काठमाडौं– काठमाडौंको जनबहालस्थित सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण तथा प्रबलीकरण कार्य सुरु भएको छ।
मन्दिर परिसरमा आइतबार आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले यी कार्यको संयुक्त रुपमा शिलान्यास गरेका हुन्।
०७२ को भूकम्पबाट क्षतिग्रस्त यो मन्दिरको भारत सरकारको ६ करोड २६ लाख रुपैयाँ अनुदान सहयोगमा प्रबलीकरण हुन लागेको हो।
सांस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणमा भारत सरकारले प्रतिबद्धता जनाएको करिब पाँच अर्ब ८० करोड रुपैयाँ आर्थिक अनुदानअन्तर्गत पुनर्निर्माण हुन लागेका २८ सम्पदामध्ये यो पहिलो परियोजना हो।
शिलान्यासपछि आयोजित कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुरानै प्रविधि, परम्परागत निर्माण सामग्री प्रयोग गरेर मन्दिरको प्रबलीकरण गरिने बताए।
भूकम्पबाट क्षतिग्रस्त ४६५ पुरातात्त्विक सम्पदा पुनर्निर्माण सम्पन्न भइसकेको उल्लेख गर्दै उनले भारत सरकारको सहयोगमा पुनर्निर्माण हुने सम्पदाहरुको काम अगाडि बढ्ने जानकारी दिए।
भारतीय राजदूत क्वात्राले नेपालका पुरातात्विक सम्पदा दुई देशको सम्बन्धमा आधारशीला भएको उल्लेख गर्दै यी सम्पदा संरक्षणमा गर्न पाउनु भारतका लागि खुसीको कुरा भएको बताए।
महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिकाले विभिन्न सम्पदाहरुको संरक्षण तथा पुनर्निर्माणमा सहयोग गरिरहेको जानकारी दिए।
सम्पदा पुनर्निर्माण तथा प्रबलीकरणको डिजाइन तथा पुरातात्त्विक अनुगमन पुरातत्त्व विभागले गर्दछ भने प्राधिकरण मातहतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) ले ठूला सम्पदाको कार्यान्वयन गराउँछ।
सबै सम्पदाको पुनर्निर्माण गर्ने क्रममा तिनको मौलिकता, परम्परागत महत्त्व, स्थानीय परम्परा, मूल्य मान्यतालाई ध्यानमा राख्दै प्राचीन सामग्री प्रयोग गरिने जानकारी केन्द्रीय आयोजना कार्यान्वयन एका (भवन) का आयोजना निर्देशक श्यामकिशोर सिंहले दिए।
सेतो मच्छिन्द्रनाथको मन्दिर १० औं शताब्दीमा मल्ल युगमा निर्माण गरिएको विश्वास छ। यो मन्दिर सामाजिक, धार्मिक सहिष्णुताका लागि प्रख्यात छ। सेतो मच्छिन्द्रनाथलाई हिन्दू र बौध धर्मावलम्बीले समान आस्थाका साथ पूजाआजा गर्दै आएका छन्।