न्यापिटअ – म्यान्मारमा सेनाले गत फेब्रुअरी १ मा सत्ता लिएपछि त्यसको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सेनाले चलाएको गोली लागेर कम्तीमा १३८ जनाको मृत्यु भएको छ।
संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टिफेन डुजारिकले गरेको नियमित पत्रकार सम्मेलनमा सेनाको गोली लागेर आइतबार एकै दिन ३८ जनाको मृत्यु भएको जानकारी दिए।
उनले यी हत्याकाण्ड यांगुनकाे हाइलाङ थायेर क्षेत्रमा भएको बताए। म्यान्मारमा शनिबार पनि १८ जनाको ज्यान गएको थियो।
उनले भने, ‘शान्तिपूर्ण प्रदर्शनमा सहभागीमाथि भएको यस किसिमको हिंसात्मक कारबाही कुनै पनि हालतमा स्वीकार्य छैन। म्यान्मारका जनताको आधारभूत अधिकार निरन्तर उल्लंघन भइरहेकामा राष्ट्रसंघ निन्दा गर्दछ।’
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले क्षेत्रीय एवं अन्तर्राष्ट्रिय समुदायलाई म्यान्मारका जनताको पक्षमा ऐक्यबद्धता जनाउन पनि आग्रह गरेका छन्।
यसैबीच, म्यान्मारको सेनाले ठूलो संख्यामा प्रदर्शनकारी मारिएपछि यांगुनका विभिन्न क्षेत्रमा सैनिक कानुन लगाएको छ। निक्की एसियाका अनुसार यस क्षेत्रमा प्रदर्शनकारीले चिनियाँको स्वामित्वमा रहेका धेरैवटा कारखानामा आगजनी गरिदिएका थिए।
सेनाले गत फेब्रुअरीमा सत्ता आफ्नो हातमा लिएपछि सेनाविरुद्ध दिनहुँ प्रदर्शन भइरहेका छन्। सेनाले आङ सान सुकीको निर्वाचित सरकारलाई अपदस्थ गर्नुका साथै संसद्को नयाँ निर्वाचनलाई पनि खारेज गरिदिएको छ।
जापान भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले म्यान्मारमा सेनाले गरेको ज्यादती भयानक रहेको र त्यो कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन्। रासस