काठमाडौं– एभरेष्ट प्रिमियर लिग (ईपीएल)को सहप्रायोजनका लागि आयोजक ईपीएल प्रालिले इन्डियन स्पोर्ट्सवेयर सेभेनसँग सम्झौता गरेको छ।
सेभेन ईपीएलको किटिङ, क्लोथिङ र मर्सेन्डाइस पार्टनरको रुपमा रहने आयोजक ईपीएल प्रालिले बताएको छ।
उसले सबै फ्रेन्चाइजका सबै क्लबका खेलाडी, कोच र अफिसियललाई जर्सी, जुत्ता उपलब्ध गराउने भएको छ। यसको मूल्य ७५ देखि ८० लाख भारु रहने सम्झौतामा उल्लेख छ।
प्रतियोगिताको प्रायोजन गर्दै ऋति ग्रुपको उत्पादन सेभेनका अध्यक्ष अरुण पाण्डेले नेपाली क्रिकेटमा आफ्नो उपस्थिति राम्रो बनाउने र खेल जगतमा उद्यमी बन्न प्रेरणा दिने बताए।
उसले नेपालमा उपस्थिति राम्रो बनाउन आगामी दुई वर्षभित्र काठमाडौंका तीन ठाउँमा स्टोरको स्थापना गर्ने बताएको छ। ‘व्यवसयालाई एक ठाउँमा राखेर, हामी पहिलेबाट नै खेलको विकासमा सहयोग गरिरहेका छौं। र, यही धारणामा हामी ईपीएलसँग जोडिएका छौं,’ ऋति ग्रुपका अध्यक्ष अरुण पाण्डेले भने।
ऋति ग्रुपको सेभेन ब्राण्डले आईपीएलमा पनि महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेम्न्नई सुपर किंग्ससँग ४ वर्षबाट सहकार्य गरिरहेको बताएका छन्।
इन्डियामात्र नभएर दक्षिण अफ्रिका, अस्ट्रेलियामा पनि आफ्नो ब्राण्डले क्रिकेटको क्षेत्रमा सहकार्य गरेको बताएका छन्।
सोमबार आयोजित पत्रकार सम्मेलनमा ईपीएलका अध्यक्ष अख्तरले भने, ‘हामीले पहिलेको भन्दा अझै राम्रा कुराहरु लिएर आएका छौं।’ कोरोना महामारीका कारण गत वर्ष चैत १ गतेबाट सुरु हुने भएको प्रतियोगिता स्थगित भएको थियो। अबको सिजनमा नयाँ कुराहरू थप गर्ने पनि अध्यक्ष अख्तरको भनाइ छ।
प्रतियोगिताको लागि नेपाल क्रिकेट संघ क्यानले पनि मिति प्रदान गरेको छ। प्रतियोगिता सेप्टेम्बर २५ बाट अक्टोबर ९ सम्म हुनेछ।
ईपीएलले यसअघि नै प्रतियोगिताबारे केही नयाँ नियम लिएर आएको थियो। उक्त नियम आउँदो सिजनमा पनि कायम रहनेछन्।
यसपहिले अन्य नेपाली लिग खेलेका विदेशी खेलाडीले ईपीएल खेल्न पाउने छैनन्। त्यस्तै, उसले प्रसारण अधिकार इन्डियाको डि स्पोर्टसलाई बेचेको थियो।