काठमाडौं– पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग हार बेहोर्दै स्पेनिस क्लब बार्सिलोना च्यम्पियन्स लिगबाट बाहिरिएको छ।
पीएसजीको मैदानमा बुधबार राति सम्पन्न खेलमा बार्सिलोना घरेलु टिमसँग १–१ गोल अन्तरले रोकिएपछि उसको क्वार्टरफाइनल यात्रामा विराम लागेको हो।
खेलको २९ औं मिनेटमा पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै एम्बाप्पेले गोल गरेर घरेलु टिमलाई अग्रता दिलाएका थिए। तर त्यसको सात मिनेटमै बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले गोल गरेपछि खेल बराबरी भयो।
पहिलो हाफको अन्तिम मिनेटमा पाएको पेनाल्टीको भने मेस्सीले उपयोग गर्न सकेनन्। यसकारण पहिलो हाफको खेल १–१ गोलमा सकियो।
दोस्रो हाफमा कुनै स्कोर नबन्दा पहिलो लेगको नतिजाको आधारमा पीएसजीले अन्तिम १६ मा जित निकाल्दै लगातार दोस्रोपटक क्वार्टरफाइनल पुग्यो।
बार्सिलोनाको मैदानमा भएको पहिलो लेगको खेलमा पीएसजीले ४–१ गोलको जित निकालेको थियो। र, गएराति १–१ गोल भएपछि पीएसजीले समग्रमा ५–१ को अन्तरले खेल जित्दै अर्को चरणमा पुग्यो।
यता लगातार १४ पटक अन्तिम आठमा पुगेको बार्सिलोनाको यात्रा भने सकिएको छ। सन् २००४–०५ यता पहिलोपटक रोनाल्डो र मेस्सी दुवै खेलाडी च्याम्पियनस लिगको क्वार्टरफाइनलमा पुग्न असमर्थ बनेका छन्। गतवर्ष पनि उनीहरुले सेमिफाइनलको यात्रा तय गर्न सकेका थिएनन्।
यता क्रिस्टियानो रोनाल्डोको टिम युभेन्टस पोर्चुगिज टिम पोर्टोसँग पराजित भएको थियो।