काठाडौं- नेपाल रिङ रेस्लिङ संघले पोखरामा चैत्र २० र २१ रेस्लिङ प्रतियोगिता आयोजना गर्ने भएको छ। पोखरा रंगशालामा आयोजना गर्ने दोस्रो संस्करणको प्रतियोगितामा नेपालका उत्कृष्ट रेस्लरको भिडन्त हुने संघले बताएको छ।
पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्डहलमा हुने प्रतियोगितामा नुवाकोटे टाइगर, थागु, द यूव, डेभिड, साइनलगायतले प्रतिस्पर्धा गर्नेछन्। महिला तथा पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने रेस्लिङमा टुप्पी ग्याङ, एक्स हिरो, सोफी, दिलाशा, चट्टान, लेडी एञ्जल, किङ रोवर्ट, तन्नु, सिजे, यूविएल, एससी, हुम्ली फाइटर, योगी, जोनको पनि सहभागिता रहनेछ।
रेस्लिङमा २२ वर्षदेखि ३८ वर्षसम्मका खेलाडीले भाग लिने संघकी महासचिव सुवर्ण श्रेष्ठले बताइन्। उनले भनिन्, ‘कोभिडका कारण अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता गराउन सकिएन। रेस्लिङ हेर्नका लागि प्रवेश शूल्क १०० र २०० तोकिएको छ।’
महासचिव श्रेष्ठले नेपालमा रिङ रेस्लिङको विकास र विस्तारका लागि खेलाडी उत्पादनसाथै निरन्तर तालिमको व्यवस्था गर्न एकेडेमीको स्थापना गरिएको बताइन्।
गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेज गुरुङले पोखरालाई खेलकुदको राजधानी भनिरहेकै अवस्थामा फुटबल, क्रिकेट र भलिबलबाहेकका प्रतियोगिताले थप ईट्टा थप्ने काम गरेको बताए।
प्रतियोगितामा प्रथम हुने खेलाडीले नगद एक लाखसहित च्याम्पियन बेल्ट र दोश्रो हुनेले नगद ५० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगितामा करिब २९ लाख खर्च हुने आयोजकको दाबी छ। दर्शकलाई थप मनोरञ्जन दिन हास्य कलाकार सन्दीप क्षेत्रीको विशेष प्रस्तुति रहने आयोजकले बताएको छ।