बिहीबार, भदौ १८, २०८३

कोभ्याक्स र चीनले उपलब्ध गराउने खोप कहिले आउला ?

चीन तथा विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले नेपाललाई अनुदानमा उपलब्ध गराउने खोप कहिले आउने अझै टुंगो लागेको छैन।
 |  आइतबार, फागुन १६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १६, २०७७

काठमाडौं- चीन तथा विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले नेपाललाई अनुदानमा उपलब्ध गराउने खोप कहिले आउने अझै टुंगो लागेको छैन।

नेपालमा अहिले कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत भारतले उपहार अनुदानमा दिएको १० लाख डोज लगाइँदैछ। स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख डा. भिमसिंह तिंकरीले नेपालमा केही दिनमै ८ लाख डोज खोप अनुदानमा पाउने जनाएका छन्।

चीन सरकारको सहयोगमा ५ लाख डोज र विश्व स्वास्थ्य संगठनको कोभ्याक्स फ्यासीलिटीअन्तर्गत ३ लाख २४ हजार खोप छिट्टै आउने उनी बताउँछन्। तर कहिले आउँछ भन्नेबारे स्वास्थ्य मन्त्रालयलाई नै थाहा छैन। 

कोभ्याक्सअन्तर्गत कुल २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप अनुदानमा आउने भनिए पनि तत्काल भने नेपालले ३ लाख २४ हजार डोज खोप पाउने तिंकरीले बताए। नेपालसमयसँग कुरा गर्दै तिंकरीले भने, ‘हामीले तत्काल चीन सरकार र कोभ्याक्सअन्तर्गतको ८ लाख २४ हजार डोज खोप प्राप्त गर्नेछौँ। तर कहिलेसम्म खोप आउँछ एकिन दिन भन्ने अवस्था छैनौँ।’

कोभ्याक्सबाट आउने खोपका लागि विश्व स्वास्थ्य संगठनलाई पत्र पठाएको र त्यसको जवाफ नआइसकेकाले कहिले खोप आउँछ भन्न नसकिने डा. तिंकरी बताउँछन्। कोभ्याक्सले भारतको सिरम इन्स्टिच्युटले नै उत्पादन गरेको कोभिशिल्ड पठाउने सम्भावना बढी रहेको उनी बताउँछन्।

उता, चीनले दिने भनेको ५ लाख डोज खोप पनि कहिले आउँछ भन्ने टुंगो छैन। चीनलाई पनि खोप पठाउने मिति तोक्न मन्त्रालयले पत्र पठाइसकेको मन्त्रालयका एक अधिकारीले भने। 

नेपाल सरकारले अहिले चिनियाँ खोप र भारतमा उत्पादित कोभिशिल्ड खोप प्रयोगका लागि अनुमति दिएको छ।

सरकारले आगामी २३ फागुनदेखि समुदायस्तरमा कोभिडविरुद्धको खोप लगाउने तयारी थालेको छ। सरकारले यसअघि भारतबाट अनुदानमा पाएको बाँकी ५ लाख र त्यहीँबाट खरिद गरेको थप २० लाख डोज प्रयोगमा आउने बताएको छ। त्यसबाहेक चिनियाँ खोप र कोभ्याक्सबाट आउने अनुदानको खोप पनि अभियानका लागि सहयोग हुने भन्दै गणना गरेको छ।

सरकारले गत १४ माघदेखि कोरोनाविरुद्धको खोप अभियान शुरु गरेको हो। अहिलेसम्म करिब ५ लाख जनताले खोप लगाइसकेका छन्।

चीनको खोप खरिद गर्न सम्भव छैन 

नेपाल सरकारले अहिले चिनियाँ खोप र भारतको सिरम इन्स्टिच्युटबाट उत्पादित कोभिशिल्ड खोप प्रयोगका लागि अनुमति दिएको छ।  चीनले पनि नेपाललाई ५ लाख डोज खोप दिने घोषणा गरिसकेको छ। तर चीनले उत्पादन गरेको खोप नेपालले खरिद गर्ने सम्भावना निकै कम रहेको डा. तिंकरी बताउँछन्। 

उनका अनुसार चीनले उत्पादन गरेको खोप प्रतिडोज ४६ डलर पर्छ, त्यो खोप महंगो छ, त्योभन्दा कोभिशिल्ड नै सस्तो पर्ने भएकाले पछि पनि कोभिशिल्ड नै खरिद गर्ने सम्भावना देखिएको छ।

प्रकाशित: Feb 28, 2021| 12:46 आइतबार, फागुन १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।