विराटनगर- झापाको कनकाई नगरपालिकाले बालकल्याण अधिकारी नियुक्त गरेको छ। कनकाई नगरपालिका बाल कल्याण अधिकारी तोक्ने प्रदेश १ को पहिलो नगरपालिका पनि बनेको छ।
७५३ वटा स्थानीय तहमध्य तेस्रो भएको छ। बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ६१ अनुसार स्थानीय तहमा बालकल्याण अधिकारीको व्यवस्था रहेको र बालकल्याण अधिकारी नियुक्त गर्ने तथा तोक्ने अधिकार स्थानीय तहलाई नै प्रदान गरेको छ।
सो ऐन बमोजिम नगरपालिकाले योजना शाखाका कार्यक्रम संजोजक उमनाथ ढकाललाई बाल कल्याण अधिकारीको जिम्मेवारी प्रदान गरिएको उपप्रमुख मञ्जु प्रसाईले जानकारी दिइन्।
कनकाई नगरपालिकाले बालअधिकार संरक्षण तथा सम्वद्र्धन कार्यविधि पास गरी बालअधिकार समिति नगरपालिकाकी उपप्रमुख प्रसाईको अध्यक्षतामा गठन गरिएको छ।
बाल अधिकार समितिले कार्यविधि पास गरी सोही वमोजिमको बालकल्याण अधिकारीको व्यवस्था गरेको हो। बालबालिकासम्वन्धी ऐन २०७५ ले हरेक स्थानीय तहमा बाल कल्याण अधिकारी हुनुपर्ने प्रावधान भए पनि स्थानी तहले यसप्रति चासो नदेखाएको पाइएको छ।
राष्ट्रिय बाल अधिकार परिषद्का समन्वय अधिकृत सुमन अधिकारीले बालबालिकासम्बन्धी ऐनमा भएका व्यवस्थाहरु अझै पनि स्थानीय तहहरुले कार्यन्वयन गर्न नसकेको बताए।
उनले स्थानीय तहमा बाल अधिकार समिति, बाल कोष, बाल कल्याण अधिकारी हुनु पर्ने व्यवस्थालाई कार्यन्वयनका लागि बाल अधिकार परिषद्ले काम गरिरहेको बताए।