आइतबार, वैशाख ७, २०८२

मलाई हरेक व्यक्तिले चिच्याई–चिच्याई सोधून्– प्रेम के हो ?

मैले उसलाई प्रेम गर्नु गलत थिएन। ऊ र मबीचको प्रेम सही थियो र हो। विवाह एक सामाजिक बन्धन हो तर प्रेम स्वच्छन्द महसुस गराउने अवस्था।  जहाँ प्रेम हुन्छ त्यहाँ खुसी फैलिरहन्छ।
 |  आइतबार, फागुन २, २०७७
nespernesper

शर्मिला ठकुरी

शर्मिला ठकुरी

आइतबार, फागुन २, २०७७

vianetvianet


बिहानै बहिनीले नारायण गोपालको गीत गुनगुनाइरहेकी थिइन्– ‘यो सम्झने मन छ म बिर्सूं कसोरी...।’ 

triton college

उनको गुनगुनाइपछि मेरो विगत एकाएक ताजा भएर आयो। पुलुक्क बहिनीलाई हेरें। उनी गीतमा लय मिलाइरहेकी थिइन्। उनमा न कुनै संवेग थियो, न कुनै आवेग। 

मेरो मन यही गीतका कारण बेचैन भयो र सबैथोक भुलेर उसको यादमा हराउन थालिहाल्यो।  

स्वरसम्राट् नारायण गोपालका गीतले कसको जीवनमा के अर्थ राख्छ, थाहा छैन। तर मलाई भने मन शान्त राख्न र निद्रा नपरेका बेला औषधि बन्ने गरेका छन्।  

जब मन अशान्त हुन्छ, म उनले गाएका बिछोडका गीत सुन्न थाल्छु– गुनगुनाउन थाल्छु। केही बेर त्यसमा हराउँछु। कसैले नदेख्ने गरी आँसु झार्छु र हत्तपत्त आफ्नो काममा फर्कन्छु। 

National life insurance

फेब्रुअरी लाग्नेबित्तिकै युवकयुवतीमा फरक तरंग फैलन्छ। १४ तारिख भ्यालेन्टाइन डे अर्थात् प्रेमी–प्रेमिकाका लागि विशेष दिन। 

मेरो मन भने पछिल्लो समय फेब्रुअरी आएपछि निकै उदास भइदिन्छ। उसको सम्झनाले मन भारी हुन थाल्छ।  

आजपर्यन्त पीडाको पोको बनेको छ यो विषय। कति साथीले त ढिला ‘प्रपोज’ गरिस् भनेर गिज्याउनसम्म गिज्याए। उसको बिहेको दिन मेरो मनमा सल्केको आगोमा घिउ थप्न साथीहरू नै सक्रिय भए। 

मेरो प्रेमीले अरूलाई सिन्दूर भरेको तस्बिर मेरो फेसबुकको म्यासेन्जरमा पठाए। त्यो दिन जति कठिन त आजसम्म कहिल्यै महसुस गरेकी छैन। 

त्यति बेला नारायण गोपालको ‘जुन फूल मैले चाहेको थिएँ, कसैले टिपेछ, सौन्दर्य भने त्यो सधैं मेरो आँखामा लुकेछ...’ कतिपटक दोहोर्‍याएर सुनें, आफैंलाई थाहा छैन। 

बिहानबिहानै विगतमा हराएर एकोहोरिन पुगेँछु। आँखाबाट अनायास आँसु तप्प झरेको देखेर बहिनीले प्याट्ट गर्दै ‘के भो ?’ भन्दा झसंग भएँ।  

यो गीतसँग मेरो सम्बन्ध प्रगाढ छ, गहिरो छ। गीतमा आफूले मन पराइरहेकी प्रेमिकालाई अरू कसैले विवाह गरेर लगेको वर्णन छ। त्यो सहनुको पीडा गीतमा व्यक्त छ। जुन पीडा मैले भोगेकी थिएँ, त्यही पीडा गीतले बोलिदिएको जस्तो लाग्छ। 

त्यसैले त म सुन्छु, आँसु निचोर्छु र मन हलुका बनाउँछु। कैयौं पटक मैले यस्तो गरिसकेकी छु। 

हो, आज पनि मैले फेरि उसैलाई सम्झेकी थिएँ– बहिनीले नारायण गोपालको त्यो गीत बजाइरहँदा र गुनगुनाइरहँदा। भनिन्छ– प्रेममा न जात हुन्छ, न वर्ग। प्रेममा व्यक्ति अन्धो हुँदो रहेछ, मैले त्यो महसुस गरेकी छु। 

त्यसैले त हो उसले सर्वस्व बिर्सिएर आफ्नो सारा जीवन पे्रममै समर्पित गरेको हुन्छ।  

बिहान नारायण गोपालको गीतका कारण मुटु झस्काएकी बहिनीले साँझ सोधिन्– दिदी भ्यालेनटाइन डे आयो। तपैंले नि कसैलाई मन पराउनुभएको होला नि?’ म पुनः रन्थनिएँ।  

हो, बिछोड नभएका प्रेमिकाका लागि भ्यालेन्टाइन डे प्रणय दिवस होला, तर मेरा लागि यो महिना दिक्कलाग्दो बन्छ। न मेरो मन कसैले बुझेको छ, न म कसैलाई बुझाउन सक्छु। 

कसैको खुसीका लागि प्रेमको बलिदानी दिएर जिउनु ठूलो युद्धको मोर्चा सम्हाल्नुभन्दा कम्ती हुँदो रहेनछ। जीवन र मन रंगीन बनाउने त्यही प्रेमले मानिस पटकपटक प्रेममा पर्दो रहेछ भन्ने मैले महसुस गरेकी छु।

मैले गरेको प्रेम प्राप्तिका लागि थिएन। हामी एक हुन सक्दैनौं भन्ने जान्दाजान्दै गरेको थियो त्यो। 

त्यसैले अचेल मलाई लाग्न थालेको छ– हरेक व्यक्तिले चिच्याई–चिच्याई मसँग सोधून्– प्रेम के हो ? 

मन पराएको प्रेमिका वा प्रेमीलाई पाउनु मात्र प्रेम हो ? शारीरिक आकर्षणमा परेर शारीरिक सम्पर्क राख्नु मात्र प्रेम हो ? कसैलाई मन पराउनु प्रेम हो ? आखिर प्रेम के हो ?

प्रेमको आजसम्म कुनै ठोस परिभाषा बनेको कुनै ग्रन्थमा मैले पढेकी छैन। प्रेमका परिभाषा आफ्नै छन्, त्यसैले मैले पनि प्रेमको परिभाषा बनाएकी छु ‘प्रेम प्राप्ति होइन, प्रेम समर्पण र त्याग हो।’

जब जब म नारायण गोपालका बिछोडका गीत सुन्ने गर्छु तब मलाई प्रेम समर्पण हो भन्ने कुरामा थप ऊर्जा मिल्छ। विश्वास पलाउँछ। साँचो अर्थमा भन्ने हो भने महाभारतमा राधा र कृष्णको कथा पढेपछि प्रेमप्रतिको मेरो धारणा बदलिएको छ। 

राधा र कृष्णबीच प्रेम छ, तर उनीहरूले कहिल्यै विवाह गरेनन्। कृष्णले रुक्मिणीसँग विवाह गर्छन्। हिन्दू धर्मावलम्बीले सधैं राधा र कृष्णलाई पुज्ने गरेका छन्, कृष्ण र रुक्मिणीलाई होइन। त्यसैले प्रेम पुज्य छ। आराध्य छ। यसलाई न देख्न सकिन्छ न सुन्न। बस् यो त महसुस हुन्छ, केवल महसुस।  

हो, मैले त्यही गरें। मलाई थाहा थियो– मैले गरेको प्रेम प्राप्ति होइन तर पनि गरें। गरिरहें। 

हामीसँग प्रेम अमर र अजर छ भन्ने प्रमाण दिन भ्यालेन्टाइन काफी छन्। 

भ्यालेन्टाइनको दुःखान्त प्रेमकहानी सुनेर भावुक नहुने विरलै होलान्। ‘भ्यालेन्टाइन डे’ को औपचारिक सुरुवात सन् २६९ रोमनबाट भयो। आफ्ना सैनिकले प्रेम तथा विवाह गरेमा युद्धसम्बन्धी सूचना बाहिर गई गोप्यता भंग हुने डरमा तत्कालीन रोमन सम्राट् क्लोडियस द्वितीयले सैनिकलाई प्रेम र विवाह गर्न रोक लगाए। त्यो नियम रोमनका पादरी सन्त भ्यालेन्टाइनलाई मन परेन। उनले प्रेमको पक्षमा आवाज उठाउँदै धेरै सैनिकको विवाह गराइदिए। 

सम्राट् क्लोडियसले उनलाई पक्राउ मात्र गरेनन्। मृत्युदण्डको सजाय सुनाएर जेलमा राखे। अन्तमा सन्त भ्यालेन्टाइन जेलरकी दृष्टिविहीन छोरीसँग प्रेममा परे। आफ्नो आँखा तथा ‘लभ फ्रम योर भ्यालेन्टाइन’ भन्ने हस्ताक्षरसहितको प्रेमपत्र तिनै प्रेमिका अर्थात् जेलरकी छोरीलाई दिएर मृत्युवरण गरे। 

२६९ को फेबु्रअरी १४ मा उनलाई मृत्युदण्ड दिइएको थियो। यही दिनको सम्झनामा विश्वभर १४ फ्रेबुअरीमा भ्यालेन्टाइन डे मनाउने गरिएको हो। 

मैले राधा र कृष्ण तथा रोमियो–जुलियटको कथाबाट ऊसँग प्रेम गर्ने शक्ति पाएकी हुँ। त्यसमा सन्त भ्यालेन्टाइनको त्याग र समर्पणले थप ऊर्जा भरिदिएको हो। 

मैले कहिल्यै उससँग विवाहको सपना देखिनँ तर सधैं उसकी भएर उभिने चाहना राखें। उसको हाँसोमा सँगै भएर हाँसो मिसाउन सकिनँ, टाढा भएरै मुस्कुराएँ। उसको आँखाबाट आँसु झर्दा हातले पुछ्न सकिनँ तर मेरा आँखा पनि ओभानो भएनन्। 

उसका आँखाबाट आँसु नझरून् भनेर आज पनि भगवान्सँग प्रार्थना गरिरहेकी छु।  खुट्टामा काँडा नबिझून् भनेर कामना गरिरहेकी छु। तर मलाई कहिल्यै गुनासो भएन ऊ अर्कैको भएकोमा र आफू टाढा भएकोमा। स्पन्दनमा सधैं ऊ छ। हरेक धडकनमा ऊ झंकृत हुन्छ।  

मैले उसलाई प्रेम गर्नु गलत थिएन। ऊ र मबीचको प्रेम सही थियो र हो। विवाह एक सामाजिक बन्धन हो तर प्रेम स्वच्छन्द महसुस गराउने अवस्था।  

जहाँ प्रेम हुन्छ त्यहाँ खुसी फैलिरहन्छ। प्रेम त केवल महसुस न हो, जो म त्यही गरिरहेकी छु।

प्रकाशित: Feb 14, 2021| 12:59 आइतबार, फागुन २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।