आइतबार, असार २८, २०८३

अछाम दरबारमा आठ वर्षमा ६० इँटा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४


अछाम– जेठ ०६७ मा अछाम दरबारको पुनर्निर्माण क्रममा ४९ वटा इँटाको ‘चिनाई’ तयार भएको थियो । त्यसयता थपिएका छन्, ११ वटा इँटा । पुनर्निर्माणको प्रतिनिधित्व गर्छन्, तिनै ६० वटा इँटाले । 

तत्कालीन विद्रोही माओवादीले अछाम सदरमुकाम आक्रमण गर्ने क्रममा ४ फागुन ०५८ मा ऐतिहासिक दरबार पनि ध्वस्त बनाएका थिए । शान्ति प्रक्रिया शुरु भएपछि मंसिर ०६५ देखि पुनर्निर्माण शुरु भएको थियो । दुई वर्षमा सक्ने लक्ष्य १० वर्ष बित्दै गर्दा पनि अलपत्र छ । 

लामो समयदेखि पानी र घाम खेप्दै आएका दरबारका झ्याल ढोका विस्तारै सड्न थालेका छन् । ‘ऐतिहासिक सम्पदाप्रति यस्तो बेवास्ता दुःखद् हो,’ अछामी राजाका सन्तान वीरेन्द्रबहादुर शाह भन्छन् । 

पुनर्निर्माण शुरु भएको सात वर्षमा अछाममा आठ जना प्रमुख जिल्ला अधिकारी फेरिए । ती सबैको टाउको दुःखाइको विषय बन्दै आएको छ, दरबारको पुनर्निर्माण । 

‘सबै प्रजिअले बोलाएका सर्वदलीय÷पक्षीय बैठकमा दरबार पुनर्निर्माणको विषय उठान भएको पाइन्छ,’ प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य भन्छन्, ‘यो बेइज्जतीको विषय हो ।’

यसपटक जसरी पनि काम सक्न शहरी विकास तथा भवन निर्माण डिभिजनलाई आग्रह गरिएको उनी बताउँछन् । डिभिजनका इन्जिनियर झप्पर विकका अनुसार सहुलियतमा काठ उपलब्ध गराउन टिम्बर कर्पोरेसनलाई आग्रह गरिएको छ । ‘ठेकेदार कम्पनीले केही दिनमा काम शुरु गर्ने प्रतिबद्धता जनाएको छ । यसपटक कुनै हालतमा भाग्न पाउँदैन ।’

राजेन्द्र, साउद, तुल्छिदुर्गा, बडिमालिका र कुँवर गरी पाँच वटा निर्माण कम्पनीको जेभीमा दुई करोड २५ लाखमा ठेक्का स्वीकृत भएको थियो । ठेकेदारबीच विवादकै कारण पुनर्निर्माण अलपत्र परेको हो ।

शुरुमा मीनबहादुर कुँवरको नाममा अख्तियारी आए पनि काम गर्न नसक्दा अरू निर्माण कम्पनी केही रकम लिएर बाहिरिए । हाल निर्माणको जिम्मा राजेन्द्र र साउद कन्ट्रक्सनले लिएको छ । 

अन्य सरकारी कार्यालय पुनर्निमाणमा तोकिएको सीमा नाघेमा जिल्ला पुनर्निर्माण समितिले ठेकेदारलाई जरिवाना तिराउने गरेको छ । तर, राष्ट्रिय सम्पदा निर्माणमा बेवास्ता गर्दै आएका ठेकेदारलाई जरिवाना तिराइएको छैन । 

पुरानै संरचनाअनुसार निर्माण गर्नुपर्ने र त्यसका लागि आवश्यक सालको काठ सजिलै उपलव्ध नहुँदा काममा ढिला भइरहेको साउद कन्स्ट्रक्सनका सञ्चालक जयबहादुर साउद बताउँछन् । तर, बर्सेनि ठूलो परिमाणमा सालको काठ जिल्लाबाट निकासी हुने गरेको छ । त्यसैले, साउदको भनाइमा विश्वास गर्ने आधार देखिँदैन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०६९ सालमा दरबार पुनर्निर्माणसम्बन्धी सबै फाइल तानेर अनुसन्धान गरिरहेको छ ।

दरबारमा माओवादीको आक्रमणका बेला जिल्ला प्रशासन कार्यालय सञ्चालनमा थियो । आक्रमणमा तत्कालीन प्रमुख जिल्ला अधिकारी मोहनसिंह खत्री मारिए । पत्नीसहित राष्ट्रिय अनुसन्धानका निरीक्षकको पनि मृत्यु भयो । 

र, क्याप्टेनको कमान्डमा रहेको सेनाको गुल्मका ५३ सैनिकको मृत्यु भयो । यस्तै, ५९ प्रहरी, दुई निजामती कर्मचारी र आठ जना सर्वसाधारणको पनि मृत्यु भएको थियो । मंगलसेन आक्रमणमा सबै गरी एक सय २२ जनाको ज्यान गएको थियो । 

सोही रात माओवादीले साँफेबगरमा पनि आक्रमण गरेका थिए । त्यसमा परी विमानस्थल सुरक्षार्थ तैनाथ २७ जना प्रहरीको मृत्यु भएको थियो । 


माओवादीको आक्रमणभन्दा अघिको ऐतिहासिक अछाम दरबार । 

अछाम दरबार पुनर्निर्माणका क्रममा जेठ ०६८ को तस्बिर ।
वैशाख ०७५ को अछाम दरबारको तस्बिर ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।