हेलम्बु– सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–१ घ्याङघुलका काजी सार्की लामा (६७) युवा अवस्थामा थुन्सेमा स्याउ बोकेर काठमाडौंसम्म पुग्थे।
राजधानीबाट करिब ८० किमि टाढा रहेको यो गाउँमा उत्पादित स्याउको बजार थिएन। उनी सम्झन्छन्, ‘तीन दिन लगाएर काठमाडौंसम्म स्याउ पुर्याउँथ्यौंं।’
राता, रसिला र ठूला स्याउका दानाले धेरैको मन लोभ्याउँथ्यो। त्यसैले त कुनै बेला हेलम्बुको स्याउ सुन्दर र हृष्टपुष्ट युवतीको पर्याय बनेको थियो।
एउटै बोटमा कम्तीमा एक सय किलोसम्म स्याउ फल्ने गरेको काजी सम्झन्छन्।
उनी भन्छन्, ‘सानो छँदा स्याउको थुप्रोमाथि खुब खेल्थें। रूखमुनि सुतेर मुखले स्याउ टिप्दाको मज्जा नै बेग्लै हुन्थ्यो। अहिले ती दिन सपना जस्तो भएको छ।’
घ्याङघुलमा पहिलोपटक २००६ सालमा काजीका बुवा कालु सार्की लामाले भारतको हिमाञ्चलबाट स्याउका बिरुवा ल्याएर रोपेका थिए। बिरुवा हुर्किएपछि लटरम्म स्याउ फल्यो।
काजी भन्छन्, ‘सिजनमा हाम्रो खाजा–खाना सबै स्याउ नै हुन्थ्यो।’
कालुले २०१८ सालमा हिमाञ्चलबाट थप बिरुवा झिकाए। केही बिरुवा मेलम्ची घ्याङ (घ्याङघुलबाट करिब तीन किलोमिटर उत्तर) का उनका मितलाई र केही बकाङघ्याङ (घ्याङघुलबाट करिब पाँच किलोमिटर पूर्व) का साथीलाई दिए भने केही आफैंले रोपे।
स्याउ त फल्यो तर बजार र यातायात सुविधा थिएन। अनि बोकेर काठमाडौं लैजानुको विकल्प थिएन।
काजी भन्छन्, ‘काठमाडौं पुग्दा थुन्सेको स्याउ किचिएको हुन्थ्यो। खासै बिक्री पनि हुँदैनथ्यो।’
स्याउ बिक्री नहुँदा बाटैमा फ्याँकेर फर्कनुपरेको पीडा उनको सम्झना ताजै छ। उनी भन्छन्, ‘धेरै पटक निराश भएर फर्कनुपरेको थियो।’
कतिपयले स्याउको रक्सी बनाउँथे। तर खाएर सकिन्नथ्यो। धेरैको बोटमा फलेको स्याउ खेर जान्थ्यो।
बर्सेनि ठूलो परिमाणमा स्याउ कुहिन थालेपछि २०३७ सालमा सबै बोट काटिदिएको काजीले जानकारी दिए।
अहिले गाउँगाउँमा सडक पुगेको छ। उत्पादन भए बजारको दुःख छैन। तर स्याउ फल्न छाडेको छ।
उसो त व्यावसायिक रुपमा स्याउ फलाउन यहाँका स्थानीयले प्रयास नगरेका हैनन्।
२०६२/६३ मा घ्याङघुलका निमा लामाले हिमाञ्चलबाट ५०० बिरुवा ल्याएर रोपे। तर १५ वर्ष बित्दा पनि स्याउ फलेन। कतिपय बोटको टुप्पो मर्न थालेको छ।
उनी भन्छन्, ‘पहिलेपहिले जरादेखि नै स्याउका रूख मर्थे। दुई वर्षयता टुप्पोबाट मर्न थालेका छन्। विज्ञहरूसँग सल्लाह गरी गोडमेल गरेर औषधि र मल पनि हालें तर दाना लागेको छैन।’
किन फलेन स्याउ?
त्रिवि वनस्पतिशास्त्रका प्राध्यापक डा. रामप्रसाद चौधरीका अनुसार स्याउ फल्न सात डिग्रीभन्दा कम तापक्रम चाहिन्छ।
पछिल्लो एक दशकमा तराई र पहाडमा ०.७ डिग्रीले तापक्रम बढ्दा हिमाली क्षेत्रमा १.१ डिग्रीले तापक्रम बढिरहेको छ।
सामान्यतया स्याउ फेब्रुअरीमा फुल्छ। फुलेको ४० देखि ६० दिनसम्ममा सात डिग्रीभन्दा पनि कम चिसो भएमा दाना लाग्छ।
समुद्री सतहबाट तीन हजार पाँच सय मिटरको उचाइमा रहेको हेलम्बुमा पछिल्लो डेढ दशकमा लगातार २० दिनसम्म सात डिग्रीभन्दा तल तापक्रम झरेको छैन।
जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार कुनै दिन शून्य डिग्री त कुनै दिन १५ डिग्री तापक्रम हुने गरेको छ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का जलवायु विज्ञ डा. सुरेन्द्रराज जोशी हेलम्बुमा स्याउ नफल्नुमा जलवायु परिवर्तनको असर रहेको बताउँछन्।
स्याउ फुलेका बेला परागसेचन गराउने मौरी लोप हुँदै गएकाले पनि स्याउ नफलेको उनको भनाइ छ।
डा. जोशी भन्छन्, ‘परागसेचन गर्ने मौरी नहुँदा स्याउका बोटमा फल लाग्न छाडेको छ।’
जलवायु परिवर्तनका कारण अधिकांश प्रजातिका मौरी मरिसकेको विज्ञहरूको भनाइ छ।
एक अध्ययनअनुसार नेपालमा ११ जातका मौरी पाइन्छन्। ती मौरी घुम्दै स्याउ फल्ने ठाउँसम्म पुग्नुअघि नै फुल फुल्छ। अनि परागसेचन हुन पाउँदैन। स्याउको फूल फुल्ने समय नै १० देखि १५ दिन अघि सरेको देखाएको छ।
तर परागसेचनका लागि मौरीजस्ता किरा ढिला पुग्छन्। ‘परागसेचन हुन पाएन र अनि फल लागेन’, चौधरीले भने।
स्याउमा फल नलाग्नुमा हिउँको पनि सम्बन्ध रहेको जलवायु विज्ञ जोशी बताउँछन्। उनका अनुसार धेरै हिउँ पर्ने ठाउँमा स्याउको जरासम्म चिसो पुग्छ। स्याउलाई पानी र चिस्यान पर्याप्त हुन्छ।
पछिल्लो डेढ दशकदेखि हेलम्बुमा हिउँ परेको छैन। ‘१५ वर्षअघि कम्तीमा पाँच फिटसम्म हिउँ पर्थ्याे। अहिले हिउँ पर्न छाडेको छ’, स्थानीय निमा लामा भन्छन्।
नजिकका हिमशृंखला कालापत्थरमा परिणत भएका छन्। घरमा परेको हिउँ पन्छाउँदाको दुःख सम्झँदै स्थानीय पेमा लामा भन्छिन्, ‘उति बेला हिउँ निकाल्दा हुने चिसो बेग्लै थियो।’
अब फल्ला त स्याउ?
विज्ञहरू अब हेलम्बुमा स्याउ फल्ने सम्भावना नरहेको बताउँछन्। उनीहरुका अनुसार जलवायु परिवर्तनका कारण स्याउको ट्रि लाइन माथिमाथि सरिरहेको छ।
स्याउको ट्री लाइन १५ देखि २० मिटर माथि सरेको छ। तापक्रम बढ्दा स्याउको जीवनचक्रमा नै असर गरिरहेको उनीहरुको भनाइ छ। प्राध्यापक चौधरीका अनुसार स्याउ फलाउने हो भने मौरी पाल्नु आवश्यक छ।
पुनः स्याउ उत्पादन गर्ने हो भने हिउँ परेका बेला जम्मा पारेर सेपिलो ठाउँमा डल्ला बनाएर राख्नुपर्ने जोशी बताउँछन्। यसरी बनाएको डल्ला २२ दिनसम्म पग्लिँदैन। अनि स्याउलाई पर्याप्त चिसोपना पुग्छ।
स्याउको बोट वरिपरि पानी जमाएर पनि हेरचाह गर्न सकिने विज्ञहरू बताउँछन्।
डा.चौधरीका अनुसार नेपालमा वार्षिक एक लाख मेट्रिक टन स्याउको खपत हुन्छ।
जुम्ला, मुस्ताङ, मनाङ, मुगु, डोल्पा, कालिकोट लगायतका क्षेत्रबाट ४० देखि ४५ हजार मेट्रिक टन उत्पादन हुन्छ। बाँकी स्याउ चीन र भारतबाट आयात हुन्छ।