शुक्रबार, फागुन २९, २०८२

गुम्दै छ अँधेरी रात, बेलैमा सचेत होऔं

गाउँसहर झिलिमिली बनाउने ध्याउन्नमा लाग्दा कतै हामी अँधेरी रातको रोमाञ्च गुमाउँदै त छैनौं ?
 |  शनिबार, चैत ७, २०७७

केशव राना

केशव राना

शनिबार, चैत ७, २०७७

गाउँसहर झिलिमिली बनाउने ध्याउन्नमा लाग्दा कतै हामी अँधेरी रातको रोमाञ्च गुमाउँदै त छैनौं ?

National life

काठमाडौं - तपाईं सहरमा बस्नुहुन्छ ? उसो भए तारा चम्किरहेको आकाश पछिल्लो पटक कहिले देख्नुभएको थियो ? आकाशगंगाको सौन्दर्य हेरेर रोमाञ्चित हुने अवसर पाउनुभएको छ ? आकाशबाट उल्का खस्दै गर्दा मनोकामना पूर्ण हुने ‘विश्वास’ बारे तपाईंलाई थाहा छ ? रातमा ताराको स्थिति हेरेर समयको गणना गर्ने तरिका थाहा छ ?

गर्मीको मौसम, राति खटियामा बसेर तारा र अन्य ग्रह हेर्दै हजुरआमाबाट परिकथा सुन्न पाउने पुस्ता अब कम हुँदै छ। ग्रह, तारा र नक्षत्रसँग जोडिएका अनेकौं वास्तविकता, कल्पना, मिथक र कथा अत्यधिक प्रकाशका कारण हामीबाट खोसिँदै छन्। 

त्यसैले रातको अँध्यारो हामीबाट खोसिँदै छ। अत्यधिक कृत्रिम प्रकाशका कारण रात साँच्चिकै पराइ हुन थालेको छ अब।

अँधेरी रातमा झ्याउँकिरीको आवाज र ताराबाट आएको मधुरो प्रकाशमा बाटो ठम्याउँदै हिँड्दाको रमाइलो अनुभव गर्नु अब किंवदन्ती बन्दै छ।

Laxmi sunrise bank
kumari

खगोलीय घटनामा रुचि राख्नेका लागि अँध्यारा ठाउँ कम हुँदै छन्, जहाँबाट रातिको आकाश विना रोकतोक देख्न सकियोस्।

रसुवास्थित लाङटाङ उपत्यकाबाट देखिएकाे आकाश, जहाँ ताराहरू चम्किरहेका छन्। 

सन् १९९४ मा अमेरिकाको लस एन्जलसमा भूकम्प गएपछि बत्ती निभ्यो। घरबाहिर निस्केका अमेरिकीले अँध्यारो आकाशमा चम्किला तारा र मडारिएकाे बादल देखेर आत्तिए। त्यसअघि अत्यधिक प्रकाशका कारण उनीहरूले तारा देख्न पाएका थिएनन्। पछि हाम्रा सहरमा पनि त्यस्तै अवस्था नआउला भन्न सकिँदैन।

बिजुली उत्पादन बढ्दै जाँदा काठमाडौं जस्ता सहर अब २४ सै घण्टा झिलिमिली हुन थालेका छन्। सडक र कोठामा उज्याला बत्ती जोडिएका छन्। यसले पर्यावरणमा मात्र होइन संस्कृति र जैविक स्वास्थ्यमा समेत नकारात्मक असर गरिरहेको छ।

साइन्स एडभान्स् जर्नलमा प्रकाशित एक अध्ययन प्रतिवेदनअनुसार विश्व तातो मात्र हुँदै छैन, अधिक प्रकाशमय पनि हुँदै छ। अमेरिकामा बढेको प्रकाश प्रदूषणका कारण त्यहाँ हुर्किरहेका बालबालिकाले सम्भवतः आकाशगंगा कहिल्यै देख्न पाउने छैनन्। पश्चिमी युरोपको अवस्था पनि फरक छैन।

कृत्रिम उज्यालोले बाँकी विश्वबाट पनि अँध्यारो खोस्दै छ। विकासशील देशहरूमा प्रकाशको वृद्धि तीव्र हुँदै छ। नेपाल अब विकासशील देशको सूचीमा उक्लँदै छ।

विभिन्न अध्ययनअनुसार प्रकाश प्रदूषण जीडीपीसँगै बढ्दै जान्छ। 

हुन त हाम्रो जस्तो देशका लागि बिजुली पुग्नु नै ठूलो कुरा हो। अझै पनि दूरदराजका वस्तीमा बिजुली पुग्न सकेको छैन। बिजुली पुगेका क्षेत्रका मानिसले भने आकाशमा चम्किला तारा हेर्न पाउने अवसर गुमाउँदै छन्। 

पाेखराकाे अष्ट्रेलियन क्याम्पबाट ताराहरूकाे तस्बिर लिँदै फाेटाेग्राफरहरू। 

प्रकाश प्रदूषण र यसको असर 

अधिकांश मानिसको दिमागमा प्रदूषण भन्नेबित्तिकै वायु, जल, जमिन, ध्वनिको चित्र आउँछ। तर, प्रकाश प्रदूषणबारे धेरैलाई जानकारी छैन। 

इन्टरनेसनल डार्क स्काई एसोसिएसनका अनुसार अनावश्यक वा अत्यधिक कृत्रिम प्रकाशको उपयोग नै प्रकाश प्रदूषण हो। यसले मानिस, वन्यजन्तु र जलवायुमा पनि गम्भीर असर पुर्‍याउँछ। 

रातिमा कृत्रिम प्रकाशका कारण मानिसको सर्केडियन क्लक (शरीरको आन्तरिक लय) मा अवरोध आउँछ। यसबाट एकै ठाउँमा घन्टौं काम गर्ने व्यक्तिमा क्यान्सर, हृदयरोग, मधुमेह, मोटोपन र ग्यास्ट्रोइन्टेस्टाइन विकास जस्ता रोगको खतरा हुन्छ। 

लाखौं आप्रवासी पक्षी बिजुलीको उज्यालोले समस्याग्रस्त हुन्छन्। चन्द्रमाको उज्यालोमा रमाउने कछुवा र झ्याउँकिरीको जीवन कृत्रिम प्रकाशले अस्तव्यस्त बनाइदिन्छ। 

डेंगु फैलाउने एडिज एजिप्टी लामखुट्टेले दिउँसोको समयमा मानिसलाई टोक्छ। अमेरिकाको युनिभर्सिटी अफ नोट्रेडेमको पछिल्लो अध्ययनअनुसार अत्यधिक प्रकाशका कारण यो लामखुट्टे रातमा पनि सक्रिय हुन थालेको छ। 

पारिस्थितिकीयविद् हरिभद्र आचार्य पनि कृत्रिम प्रकाशका कारण वातावरण तथा वन्यजन्तुमा असर पर्न सक्ने बताउँछन्। 

‘कृत्रिम प्रकाशले पक्कै पनि असर त गर्छ नै,’ उनी भन्छन्, ‘नेपालमा यसबारे अध्ययन भएको छैन तर, गर्ने बेला भइसकेको छ।’

जर्मनीमा गरिएको एक अध्ययनअनुसार गर्मीका रातमा मात्रै निस्कने १०० अर्ब कीरा कृत्रिम प्रकाशका कारण मारिन्छन्। यी किराको मृत्युले पारिस्थितिकीय प्रणालीमा ठूलो असर पुर्‍याउँछ। रातिमा ‘स्ट्रिट लाइट’ को उज्यालो खेप्न विवश बिरुवामा फल र फूल निकै कम लाग्छ। 

साथै कृत्रिम उपकरणबाट उत्पन्न अत्यधिक प्रकाशका कारण मानिसको आँखामा समस्या आउन सक्छ। प्रकाश प्रदूषणका कारण निद्रा नलाग्ने, मोटोपन, डिप्रेसन आदिको समस्या आउँछ। अधिक कार्बन उत्सर्जनको कारक पनि हो, प्रकाश प्रदूषण।

हामीलाई लाग्छ, सहर उज्यालो छैन भने हामी असुरक्षित छौं। तर, यूएस नेसनल इन्स्टिच्युट अफ जस्टिसले सन् १९९७ मा गरेको अध्ययनअनुसार अपराध र अँध्यारोबीच कुनै सम्बन्ध छैन। 

प्रकृतिको चक्रसँग तादात्म्य राख्दै हजारौँ वर्ष लगाएर मानव शरीरमा विकसित निद्रा, प्रजनन, पाचन क्रिया, प्रवास र भोजनसम्बन्धी तारतम्य अत्यधिक प्रकाशले खलबल्याउँदै छ। 

पाेखराकाे अष्ट्रेलियन क्याम्पबाट देखिएकाे पाेखरा उपत्यकासँगै आकाशगंगा।

दिन र रातको फरक मेटिँदै

रातको समयमा कृत्रिम बत्तीले झिलिमिली सहर हेर्न जति मज्जा आउँछ, त्योभन्दा बढी पर्यावरणमा असर पर्छ। अहिले कृत्रिम प्रकाशले दिन र रातको रेखा मेटिँदै गएको छ। 

पहिले घरघरमा मात्रै हुने बिजुलीको प्रयोग अहिले सडक, पार्क, सार्वजनिक स्थान जताततै हुन थालेको छ। साँझ बालिएका बत्ती बिहान नहुँदासम्म बलेकै हुन्छन्। 

जर्मन वैज्ञानिक क्रिस्टोफर किबाले नेसनल जियोग्राफिकसँग भनेका छन्, ‘कृत्रिम प्रकाशले जैविक क्षेत्रमा सबैभन्दा बढी क्षति पुर्‍याउँछ। प्रकृतिले हामीलाई दिन र रातको संकेत दिइरहेको हुन्छ।’

जुन क्षेत्रमा प्रकाश प्रदूषण धेरै हुन्छ, त्यहाँ यसको संकेत एकदमै कम हुने उनी बताउँछन्।

अँध्यारो आकाशको महत्त्व

सहरी क्षेत्रमा बढ्दो प्रकाश प्रदूषणले रात रात जस्तो छैन। मानिसले अँध्यारोको पनि आफ्नै महत्त्व छ भन्ने बुझ्न सकेका छैनन्।

साँच्चै भन्ने हो भने अँध्यारो प्राकृतिक उपहार हो। जसरी दिनको महत्त्व छ, उसैगरी रातको पनि। 

पत्रकार कनकमणि दीक्षित अँध्यारो आकाश प्राकृतिक उत्पत्तिसँग मात्र नभई मानव संस्कृतिसँग पनि गाँसिएको बताउँछन्। 

उनले हिमालमा प्रकाशित एक लेखमा प्रकाश प्रदूषण नभएको अर्थात् उज्यालोले नबिथोलिएको रातको आकाशलाई पनि हाम्रो पुरातात्त्विक सम्पदा मान्नुपर्ने जिकिर गरेका छन्। 

दीक्षितले भनेजस्तै नेपालमा पनि प्रकाश प्रदूषणले रातलाई बिथोल्न थालेको छ। त्यसैले प्रकाश प्रदूषणलाई न्यूनीकरण गर्ने तयारी अहिल्यैदेखि थाल्नुपर्छ।

नेपालमा प्रकाश प्रदूषणको समस्या धेरै ठूलो भइसकेको छैन। तर, निकट भविष्यमा यो अवश्यम्भावी छ। किनभने काठमाडौं, पोखरालगायतका सहरमा प्रकाश प्रदूषणका संकेत देखिन थालेका छन्। 

वातावरण विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशी अहिले देशमा प्रकाश प्रदूषणको समस्या खासै ठूलो नभएको दाबी गर्छन्। 

उनका अनुसार विभागमा प्रकाश प्रदूषण न्युनीकरणबारे कुनै योजना छैन। कुनै निश्चित क्षेत्रमा भने प्रकाश प्रदूषणले समस्या ल्याइसकेको उनको बुझाइ छ। 

‘यससम्बन्धी अध्ययन भयो भने त्यसअनुसार बजेटिङ गर्ने, योजना बनाउनेलगायतका काम गर्न सकिन्छ,’ उनी भन्छन्। 

पाटनस्थित झिलिमिली घरहरू।

जोगाइराखौं ‘अँध्यारो रात’

नेपालका अधिकांश क्षेत्र आज पनि प्रकाश प्रदूषणमुक्त छन्।

नेपालमा बिजुली उत्पादन बढ्दो छ। त्यसपछि नेपालका गाउँगाउँमा बिजुली प्रशस्तै हुनेछ। सँगै प्रकाश प्रदूषण पनि बढ्ने पक्का छ। 

पत्रकार दीक्षितले लेखमार्फत् दुईवटा महत्त्वपूर्ण सुझाव दिएका छन्। 

त्यो हो- प्रकाश प्रदूषण न्यूनीकरण गर्न अगाडि बढ्ने र विभिन्न ठाउँमा ‘अँध्यारो आकाश आरक्ष’ को स्थापना गर्ने। 

नेपालमा पर्यटकलाई आकर्षित गर्न वन्यजन्तु आरक्ष, राष्ट्रिय निकुञ्जजस्तै अँध्यारो आकाश आरक्ष (डार्क स्काई पार्क) बनाउनुपर्छ। 

नेपालका लागि यो अनौठो भए पनि विभिन्न देशमा भने यसको अभ्यास भइसकेको छ। 

हालसम्म १३० वटाभन्दा बढी अँध्यारो आकाश आरक्षले मान्यता पाएका छन्। 

नेपालमा यो झनै आकर्षक हुने पक्का छ। किनकि यहाँ तारा मात्र होइन, हिमाली चुचुरा र पहाडी शृंखलालाई पनि जुनको उज्यालोमा हेर्न सकिन्छ।

दीक्षितले आफ्नो लेखमा भनेका छन्, ‘गाउँवस्तीबाटै अँध्यारो आकाश महसुस गर्न पाइने अवस्थालाई बिजुली बत्ती पुग्दा पनि यथावत् राख्न सकिन्छ, प्रकाश प्रदूषण न्यून गरेर।’

प्रकाश प्रदूषण न्यूनीकरण कसरी गर्ने ?

अहिले सहरमा रातको समयमा सडकमा ठूलाठूला बत्ती बालिएका हुन्छन्। सुरक्षा र व्यापारिक प्रयोजनका लागि ‘आउटडोर लाइट’को आवश्यकता पर्छ नै।  

अन्तर्राष्ट्रिय अँध्यारो आकाश संघले पनि यसलाई नकार्न सकेको छैन। तर, संघले आफूलाई आवश्यक प्रकाशको प्रयोग सावधानीपूर्वक हुनुपर्छ भनेको छ। त्यस्तै बत्ती पनि अँध्यारो आकाशमैत्री हुनुपर्छ भनेको छ। 

उसले प्रकाश प्रदूषणलाई नियन्त्रण गर्ने केही उपाय सुझाएको छ।

- अनावश्यक रूपमा बत्ती नबालौं। 

- आवश्यकता क्षेत्रमा मात्रै कृत्रिम प्रकाशको प्रयोग गरौं।

- बढी चम्किलो, उज्यालो दिने बत्ती प्रयोग नगरौं।

- नीलो प्रकाशको उत्सर्जन सकेसम्म कम गरौं।

- बत्तीलाई ढाक्ने प्रविधि प्रयोग गरौं। 

प्रकाशित: Mar 20, 2021| 00:08 शनिबार, चैत ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।