काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको विचार नै गलत भएको बताएका छन्।
आफू निकट युवा संघले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
‘विचार गलत भएपछि आचरण, व्यवहार र कार्यशैली नै गलत हुन्छ,’ उनले भने। नेता नेपालले ओलीले बोलाउने कुनै पनि अवैधानिक बैठकमा आफूहरु नजाने बताए।
सरकारी निवासमा बोलाइने संसदीय दल र अवैधानिक तरिकाले बोलाइएको केन्द्रीय कमिटीमा सहभागी नहुने उनको भनाइ छ।
चुनौती र समस्याबाट डराएर पिठ्यु देखाएर नभाग्न आग्रह गर्दै उनले युवाहरुले उत्साह र जाँगरका साथ अगाडि बढ्न आह्वान गरेका छन्।
प्रतिगमन र असंवैधानिक कदमविरुद्ध संघर्ष गर्नेसँग हातेमालो गरेर अगाडि बढ्ने उनले बताए।
‘हामी सानो चित्तका छैनौँ, हाम्रो हृदय विशाल छ, प्रतिगमनविरुद्ध उत्रिनेसँग सहकार्य हुन्छ,’ नेपालले भने, ‘अहिले शुद्धीकरण अभियान चलाइएछ, कसिंगरहरु फालिने छ। लामो यात्रामा सबै सँगसँगै जाँदैन। केही मानिस छोडेर जानु स्वभाविकै हो।’
सर्वोच्चको फैसलाप्रति आपत्ति जनाउँदै उनले फैसला गलत रहे पनि बाध्यतावश पुरानै ठाउँमा पुग्नु परेको जिकिर गरे।
‘पूर्वएमाले ब्युँतिइसकेपछि केपी ओली पनि त्यहीँ आउने हो हामी पनि त्यहीँ जाने हो,’ उनले भने,‘केपी ओलीमा जाने होइन, एमाले पुरानै ठाउँमा फर्किनु पर्छ। अहिलेको विवाद नै यही हो। कुर्सीको लडाईँ होइन ओली प्रवृत्तिविरुद्धको संघर्ष गरिरहेका छौं।’