सोमबार, भदौ २२, २०८३

मूलपानी क्रिकेट मैदान : पिच कि खेत ?

राम्राे स्काेर गर्न नसकेपछि क्रिकेटरहरू मूलपानीको मैदान र पिचदेखि असन्तुष्ट छन्। 
 |  बुधबार, फागुन २६, २०७७

विनय सापकोटा

विनय सापकोटा

बुधबार, फागुन २६, २०७७

राम्राे स्काेर गर्न नसकेपछि क्रिकेटरहरू मूलपानीको मैदान र पिचदेखि असन्तुष्ट छन्।

काठमाडौं - काठमाडौं मेयर्स कपअन्तर्गतका खेलमध्ये चार खेल मूलपानीको माथिल्लो मैदानमा र बाँकी कीर्तिपुरस्थित त्रिवि मैदानमा राखियो। तर, मूलपानीको मैदान भने खेल्नलायक छैन। 

यति हुँदाहुँदै पनि भएको भौतिक पूर्वाधारको उपयोग गर्नुपर्छ भन्दै मूलपानीमा पनि खेल राखियो। 

एकैदिन दुईतिर प्रतियोगिता किन ? भन्ने प्रश्नमा प्रतियोगिता सुरु हुनुअघि क्यानका महाप्रबन्धक रौनक मल्लले भनेका थिए, ‘हामीसँग भएका अधिकांश भौतिक पूर्वाधारको प्रयोग गरौँ भनेर मूलपानीको मैदान प्रयोग गरेका हौं।’ 

क्यान व्यवस्थापक विनोद दासले पनि भएका स्रोतसाधनलाई प्रयोगमा ल्याउँ भनेर मूलपानी मैदानमा पनि खेल राखिएको बताउँछन्। 

‘दुई मैदानमा खेल गराउनुमा तीन कुराले भूमिका खेल्छ,’ उनले भने, ‘एक लजिस्टिकलको पाटो, दोस्रो बजेट व्यवस्थापन र तेस्रो जति पनि स्रोतहरू छन् ती सबैलाई प्रयोगमा ल्याउँ भन्ने हो।’

तर, जारी मेयर कपमा मूलपानीको मैदान र पिचदेखि भने क्रिकेटर असन्तुष्ट छन्। 

त्रिभुवन आर्मी क्लबका कप्तान बिनोद भण्डारीले पिच खेल्नलायक नै नभएको बताए। ‘यस्तोलाई पिच नै भनिँदैन,’ उनले भने, ‘क्यानले खेतमा प्रतियोगिता गराइरहेको छ।’

मूलपानीको पीच सधैँ यस्तै रहने भन्दै भण्डारीले भने, ‘जसलाई जति भने पनि पीच उस्तै हुन्छ। अब क्युरेटरलाई दोष दिने हो कि कसलाई ?’

प्रतियोगितामा पाँच मात्र टिम भएको र एकै टिमले दुई दिन खेलेपछि कम्तीमा एक दिन आराम दिनुपर्ने हुन्छ। 

त्यो समयमा पिच मर्मत गर्नुपर्ने भए पनि त्यसो नभएको भण्डारीको भनाइ छ। ‘यस्तो पीचमा खेलाएर क्रिकेटको विकास कसरी होला भन्नेबारे धेरै चिन्तित छु,’ उनी भन्छन्।

प्रतियोगिताअन्तर्गत पहिलो दिन मूलपानीमा नेपाल पुलिस र बागमतीले खेलेका थिए। उक्त खेलमा राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्कासहितको टिमले ७२ रनको लक्ष्य भेट्न सकेको थिएन। 

खेलको अघिल्लो दिन पानी परेपछि भोलिपल्टको पीच बिग्रिएकाले खेल ३८ ओभरमा घटाइएको थियो।

तर, त्यसको अर्को दिन पीच केही राम्रो भएपछि काठमाडौं मेयर-११ को टिमले सम्झनलायक रन बनाएको थियो। तर, मैदानको ड्रेनेज सिस्टम राम्रो नभएपछि त्यहाँ हालिएको पानी राम्ररी बग्न नपाउने क्रिकेटका जानकारहरू बताउँछन्।

मूलपानी मैदानमा तीनवटा पीच छन्। तर, तीनवटै पीचको अवस्था राष्ट्रियस्तरको प्रतिस्पर्धा गर्ने किसिमको भने छैन। अझ पानी परेर ओसिएपछि त्यहाँको पीच खेल्नलायक रहँदैन।

नेपाल पुलिस क्लबका कप्तान मनजित श्रेष्ठ पनि मूलपानीको मैदान सहज नभएको बताउँछन्।

‘पीच स्लो र टर्न छ, यसले अप्ठ्यारो हुन्छ,’ उनी भन्छन्, ‘पीच कस्तो छ भन्ने त स्कोर हेरेरै थाहा हुन्छ। त्यही खेल त्रिविमा २०० सम्म पुग्छ।’

मंगलबारको खेलमा पनि आर्मीले पुलिसलाई जम्मा ८८ रनको लक्ष्य दिएको थियो। 

त्रिभुवन आर्मी क्लबले सुरुआती दुई खेल त्रिवि मैदानमा खेलेको थियो।  

पहिलो खेलमा उसले बलियो टिम एपीएफविरुद्ध २३५ रन बनाएर पनि हार बेहोरेको थियो।

त्यस्तै दोस्रो खेलमा पनि उसले २३ ओभर पाँच बलमा १५६ रनको लक्ष्य पाँच विकेट गुमाएर पूरा गरेको थियो।

तर, मुलपानीमा भएको तेस्रो खेलमा भने उसले ३० ओभर एक बलमा सबै विकेट गुमाउँदै ८७ रनमा समेटियो।

यो खेलपछि आर्मीका कप्तान भण्डारी भन्छन्, ‘मलाई लाग्दैन कि खेलाडीले राम्रो खेलेनन्, त्यसैले एउटा प्रश्न जन्मिएको छ खेलका लागि क्रिकेट कि क्रिकेटका लागि खेल ?’

क्रिकेटको विकासका लागि खेल गराइएको हो भने पिच राम्रो हुनुपर्ने उनको भनाइ छ। उपलब्ध तीनवटा पिचमध्ये राम्रोलाई मर्मत गर्नुपर्ने उनको सुझाव छ। 

बागमती प्रदेशका कप्तान ज्ञानेन्द्र मल्ल पनि मूलपानीको पीचसँग सन्तुष्ट भने छैनन्। 

उनका अनुसार पीच अझै राम्रो बनाउन सक्ने धेरै ठाउँहरू छन्। 

‘पीच जस्तो हिसाबले बन्नुपर्ने हो त्यस्तो बनेको छैन। राष्ट्रिय गेम खेलाउने मामलामा त्यो पीचलाई राम्रो गर्न सकिन्थ्यो,’ राष्ट्रिय क्रिकेट टिमका कप्तानसमेत रहेका उनले सुझाव दिँदै भने, ‘क्यानलाई सुझाव पीच राम्रो बनाऊ भन्ने नै हो।’ 

तर, मूलपानीका क्युरेटर अजयवीर पाण्डे पिचको मात्रै गल्ती मान्न तयार छैनन्। ‘हिजो (मंगलबार) को केसमा कतिपय खेलाडी आफैंले पनि खराब सट खेलेका कारण आउट भएका छन्’ उनले भने, ‘हामीले पीच राम्रो बनाउन नै चाहने हो नि। पीचको आलोचना गर्नेले हामीले काम गरेको कहिल्यै आएर हेरेका छन् ?’

उनले आफू र आफ्नो टिमले भ्याएसम्म पिचलाई राम्रो बनाउने बताए।

प्रकाशित: Mar 10, 2021| 05:00 बुधबार, फागुन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।