काठमाडौं गत वर्ष शिल्पी थिएटर ‘कल्पना र उर्मिला दुःखमा छन्’ नाटक लिएर पश्चिम नेपाल छिर्यो।
‘गाउँमा रंगमञ्च’ भन्ने अवधारणामा ‘शिल्पी कचहरी’ ले बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, रोल्पा र कञ्चनपुरका बस्तीबस्तीमा नाटक मञ्चन गर्यो। केही समयपछि यो टोली पूर्वको मोरङ र सुनसरी पनि गयो।
बालविवाह, महिलामाथि हुने विभेद र हिंसाका घटनालाई विषयवस्तु बनाएर तयार गरिएको यो नाटक कचहरी शैलीमा थियो।
पश्चिम नेपालका ६ जिल्लाका ३३ ठाउँमा देखाउने योजना रहेको नाटक ३६ ठाउँमा प्रदर्शन गरियो। पूर्वी नेपालमा थप २ जिल्लाका ६ ठाउँमा प्रदर्शन गरियो।
बालविवाहकै सेरोफेरोमा तयार गरिएको नाटक मञ्चनका लागि रोल्पा पुगेका शिल्पीका निर्देशक घिमिरे युवराजले आफैंले उठाएको मुद्दा त्यहाँ प्रत्यक्ष देखे।
विवाह गर्न परिवारको आँखा छलेर भागेका दुई बालबालिकाको खोजीमा प्रहरी खटिएको, प्रहरीले यस्ता प्रकरणमा लिएको ‘एक्सन’, बालविवाहकै लागि तम्सिएको जोडीको अवस्था, समाजको मनोविज्ञान उनले त्यहाँ देखेका अन्य यथार्थ हुन्।
यही नाटक प्रदर्शनको सेरोफेरोमा रहेर तयार गरिएको ‘रंगमञ्चको स्वर’ शीर्षकको वृत्तचित्र प्रदर्शन र ‘रंगमञ्चको स्वर’ किताब विमोचन कार्यक्रममा शुक्रबार काठमाडौंमा घिमिरे युवराजले भने, ‘वास्तविक पात्रहरुसँग साक्षात्कार हुँदा मन भारी बनाएर नाटक देखाउनुको के विकल्प थियो र ?’
‘रंगमञ्चको स्वर’ किताबमा उनले यो क्रमको अनुभूतिमा भनेका छन्, ‘जुन समस्याबारे नाटक मञ्चन गर्दै हिँडेको हो त्यही समस्या साक्षात् देखिरहँदा खुसी हुनु कि दुःखी? मन भारी भएर पनि नाटक देखायौं।’
उनी अगाडि थप्छन्, ‘सहरमा हरेक दिनजस्तो मार्क्सवाद, समाजवाद र समृद्धिको चर्को बहस सुनिरहेकोले मलाई यस्ता दृश्य देख्दा कस्तो हुँदो हो?’
स्कुल जान नपाएका बालबालिका, बीचैमा स्कुल छोडेर खेतबारीमा अल्झिएका कयौँ किशोरकिशोरी, आफैं पढ्ने खेल्ने उमेरका काखमा बच्चा खेलाइरहेका किशोरी, स्कुल कलेज जाने बेलामा कमाउने जिम्मेवारी बोकेर भारततर्फ मजदुरीका लागि हिँडेका युवा, दुव्र्यसनीमा फसेका युवा लाखौंको संख्यामा छन्।
उनी भन्छन्, ‘सत्तासीनहरुलाई यसको पत्तो छैन। किनभने सत्ता अर्के झमेलामा अल्झिएको छ।’
समाजमा अशिक्षा, जनचेतनाको अभाव, बेथिति, विसंगति, रुढिवादी सोच सबै छ। कानुनमा के लेखिएको छ त्यो धेरैलाई थाहा छैन। कसले कसलाई सम्झाउने वा सुसूचित गर्ने त्यो अत्तोपत्तो छैन।
बालविवाहका बेफाइदा, बालविवाह गरे हुने कानुनी कारबाही, बालविवाह गराउँदा वा बालविवाहमा सहभागी हुँदासमेत भोग्नुपर्ने सजायबारे कसैलाई न जानकारी दिन खोजिएको छ न कसैले चासो राखेको छ।
परिबन्धमा फसिसकेपछि मात्रै कानुनको ज्ञान हुन्छ, यस्तो कार्य गर्नेगराउनेहरु अपराधी बन्छन्। उमेर नपुगी हुने विवाहले पार्ने पारिवारिक समस्या, स्वास्थ्य र अँध्यारो भविष्यबारे अलिअलि सुनेकाहरु त छन् तर यसलाई आत्मसात् गर्ने र परिवर्तनको बाटोमा लाग्नेहरुको संख्या नगण्य छ।
कानुन सरकारसँग छ, किताबमा छ, प्रहरीले एक्सन लिन्छ, अदालतले व्याख्या गर्छ, भोग्नेहरु र देख्नेहरु आश्चर्यमा पर्छन्, गाउँमा यस्तै छ।
‘कल्पना र उर्मिला दुःखमा छन्’, कचहरी नाटकको सूत्राधारका रुपमा रहेका निर्देशक घिमिरे युवराजका अनुसार कतिपय ठाउँमा त यस्तोसम्म मानिस भेटिए जो दुःखमा छन् तर दुःखमा छु भनेर भन्न पनि सक्दैनन्।
एक महिना लामो नाटक भ्रमणमा उनले दर्शकलाई नाटकका पात्रहरुसँग जोड्दै उनीहरुको भोगाइ, अनुभूति र इच्छाशक्ति सुनेका थिए र सुनाएका थिए।
‘कचहरी’ समस्या भोगिरहेका, समस्या गराउने र समस्या भएको ठाउँ वरपरका अन्य मानिस सँगै बसेर समाधान खोज्ने एउटा पुरानो तरिका हो। यो शिल्पीले बोकेको कचहरी नाटक पनि यस्तै एउटा प्रक्रिया थियो। जसमा नाटकका पात्रहरुले कुनै निष्कर्ष दिएर छोड्दैनन्।
बरु नाटक हेर्न आउने दर्शक नै समस्याको निचोडमा पुगून् भन्ने अपेक्षा हुन्छ। यसैअनुसार सूत्राधार घिमिरे युवराजले कचहरीमा आउने गाउँले अर्थात् नाटकका दर्शकलाई पात्रहरुसँग साक्षात्कार गराए र उनीहरुको निचोड सुने/सुनाए।
नाटक मञ्चनको अनुभवमा घिमिरे युवराज भन्छन्, ‘राज्यको कानुनले ठाडै भन्छ– अपराध गर्नेले मलाई कानुन थाहा थिएन भन्न पाउँदैन। तर कतिपय स्थितिमा हामीले यसलाई त्यति सपाट रुपमा हेर्न मिल्दैन। किनभने हामीलाई लाग्छ, कानुन निर्माण मात्रै समस्या समाधानको उपाय होइन। यो त एउटा विकल्प मात्रै हो कानुनको बारेमा नागरिकलाई सुसूचित गराउने काम कसको हो? वा नागरिकलाई अपराधसम्म नपुर्याउन समुदायमा सचेतनाको भूमिका कसले खेलिरहेको छ? हामी स्वतन्त्र कलामा लागेका वा स्वतन्त्र रंगकर्म गरिरहेका कलाकर्मीका लागि चिन्ताको विषय हो।’
शिल्पीले यसअघिका वर्षमा पनि नाटक बोकेर गाउँगाउँ पुग्ने गरेको थियो। यस वर्ष भने माहोल मिलेन। निर्देशक घिमिरे युवराजका अनुसार ‘कल्पना र उर्मिला दुःखमा छन्’ को टोली गाउँ पुग्यो, त्यहाँ वास्तविक रुपमा दुःख पाएका कल्पना र उर्मिला भेटिए।
ती दुःखमा परेका कल्पना र उर्मिलाले आफूहरु समस्यामा छौं भन्ने बुझून् र यसबारे बोल्न सकून् भन्ने अभियान रहेको नाटककी एक कलाकार पवित्रा खड्का बताउँछिन्।
नाटकमा जस्तै वास्तविक जीवनमा भेटिएका यी कैयौं पात्रहरु एकै झल्को नाटकबाट त कहाँ परिवर्तन हुन सक्छन् र? तर कम्तीमा ओहो हामी यस्तै दुःखमै जिउने हो त? भन्ने चाहिँ सोचून्, हैन नि भन्ने थाहा पाऊन् र यसरी हुँदैन भनेर जागून् भन्ने मुलभूत उद्देश्य नाटकले बोकेको थियो।
घिमिरे युवराज भन्छन्, ‘समस्या छन्, समाधान निस्किन सक्छन्, त्यसका लागि नेता चाहिन्छ जसले समस्याविरुद्ध लड्न सकोस्, समस्यामा परेकाहरुलाई समस्या देखाउन र समाधान भेट्टाउन अग्रसर गराओस्।’