काठमाडौं– चार स्थानीय तहमा अझै वाणिज्य बैंकको शाखा विस्तार हुन सकेको छैन।
नेपाल राष्ट्र बैंकका अनुसार ७५३ मध्ये पुस मसान्तसम्म ७४९ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेको हो।
ताप्लेजुङको मिक्वाखोला, धादिङको रुवीभ्याली, जाजरकोटको जुनीचाँदे र बझाङको काँडा गाउँपालिकामा कुनै पनि वाणिज्य बैंकको शाखा पुगेको छैन।
गत वर्षको पुससम्म ७४५ स्थानीय तहमा शाखा विस्तार भएका थिए। एक वर्षमा थप चार स्थानीय तहमा बैंक शाखा विस्तार भएको राष्ट्र बैंकले जनाएको छ।
पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको संख्या १४४ छ। यसमध्ये २७ वाणिज्य बैंक, १९ विकास बैंक, २१ वित्त कम्पनी, ७६ लघुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंक छ।
पुस मसान्तसम्म सबै बैंक तथा वित्तीय संस्थाको शाखा संख्या १० हजार १८७ पुगेको छ।