बिहीबार, भदौ १८, २०८३

कोरौं मुहारचित्र

चित्रकलाका विधामध्ये मुहार चित्र (पोट्रेट) चुनौतीपूर्ण विधा हो। दृश्य उतार्न जस्तो सजिलो हुन्न। मुहारका मसिना पक्ष र भाव व्यक्त गर्न कठिन हुन्छ। क्यारेक्टर बोल्नुपर्छ भन्छन् चित्रकार।
 |  आइतबार, फागुन १६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १६, २०७७

काठमाडाैं - विशिष्ट व्यक्तिका मुहारलाई क्यान्भासमा सजाउने दोस्रो संस्करणको पहिलो अवसर गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष जीवा लामिछानेलाई जुर्‍यो।

अन्तर्राष्ट्रिय जलरङ समाज नेपालले सुरु गरेको ‘कोरौं मुहारचित्र’अन्तर्गत धुम्बाराहीमा जम्मा भएका चित्रकार सामु लामिछाने झण्डै तीन घण्टा घेरिए।

कलाकारसामु नीलो कोट, सफेद चश्मा लगाएर रातो मेचमा बसेका लामिछानेको मुहारमा चमक भरिएको पाइन्थ्यो।

उनको मुहाराकृतिलाई क्यान्भासमा उत्कृष्टता प्रदान गर्न चित्रकार स्पर्धामै उत्रिएझैँ देखिएका थिए। 

चित्रकलाका विधामध्ये मुहार चित्र (पोट्रेट) चुनौतीपूर्ण विधा हो। दृश्य उतार्न जस्तो सजिलो हुन्न। मुहारका मसिना पक्ष र भाव व्यक्त गर्न कठिन हुन्छ। क्यारेक्टर बोल्नुपर्छ भन्छन् चित्रकार।

विश्वमा मुहार चित्र बनाउने विधा प्रख्यात भए पनि नेपालमा खासै प्राथमिकतामा नपरेको हुँदा त्यसलाई व्यावसायिकतामा ढाल्न अभियानको सुरुआत गरिएको हो भन्छन् समाजका अध्यक्ष एनबी गुरुङ।

नेपाली चित्रकारको रुचि दृश्य चित्रमा बढी छ। दृश्य चित्र बनाउने कलकार नै कहिलेकाहीँ मुहार चित्रमा पनि कुची चोब्छन्। त्यसैको स्वरुप हो गैरआवासीय नेपाली लामिछानेको प्रत्यक्ष हेरेर बनाइएको मुहार चित्र।

यसपालि दोस्रो संस्करणमा उनको मुहार केलाउन अध्यक्ष गुरुङसँगै डिराम पाल्पाली, आलोक गुरुङ, ओम गुरुङ, डिबी राई, किरण सिगु, पक थापा सहभागी भए।

कलाकारसामु उभिएका लामिछाने भन्छन्, ‘मुहार चित्र अर्ग्यानिकजस्तो लाग्छ, फोटोग्राफी होइन, यो त प्राकृतिक कला हो, आममानिससँगै मेरो पनि ठूलो रुचिको विषय नहुने कुरै भएन, त्यसैले एकै प्रस्तावमा सरिक भएँ।’ कलाकारले उनको मुहार हेर्दै जलरङमा कुची चोबेर शनिबार सात कोणबाट क्यान्भास भरे। 

लाइभ पोट्रेटको अवलोकन गर्न पुगेका द स्कूल अफ साइकोलोजी नेपालका संस्थापक पदम जोशी लाइभ पोट्रेट मनोविज्ञानका हिसाबले पनि महत्वपूर्ण भएकाे बताउँछन्। 

‘यसलाई मनोविज्ञानमा आर्ट थेरापी भनिन्छ, लाइभ मोडलमा बस्दा एक किसिमको आनन्द महसुस हुन्छ, सकारात्मक सोचको विकास हुन्छ, सेल्फ केयर र आनन्ददायी हुँदा खुशीको तह धेरै बढाउने अध्ययनले देखाएको छ’, उनले भने।

कार्यक्रम संयोजक एनबी गुरुङ मुहार चित्रलाई ग्ल्यामराइज गर्न मुहार चित्र कोर्ने अभियान थालेको बताउँछन्। 

चल्तीका कलाकार मात्रै होइन, नयाँ कलाकारलाई पनि प्रेरणा दिन सकौँ भन्ने उद्देश्य उनको छ।

कला साहित्यको पारखी लामिछानेले प्रस्ताव राख्नेबित्तिकै सहज स्वीकार गरेर कलाकारलाई प्रेरणा दिएको गुरुङ सुनाउँछन्।

लेखक लामिछानेले कलाकारसामु बसेर मुहार चित्रमा सहभागी हुन पाएकामा खुशी व्यक्त गरे। 

पोट्रेट परम्परागत चलन हो। 

आदिम युगमा ओढार, गुफामा पनि यसरी चित्र कोरिएका थिए। फोटोग्राफी आधुनिक युगमा सुरु भएको विधा हो। 

लामिछानेका अनुसार कला, साहित्य अजरअमर भएर बसिरहने हुँदा जीवनकै एउटा भाग हो। विकसित देशमा राज्यले नै आर्थिक हिसाबले मात्रै नभई हरेक क्षेत्रबाट सम्मान, संरक्षण भइरहेको हुन्छ।

राज्य, निजी क्षेत्र र कलाकार सबै मिलेर कला–साहित्यको जगेर्ना गर्नुपर्नेमा उनको जोड छ।

यसअघि कलाकारले ‘कोरौँ मुहारचित्र’ को पहिलो संस्करणमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’लगायतका  मुहार चित्र क्यान्भासमा भरिसकेका छन्। 

बेलायतीको देखासिकीबाट नेपालमा मुहार चित्र बनाउने विधा भित्रिएको मानिन्छ। यसको श्रेय राणा प्रधानमन्त्री जंगबहादुरलाई जान्छ। 

भाजुमान चित्रकारले सन् १८५० को दशकमा बेलायत गएर सीप सिकेको कलाकार बताउँछन्। 

पछि चित्रकारले जंगबहादुरकै चित्र बनाएका कला समीक्षक रमेशनाथ खनाल बताउँछन्। 

दिलबहादुर चित्रकार, मास्टर चतुररत्न, अमर चित्रकार, चन्द्रमान मास्के, बालकृष्ण सम, तेजबहादुर चित्रकारले पोट्रेटलाई अगाडि बढाएका उनी सुनाउँछन्।  

औँला ढड्याएको पृथ्वीनारायण शाहको चित्र उनै अमर चित्रकारले बनाएका थिए।

कला समीक्षक खनाल नेपालका क्याम्पसमा सिकाइ पनि  व्यावसायिकता हुन नसकेको बताउँछन्। 

पौभा, दृष्यचित्र, मुहार चित्र, अमूर्त, अरुपण, मिथिला, परम्परागत, परावस्तुवादी चित्रकला, विचारप्रधान, वस्तुवादीलगायत चित्रकलाका विधामध्ये चुनौतीपूर्ण विधाको रूपमा मुहार चित्रलाई लिइन्छ। रासस

प्रकाशित: Feb 28, 2021| 04:36 आइतबार, फागुन १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।