियल मड्रिड तेस्राे स्थानमा छ।
बार्सिलोनाको ६२ अंक छ। पराजित सोडिडाड ४५ अंकका साथ पाँचौ स्थानमा छ।