जनकपुरधाम- आमाबाबुका लागि बुढेसकालको सहारा भनेकै आफ्ना सन्तान हुन्। तर सन्तानबाटै अपहेलित भएपछि बुढेसकाल कति कष्टप्रद हुन्छ होला ?
यो कष्टप्रद अवस्था भोग्नुपर्ने बेहसहाराका लागि ठाउँठाउँमा वृद्धाश्रम खुलेका छन्। जनकपुरधाम– ८ स्थित जानकी आँखा अस्पतालको छेउमै जानकी वृद्धाश्रम छ। त्यो वृद्धाश्रमले १८ जना वृद्धालाई सहारा दिएको छ। तर यही वृद्धाश्रम अहिले आफै बेसहारा बनेको छ।
वृद्धाश्रमकी सञ्चालिका सीता अधिकारीले कुनै निकायबाट सहयोग नभएका कारण उधारोकै भरमा चलाउनु परेको दुःखेसो गरिन्। उनका अनुसार जानकी वृद्धाश्रममा कार्यरत ६ जना कर्मचारीले एक वर्षदेखि तलब पाएका छैनन्।
उनले भनिन् ‘तलबको कुरै छोडौँ गत चैत महिनादेखिको दुध, ग्यास, तरकारी, औषधिआदि लगायत सामानको उधारो तिर्न बाँकी नै छ।’ उनले थपिन्, ‘पहिलेपहिले संघ सरकारबाटै वृद्धाश्रम सञ्चालनका लागि रकम आउँथ्यो तर प्रदेश सरकार मातहत आएपछि उधारोको चाङ नै बढेको छ। कति दिन यसरी उधारोकै भरमा यो वृद्धाश्रम चलाउनु पर्छ ठेगान छैन।’ उधारोले गर्दा बाटो हिड्न पनि गाह्रो भइसकेको अधिकारीले बताइन्।
समाज कल्याण मन्त्रालयमार्फत् सञ्चालनमा आएको जानकी वृद्धाश्रमका लागि प्रत्येक वर्ष ६ लाख रुपैयाँ आउथ्यो। अधिकारीले भनिन्, ‘तर पछि महिला विकास कार्यालयमार्फत् बजेट आउन थाल्यो, अब प्रदेश सरकार गठनपछि वार्षिक बजेटको कुरै छोडौँ सहयोग पनि गर्न सकेका छैनन्।’ प्रदेश सरकारले आर्थिक वर्ष २०७५ मा ४ लाख रुपैयाँ छुट्याउनु बाहेक बाँकी वर्षमा बजेट छुट्याउन नसकेको उनले बताइन्।
प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले भने जानकी वृद्धाश्रम सञ्चालनका लागि आफूहरु तत्पर रहेको दाबी गरे। उनले वृद्धाश्रमकै लागि २० लाख रुपैयाँ चालू आर्थिक वर्षमा बजेट छुट्याइएको बताए। तर सो बजेट वृद्धाश्रमको माथिल्लो तल्लाको निर्माणको छुट्याएको हो।
आश्रममा अधिकारीसहित ६ कर्मचारी कार्यरत छन्। वृद्धाश्रममा कार्यरत मेस्तरलाई मासिक ७ सय ५० रुपैयाँ, भाँडा वर्तन माँझ्नेलाई मासिक १ हजार रुपैयाँ र बाँकी कर्मचारीलाई ४ हजार रुपैयाँको दरले मासिक तलब दिइन्छ। तर एक वर्षदेखि कसैले तलब पाएका छैनन्। वृद्धाश्रमकी संचालिका अधिकारीका अनुसार वृद्धाश्रम सञ्चालनका लागि मासिक कम्तीमा ७५ हजार रुपैयाँ आवश्यक पर्छ।
वृद्ध आमाहरुको व्यथा
जानकी वृद्धाश्रममा १८ जना वृद्धा बसिरहेका छन्। ‘कोही कोही आमा आफै आश्रममा आउनुहुन्छ भने कोहीलाई प्रहरी प्रशासनले पनि बाटो, गल्लीबाट उद्धार गरेर ल्याउने गरेका छन्,’ आश्रमको स्थापनाकालदेखि नै सञ्चालिकाको रुपमा कार्यरत अधिकारीले भनिन्, ‘आश्रममा रहेका केही आमाहरु भने निःसन्तान पनि छन्।
महोत्तरीको भंगहा नगरपालिका बिर्ता पलासकी ८० वर्षीया देवसुन्दरी देवीको आफ्ना सन्तान थिएनन्। पछि देवरले सबै जग्गा र सम्पति हड्पेपछि आफूले वृद्धाश्रममा आश्रय लिनु परेको उनले बताइन्। उनले भनिन् ‘आफ्नैले धोका दिएपछि फेरि त्यो ठाउँमा फर्केर जाने ईच्छा नै हुँदैन।’
धनुषाको सबैला नगरपालिकाकी पानोदेवी गुप्ता पनि आफ्नो घर फेरि फर्केर जान चाहँदिनन्। सन्तानको राम्रै व्यापार पनि छ। तर सन्तानबाटै अपहेलित भएपछि जानकी वृद्धाश्रममा आश्रय लिन पुगेकी थिइन् उनी। एकपटक नातिको बिहे हुँदा छोरोले समाजको दबाबमा उनलाई घर लिएर गएका थिए। तर पछि फेरि छोराबुहारीले दुःख दिन थालेपछि आफैँ फेरि वृद्धाश्रममा आइपुगिन्।
वृद्धाहरुको दिनचर्या
आश्रममा आउँदा वृद्धाहरुको अवस्था एकदमै नाजुक हुने गर्छ। प्रादेशिक अस्पतालमा लगेर उपचार गराएर मात्रै आमाहरुलाई ल्याइने गरेको अधिकारीले बताइन्। आश्रममा आइसकेपछि बिस्तारै आमाहरू तंग्रिने गरेको उनको भनाइ छ।
आमाहरूलाई आश्रममा छुट्टाछुट्टै बेड दिइएको छ। बिहान ५ देखि ६ बजेसम्म सबै आमाहरू उठ्ने गर्छन्। नित्यकर्म गरेर बिहानै नुहाइधुवाई गरेर पूजापाठसमेत गर्छन्। बिहान ७ बजे चिया दिइन्छ। त्यसपछि सबै आमाहरू भजनकीर्तन गर्छन्। बिहान १० बजे दाल, भात र तरकारीसहितको खाना दिने गरिन्छ। फेरि दिउँसो २ बजे उनीहरुलाई चिया दिइन्छ। साँझको खानामा दूध रोटी तरकारी दिइन्छ।
वृद्धाश्रमको स्थापना
२०५३ मंसिर २० गते नेपाली कांग्रेसकी नेतृ लिला कोइरालाले असहाय वृद्ध महिलाको सुरक्षाका लागि जानकी वृद्धाश्रम स्थापना गरेकी थिइन्। उनी महिला, बालबालिका तथा समाज कल्याण विकास मन्त्री रहेको समयमा स्थापना गरिएको थियो। स्थापनाकालमा २ जना आमालाई राखेर आश्रम सञ्चालन गरिएको थियो। केही महिना नबित्दै आश्रममा वृद्ध आमाहरुको संख्या १६ पुगेको थियो।
सुरुमा २ वटा कोठा भाडामा लिएर जनकपुरधामको भानुचोकमा सञ्चालन गरिएको वृद्धाश्रम पछि १६ वटा कोठा सहितको फ्लयाट भाडामा लिएर ९ वर्षसम्म सञ्चालन भएको थियो। त्यसपछि गुठी संस्थान मातहत रहेको राजगुठी रत्नसागर मठका महन्थ रामप्रकाश दास वैष्णवले आश्रमका लागि साढे २ कठ्ठा जग्गा उपलब्ध गराएका थिए।
जनकपुर अञ्चल प्रहरी कार्यालयका तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक डा. चुडाबहादुर श्रेष्ठले विभिन्न ठाउँबाट आर्थिक सहयोग चन्दा जुटाएर आश्रमका लागि नयाँ भवन बनाउन लगाएको अधिकारीले बताइन्।
भवन निर्माणका लागि समाज कल्याण मन्त्रालयले पनि ११ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको थियो। २०६२ सालमा आश्रमको नयाँ भवनको उद्घाटन गरिएको थियो। हाल आश्रममा भान्साबाहेक बस्ने कोठा १६ वटा छन्।