र्याकमा विभिन्न विधाका पुस्तक सजाएर राखिएका छन्। प्रायः सबै दैनिक तथा साप्ताहिक पत्रिका पढ्न पाइन्छ।
पुस्तकालयले नयाँ प्रकाशित पुस्तक पनि संकलन गर्दै आएको छ। वाचनालय व्यवस्थित छ। कर्मचारी दैनिक सफा गर्छन्। वातावरण शान्त छ।
तर, पुस्तकालयले पाठक पाउन छाडेका छन्। दैनिक एकदुई जना मात्र पुग्छन्। पाठक आउने क्रम घटेपछि पुस्तकालय खुल्ने समय घटाइएको छ।
विराटनगर पोखरियास्थित विष्णुमाया पुस्तकालयमा पुरानाभन्दा नयाँ पुस्तक बढी छन्। पुस्तकालयले करिब ९० प्रतिशत पुस्तक संकलन गरेको छ। १० प्रतिशत खरिद गर्छ।
‘पाँच/छ वर्षअघिसम्म पुस्तकालयमा पाठक भरिभराउ हुन्थे। अहिले त्यस्तो अवस्था छैन’, अध्यक्ष केशव गौतम भन्छन्।
स्कुल र कलेजमा पढ्ने विद्यार्थी मात्र होइन, लोकसेवा लगायतका विभिन्न परीक्षामा प्रतिस्पर्धाको तयारीमा जुटेका व्यक्ति पनि पुस्तकालय पुग्थे। दलका नेताकार्यकर्ता, समाजसेवी, बुद्धिजीवी पुस्तक पढिरहेका हुन्थे। २०२४ सालमा स्थापित पुस्तकालय कुनै बेला ज्ञानको केन्द्र थियो।
गौतम भन्छन्, ‘यी सबै सपनाजस्ता लाग्न थालेको छ। पुस्तकालयमा गएर पुस्तक पढ्ने मानिस पाउन गाह्रो छ।’
पुस्तकालयमा पत्रिका पढ्ने पाठक नियमित पुग्छन्। पुस्तक पढ्ने पाठक कमै आउने गौतमले बताए। नयाँ पुस्ताका त कोही पनि आउँदैन।
उनी भन्छन्, ‘अहिलेको पुस्तामा विद्यालय–कलेजको कोर्सबाहेक अन्य पुस्तक पढ्ने संस्कृति हराएको छ।’
नयाँ पुस्ताले त पढ्ने बानी नै बसालेन, पुराना पुस्ताका मानिसमा पनि पढ्ने बानी हराउन थालेको छ। गौतम भन्छन्, ‘पुस्तक पढ्ने बानी हराउन थालेपछि पुस्तकालयको अस्तित्व पनि संकटमा पर्न सक्छ।’
२०२६ सालमा विराटनगर वरगाछीमा स्थापित गुराँस पुस्तकालयको अवस्था पनि उस्तै छ। कोषाध्यक्ष रोहितकुमार राय बजारमा नयाँ पुस्तक आउनासाथ खरिद गर्ने गरिएको बताउँछन्।
राय भन्छन्, ‘५० जनाले एक हजार रुपैयाँ तिरेर सदस्यताको कार्ड लिएका छन्। उनीहरु नयाँ पुस्तक आए घरमै लगेर पढ्छन्।’ तीबाहेक कमै व्यक्ति मात्र पुस्तकालय आउने गरेको उनको भनाइ छ।
उनका अनुसार कुनै समय वाचनालय भरिभराउ हुन्थ्यो।’ कर्मचारी पुस्तक दिएर भ्याउँदैनथे। वाचनालय भरिभराउ हुन थालेपछि पुस्तकालय कोठा थप्ने तयारीमा थियो। पाठक घट्न थालेपछि योजना स्थगित गरिएको छ। ‘पाठक नै घटेपछि वाचनालय थप्नको औचित्य सकिएको छ।’
सामाजिक सञ्जालको विकाससँगै पुस्तक पढ्ने बानी हराउँदै गएको उनको अनुभव छ। उनी भन्छन्, ‘मानिस फुर्सद भयो कि सामाजिक सञ्जालमा व्यस्त भइहाल्छ। पुस्तक पढ्ने असाध्यै कम छन्’
पाँच वर्ष अघिसम्म पुस्तकालय दिनभर खुला रहन्थ्यो। अहिले दैनिक चार घण्टा मात्र खुला रहने उनी बताउँछन्।
उनी भन्छन्, ‘बिहान र दिउँसो दुई दुई घण्टा खुला हुन्छ।’ नयाँ पुस्तक आयो भने एकदुई जना पाठक पुग्छन्।
आदर्श र देवकोटा पुस्तकालयको पनि विराटनगरमा भिन्न अस्तित्व थियो कुनै बेला। ती पुस्तकालयमा त अचेल पाठक कहिलेकहीं मात्र पुग्ने गरेका छन्।
उत्तरी मोरङमा समुदाय स्तरबाट निर्माण गरिएको लेखनाथ पुस्तकालय छ। पुस्तकालयमा राजनीति, धर्म संस्कृति साहित्यलगायत विभिन्न विधाका चार हजार पुस्तक छन्। पाठक भने दैनिक १०–१५ जनामा पुग्छन्।
पुस्तकालयले फ्री वाईफाईको व्यवस्था पनि गरेको छ। इन्टरनेट निःशुल्क चलाउन पाइने भएपछि थोरै मात्र पाठक बढेको अध्यक्ष गोविन्द बस्नेतले बताए।
उनी भन्छन्, ‘प्रविधिका कारण मानिस भर्चुअल संसारतर्फ डाइभर्ट भएको छ। पुस्तक पढ्ने रुचि घट्न थालेको छ।’