काठमाडौं– प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेटको विजेता त्रिभुवन आर्मी क्लबले युवा स्टारले भरिएको टिम काठमाडौं मेयर–११ लाई पाँच विकेटले हराएको छ।
त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भर्खरै सम्पन्न खेलमा टस हारेर ब्याटिङ गरेको काठमाडौंले ४२ ओभर एक बल खेल्दै सम्पूर्ण विकेट गुमाएर १५५ रन बनाएपछि आर्मीले १५६ रनको लक्ष्य पाएको थियो।
जवाफी ब्याटिङमा आर्मीले २३ ओभर पाँच बल खेल्दै पाँच विकेट गुमाएर लक्ष्य पूरा गरेपछि खेल आफ्नो पक्षमा पारेको हो।
पहिले ब्याटिङमा आएको काठमाडौंका लागि सौरभ खनालले ४२ रन जोडे भने सन्दीप रजालीले ३७ रन बनाए। सन्दीप लामिछानेले दुई छक्कासहित १३ रन जोडे।
त्यस्तै खड्क बोहराले १९ र हरिशंकर शाहले १८ रन प्रहार गर्दा काठमाडौंले अतिरिक्ति २० प्राप्त भयो।
बलिङतर्फ आर्मीका शाहब आलमले चार विकेट गिराए भने जितेन्द्र मुखियाले तीन विकेट लिए। त्यस्तै, कुशल मल्ल र सोमपाल कामीले समान एक–एक विकेट लिए।
जवाफी ब्याटिङमा सोमपाल कामीले ५१ बलमा नौ चौका र छ छक्कासहित ८१ रन चट्काए।
त्यस्तै, भीम सार्कीले १६, कुशल मल्लले २३ र विनोद भण्डारीले २० रन बनाएका थिए। यता काठमाडौंका लागि सन्दीम लामिछाने र विपिन कार्कीले समान २,२ विकेट लिए भने अनिल खरेलले एक विकेट गिराए।
यससँगै आर्मीले लिगमा पहिलो जित निकालेर दुई अंक बनाएको छ। त्यस्तै काठमाडौंले एक जित र एक हारका साथ समान दुई अंक बनाएको छ। दुई अंक बनाउनेमा पुलिस पनि छ।
लगातार दुई खेलमा जित निकालेको एपीएफ क्लब चार अंकका साथ शीर्षस्थानमा छ।