काठमाडौं- अनलाइन पत्रकारिताको गुणस्तर तथा विश्वसनीयताको विकासमा नेपाल समयले अग्रिणी भूमिका खेल्ने विश्वास सहित राजनीतिक तथा अन्य क्षेत्रका विशिष्ट व्यक्तिहरुले शुभकामना दिएका छन् ।
प्रथम राष्ट्रपति डा. रामवरण यादवले नेपाल समयको उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । ‘गणतन्त्र दिवसलाई आफ्नो स्थापना दिवस बनाएको नेपाल समयले गणतन्त्रको संस्थागत विकास गर्दै अनलाइन पत्रकारिताको विश्वसनीयता र गुणस्तरको विकासमा नेतृत्वदायी भूमिका खेलोस्,’ पूर्वराष्ट्रपति डा. यादवले भने, ‘पछिल्लो समय विकास भएका अनलाइनहरूको भीडमा नेपाल समय पृथक र सबैको रोजाइको बनोस् ।’
पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले अबको समय विकास र समृद्धिको समय रहेकाले त्यसको पृष्ठभूमिमा टेकेर नेपाल समय अगाडि बढ्नुपर्ने बताए । ‘सही समयमा हुने सही निर्णयले समृद्धि हासिल हुन्छ । नयाँ मिडियाका रूपमा आएको नेपाल समय समृद्धिको समय बनोस्,’ उनले शुभकामना व्यक्त गरे ।
पूर्वप्रधानमन्त्री तथा नयाँशक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेपालको अवस्थितिलाई विश्वमा चिनाउन नेपाल समय सफल हुने शुभकामना दिएका छन् ।
‘नेपालको राजनीतिक गतिविधिलाई अग्रगामी दिशामा अगाडि बढाउन नेपाल समय एउटा छलफल चौतारी बनोस्,’ डा. भट्टराईले भने, ‘नेपाल समय अन्य अनलाइन पत्रिकाभन्दा फरक र नेपालीलाई सही सूचना दिने पत्रिका बनोस् भन्ने मेरो चाहना छ ।’
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले पत्रकार आचारसंहिताअनुसार सबैलाई समेट्न सक्ने सञ्चार माध्यम बनोस् भन्दै शुभकामना दिइन् । कार्कीले भनिन्, ‘नियम, कानुन मान्नुभयो भने समृद्धि हासिल हुन्छ । विधि विधानअनुसार चल्न सक्नुभयो भने मुलुकको उन्नति प्रगति हुन्छ । देशमा समृद्धि हासिल हुन्छ । कसैको प्रभाव र दबाबमा रहेर काम गर्ने अवस्था नआओस् ।’
नेपाल कम्युनिस्ट पार्टी–माओवादीका महासचिव मोहन वैद्यले नेपाल समयको नयाँ टिमलाई सफलताको शुभकामना दिँदै भने, ‘नेपालीको आन्दोलनबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको विकासका लागि यो अनलाइन अग्रणी बनोस् ।’
पूर्वउपप्रधानमन्त्री तथा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले नेपाल समयको सफलताको कामना गरे । यादवले भने, ‘नेपालमा धेरै अनलाइन आए । सबैले अर्काको कु–प्रचार मात्र गरे । नेपाल समय त्यस्तै नबनोस् । मेरो शुभेच्छा छ, यो अनलाइन पत्रिका तराई, पहाड, हिमालमा रहेका नेपालीको आवाज बनोस् । तपाईंको अनलाइन सबैले नाम लिन मिल्ने मिडिया बनोस् । प्रगतिको शुभकामना ।’
पूर्वउपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विस्तारै अनलाइनले सूचनालाई सर्वसाधारणको हातहातमा पुर्याउने समय आएको छ । यस्तो समयमा नेपाल समयले पृथक भएर सशक्त रुपमा काम गरोस भन्दै नयाँ टीमलाई सफलताको अथाह शुभकामना रहेको बताए ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले नेपाली अनलाइन मिडियाको समूहमा नेपाल समय अग्रपंक्तिमा आओस भन्ने सुभेच्छा प्रकट गरेका छन् । उनले फरक पहिचान र जिम्मेवार पत्रकारिताको भूमिका निर्वाह गर्न नेपाल समय सफल रहोस् भन्दै नेपालीको समृद्धिको चाहाना पूरा गर्न सशक्त सूचनाको माध्यम बन्न सकोस भन्दै शुभकामना दिएका छन् ।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाल समय अन्य मिडियाभन्दा फरक र औसतभन्दा माथिको मिडिया बनोस् भन्दै उत्तरोत्तर प्रगतिको कामना गरे । ‘संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा नेपाल समय अडिग भएर लागोस्,’ उनले भने, ‘आवाजविहीनहरूको आवाज बनेर नेपाल समयले दूरदराजमा रहेका नेपालीको समस्यालाई मूलधारमा ल्याउँदै समाधान गर्ने मियो बन्नेमा म आशावादी छु ।’
कांग्रेस नेता पूर्णबहादुर खड्काले नेपाल समय नेपालीले माया गर्ने अनलाइन पत्रिका बनोस् भन्दै शुभकामना दिए ।
नेपाल कम्युनिस्ट पार्टीका नेता तथा सांसद योगेश भट्टराईले नेपाल समय दीर्घकालीन समाचार माध्यम बनोस् भन्दै उनले नेपाली पाठकलाई निरन्तर समाचार प्रवाह गर्दै सत्य, तथ्य भएर आचारसंहितामा रही सबैको मन जित्न सफल रहोस भन्दै शुभकामना दिएका छन् ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले पनि नयाँ जोश जाँगरका साथ उदाएको नेपाल समयले युवा पुस्ताका मुद्दालाई विशेषस्था दिएर नेपालको राजनीतिक परिवर्तन र यसको संस्थागत विकासका लागि दृढ भएर लागोस भन्ने शुभकामना दिएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नेपाल समयको उत्तरोत्तर प्रगतिको कामना गर्दै जनतालाई सही सूचना दिएर सूचित गराउने काममा दृढ भएर लागोस भन्ने सुभेच्छा प्रकट गरेका छन् ।
कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल (बलदेव)ले सशक्त मिडियाको रुपमा नेपाल समय उदाओस् भन्दै सामाजिक विषयवस्तु र जनताका दैनिक जीवनसँग गाँसिएका विषयलाई प्राथमिकताकासाथ उठाउन नेपाल समय सफल होस भन्ने शुभकामना दिएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले समाज परिवर्तनको सम्बाहकका रुपमा नेपाल समयको उदय होस भन्ने अपेक्षा गरेका छन् । उनले नेपाल समयले सँधै शिक्षा र स्वास्थ्यजस्ता आम मानिसको जीवनसँग गाँसिएको विषयलाई प्राथमिकतामा राख्न सकोस भनेर शुभकामना दिएका छन् ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले नेपाल समय नयाँ जोशजाँगर भएका र पत्रकारितामा अनुभवी साथीहरु सहभागी भएको टोली पाएको भन्दै यसले सबै नेपालीको मनोभावनालाई बुझेर आवाजबिहीनको आवाज बनेर पछाडि परेका समूदायका लागि सूचनाको सम्बाहक बनोस् भन्ने शुभकामना दिएका छन् ।
साझा विवेकशील पार्टीका संयोजक रबिन्द्र मिश्रले अनलाइन पत्रकारिता संस्थागत विकासमा नेपाल समय अग्रणी देखियोस । पत्रकारिताका आधाभूत मूल्यमान्यतामा अडिग रहेर यो सञ्चार संस्थाले आफूलाई फरक दर्जाको देखाउन सक्षम बनोस भन्ने सुभेच्छा प्रकट गरेका छन् ।
आर्थिक मामिलाका जानकार रामेश्वर खनालले नेपाल समय अरुभन्दा फरक मिडियाको रुपमा स्थापित होस भन्ने शुभकामना दिए । उनले नेपालको आर्थिक र राजनीतिक परिवर्तन संगैँ जनताको दैनिकीसँग पनि गाँसिएका विषयलाई नेपाल समयले सशक्त रुपमा उठाउन नेपाल समय सक्षम बनोस भन्ने सुभेच्छा व्यक्त गरेका छन् ।
शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाल समयलाई शुभकामना दिँदै अहिले अनलाइन पत्रिका खुल्ने क्रम तीब्र हुँदा विकृति पनि बढेको बताए । उनले अनलाइन पत्रकारिताका समस्यालाई बुझेर बजारमा आउन लागेको नेपाल समयले भाषाको संरक्षण गर्न, आवाजबिहीनको आवाज बनेर नेपाली कला संस्कृतिको जगेर्ना गर्न सशक्त माध्यम बनोस् भनेर शुभकामना दिए ।
हास्य कलाकार हरिवंश आचार्यले नेपालीको मनमनमा बस्न सक्ने नेपाल समय साँच्चिनै सँधै अगाडि रहोस भन्दै यो अनलाइन पत्रिकाले नेपालीलाई सूचना र मनोरञ्जन प्रदान गर्दै कसैको प्रभावमा नपरी सत्य समाचार दिन सकोस । बर्षौवर्षसम्म शुभकामना दिनपाउँ । धेरै धेरै उन्नतीको कामना ।
प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले सूचना–प्रविधिको अभूतपूर्व विकाससँगै नयाँ मिडियाको रूपमा उदाएको अनलाइन पत्रकारितामा नेपाल समय आउन लागेको बताउँदै सम्पादकीय तथा व्यवस्थापकीय टिमलाई बधाई तथा शुभकामना दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४