शुक्रबार, भदौ १९, २०८३

गणतन्त्र, धर्म निरपेक्षता र संघीयता असफल : थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा गणतन्त्र, धर्म निरपेक्षता र संघीयता असफल साबित भएको बताएका छन्।
 |  मंगलबार, माघ २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २७, २०७७

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा गणतन्त्र, धर्म निरपेक्षता र संघीयता असफल साबित भएको बताएका छन्।

राप्रपा काठमाडौं जिल्ला कार्य समितिद्वारा आयोजित पार्टीको चुनाव चिह्न अनावरण, झन्डोत्तोलन एवं काठमाडौं जिल्ला समायोजन घोषणासभा सम्बोधनका क्रममा अध्यक्ष थापाले व्यवस्थापिका प्रमुखले कार्यपालिका प्रमुख, न्यायपालिका प्रमुख र राष्ट्रप्रमुखविरुद्ध मुद्दा हाल्नुपर्ने अवस्था सिर्जना हुनु राम्रो संकेत नरहेको बताए।

उनले ०६२÷०६३ देखि हालसम्म परिवर्तन र त्यसलाई संस्थागत गर्ने नाममा व्यर्थ समय खर्च भएको बताए। 

अध्यक्ष थापाले उक्त समयमा भएको फजुल खर्चलाई विकास निर्माणमा लगाइएको भए देशको अवस्था धेरै अगाडि पुगिसक्ने दाबी गरे। 

उनले भने, ‘अब हरेक नेपाली जनताको चेतनाको स्तरमा उच्च गतिमा विकास भएका कारण राजनीतिका नाममा व्यक्तिगत र गुटगत स्वार्थ बोकेका अब पाखा लाग्नेछन्।’

देशमा संकट र फोहोर सृजना गर्ने शक्तिलाई जनताले पाखा लाउने समय आइसकेकोले अबको विकल्प राप्रपा मात्र भएको जिकिर गर्दै थापाले वैचारिक दृष्टिकोण, निष्कलंक र अनुभवी नेतृत्व भएको राप्रपाले मात्र देशलाई संकटबाट निकास दिनसक्ने दाबी गरे।

उनले भने, यो अवसर र चुनौतीलाई सामना गर्न सबै पंक्तिका नेता, कार्यकर्तालाई पार्टीको नीति र सिद्धान्तलाई बोकेर हरेक नेपालीको घरदैलोमा पुग्न कार्यकर्तालाइ आग्रह गरे। उनले भने, ‘राज संस्थासहितको लोकतन्त्र, हिन्दुराष्ट्र र स्थानीय स्वायत्त शासन प्रणाली स्थापना गर्न राप्रपा दृढ छ।’

पार्टी समायोजनलाई प्राविधिक रुपमा मात्र नभएर भावनात्मक एवं आत्मीय रुपमा मनन् गरेर संगठन निर्माणमा लागे राप्रपालाई अग्रणी शक्ति बन्नबाट कसैले रोक्न नसक्ने उनको भनाइ छ। 

अर्का अध्यक्ष पशुपतिशमशेर राणाले झन्डै दुई तिहाइको सरकार बनेको तीन वर्ष बित्न नपाउँदै मुलुकले यस्तो गाईजात्रा भोग्नुपरेकाले अब अझै पनि यिनीहरुबाट कुनै आशा र अपेक्षा राख्ने ठाउँ सकिएको हुँदा संगठन निर्माण गरेर राप्रपालाई देशको प्रमुख शक्ति बनाउनुपर्ने बताए। 

आन्दोलन, चुनाव र पार्टीको महाधिवेशन तीनवटै मोर्चालाई उपयोग गर्दै राप्रपाले राजसंस्था पुनःस्थापना गरेर देशमा दर्बिलो अभिभावक सिर्जना गरी हिन्दुराष्ट्र कायम गर्न राप्रपा दृढ भएर होमिइसकेकोले आमनेपाली जनताको सहयोगमा सफलता प्राप्त गरेरै छाड्ने अध्यक्ष राणाले बताए।

अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले काठमाडौं जिल्ला समायोजनले राप्रपाप्रति शुभेच्छा राख्ने राजधानीबासीको मनोबल उच्च बनाएकाले संगठन सुदृढ गरेर अगाडि बढे सफलता चाँडै हात लाग्ने निश्चित रहेको हुँदा संगठन निर्माणमा जुट्न सबैमा आग्रह गरे।

पार्टीका काडमाडौं जिल्ला कार्यसमितिका अध्यक्ष नवराज सिंखडाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा पार्टीका वरिष्ठ नेता दीपक बोहरा, विक्रम पाण्डे, विक्रमबहादुर थापा लगायतका नेताहरुले सम्बोधन गरेका थिए। 

प्रकाशित: Feb 09, 2021| 11:24 मंगलबार, माघ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।