आइतबार, असार २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धनकुटाका सिटी पार्क : फूल रोप्छ नगरपालिका, पानी हाल्छन् नागरिक

धनकुटाका सिटी पार्क : फूल रोप्छ नगरपालिका, पानी हाल्छन् नागरिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इटहरी-६० हजार जनसंख्या, १० वडा र वार्षिक आम्दानी करिब दुई करोड । पहाडी जिल्ला धनकुटा सदरमुकामस्थित नगरपालिकाको आँकडा हो यो । जनप्रतिनिधिहरूले नगरलाई हराभरा बनाउन पार्क निर्माणलाई प्राथमिकता दिएका छन् ।

अधिकांश शहरी इलाकामा खुला ठाउँ र पार्कहरूको अभाव छ । पहाडी क्षेत्रमा यो समस्या अझ चर्को छ । पहाडी जिल्ला धनकुटा नगरपालिकाका जनप्रतिनिधिले भने खुला ठाउँ जोगाउने उपाय निकालेका छन् । 

धनकुटा–७ का वडाध्यक्ष जंगबहादुर राई त्यसको कारण प्रष्ट्याउँछन्, ‘धनकुटामा आवागमन राम्रो छ । साँझ होटेलमा बस्नेहरू र स्थानीय बासिन्दाका लागि पनि खुला र हरियालीयुक्त स्थानहरू आवश्यक छन् ।’

राईको वडा साँघुरो बजार क्षेत्रमा पर्छ, जहाँ खुला ठाउँ भेट्नै मुस्किल छ । उनले भने भेटेजति स्थानमा पार्क निर्माण गर्ने गरेका छन् । 

हुलाक टोलको एउटा खाली स्थानमा उभिएको थियो, चुवाको पुरानो बोट । आसपासमा थियो, खाली क्षेत्र । पार्क बन्नुअघि हार्डवेयर पसलेहरूले रड र सिमेन्ट थुपार्थे । अहिले सुन्दर पार्क तयार भएको छ । 


पार्कको एउटा भित्तोमा साहित्यकार झमक घिमिरेको स्केच र उनको पुस्तक ‘जीवन काँडा कि फूल’ कोरिएको छ । त्यसभन्दा मुनि गमलामा आकर्षक फूलहरू राखिएका छन् । सानो क्षेत्र भए पनि २० जनासम्म अटाउने फलैंचा बनाइएको छ । 

फलैंचा अघिल्तिर मूर्तिकलाको आकर्षक नमूना सजाइएको छ । चुवाको रुख वरिपरि ‘एक्वारियम’ बनाइएको छ । रुखमै बत्तिहरू जडान गरिएको छ, जसले साँझपख पार्क इलाका अझै आकर्षक देखिन्छ । 

वडाध्यक्ष राईका अनुसार नगरपालिकाबाट १५ लाख र स्थानीय बासिन्दाको डेढ लाख रुपैयाँ बराबरको जनश्रम जुटाएर उद्यान निर्माण गरिएको हो ।

धनकुटा-६ मा तीन वटा पार्क निर्माणाधीन छन् । ‘ल्यान्डफिल्ड साइट’ रहेको इलाकामा पार्क बनिसकेको छ । सोही वडाको खानेपानी कार्यालयनजिक पनि पार्क तयार भएको छ । 

रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्रनजिकको पार्क नगरकै पुरानोमध्येको हो । विभिन्न कलाकृति, चौतारो र फूलहरूले त्यसलाई आकर्षक बनाएका छन् । 

सोही वडाको शिव मन्दिर अगाडि बीच बजारमा अर्को नयाँ उद्यानको निर्माण धमाधम छ, जसको नाम राखिएको छ शिव पार्क । उक्त उद्यानमा सानो पुल र पोखरी पनि छन् । 

नगरका सबै वडाका बजार र एकीकृत बस्ती आसपास यस्ता धेरै उद्यान निर्माणाधीन छन् । नगरप्रमुख चिन्तन तामाङ भन्छन्, ‘हरेक सार्वजनिक स्थानमा पार्क बनाउँदैछौं ।’

हरित र पर्यटकीय शहरका रूपमा धनकुटाको परिचय थपिने क्रममा रहेको नगरपालिकाका पर्यटन शाखा प्रमुख विकास अधिकारी बताउँछन् । 

उनका अनुसार उद्यानहरूको रेखदेखमा स्थानीय बासिन्दाले उत्साहजनक सहभागिता देखाएका छन् । ‘फूल रोप्ने नगरपालिका र पानी हाल्ने नागरिक,’ अधिकारी भन्छन्, ‘यही केमेस्ट्रीका कारण परियोजनाले सफलता पाउने देखिएको छ ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।