जनकपुरधाम– तीन वर्षअघि सर्लाहीको चक्रघटा गाउँपालिका–६ पररियाकी २५ वर्षीया अनितादेवी साहको बिहे महोत्तरी बलवा नगरपालिका–६ बनौटका मनिष साहसँग भयो।
विष्णुदेव साहले छोरीको बिहे बडो तामझामका साथ गरिदिए। दाइजोका साथै जन्तीको स्वागतमा गरी २५ लाख रुपैयाँभन्दा बढी खर्च भयो। अनिता पनि औधी खुसी र उत्साहित थिइन् आफ्नो भविष्यलाई लिएर। उनले कहिल्यै सोचेकी पनि थिइनन्, आफ्नै पतिले यातना देलान् भनेर।
तर, नसोचेकै कुरा भयो। बिहेको केही दिन नबित्दै अनितालाई पति मुकेशले शारीरिक यातना दिन सुरु गरे। उनी अर्कै महिलासँगको प्रेम सम्बन्धमा रहेको पनि अनिताले थाहा पाइन्।
पतिले थप दाइजो चाहियो भन्दै यातना दिए पनि उनले केही समय सहेरै बसिन् दाम्पत्य जीवन बचाउन सकिन्छ कि भनेर। तर, विस्तारै यातना बढ्दै गयो। कहिले हातखुट्टा बाँधेर कुटपिट गर्ने त कहिले सासु–ससुरासमेत मिलेर आगोले पोल्ने गर्न थाले।
सहनै नसक्ने भएपछि अनिताले सबै कुरा माइतमा बताइन्। अहिले उनी आफ्नै पतिविरुद्ध लडिरहेकी छन्। पतिलाई सजाय दिलाउनका लागि होइन, आफ्नो दाम्पत्य जीवन बचाउन। भन्छिन्, ‘श्रीमान् अर्कै महिलालाई लिएर फरार भएको कुरा मलाई थाहा छ तर पनि उनीसँगै बस्ने मेरो धोको छ।’ काखमा दुई वर्षे छोरो लिएर ठाउँ–ठाउँमा भौंतारिरहेकी छन्। अहिले उनी ओरेक नेपालको सेफहाउसमा शरण लिइरहेकी छन्।
अनिताको बिहे मुकेशसँग भएपछि केही दिन त सबै ठीकठाक नै थियो। बुबाले दाइजोमा मोटै रकम खर्च गरेका थिए। ज्वाइँलाई महँगो मोटरसाइकल पनि किनेर दिए। केही महिना ठिकै चल्यो। तर त्यसपछि सुरु भयो यातना दिने क्रम। ‘सुरुमा त दाइजो ल्याऊ अनिमात्रै घरमा बस्न दिन्छु भन्थे। पछि तिमीभन्दा सुन्दर केटीसँग बिहे गरिसकेको छु, तिमी जाऊ भन्दै घरबाटै निकाल्ने प्रयास गरे,’ अनिताले सुनाइन्।
पतिमात्र होइन, सासु–ससुरा समेतले हातखुट्टा बाँधेर मुखमा कपडा कोचेर कुटपिट गर्न थालेपपछि उनी न्याय माग्न गत असारमा इलाका प्रहरी कार्यालय बनौटा र जिल्ला प्रहरी कार्यालय महोत्तरी पुगिन्।
प्रहरीमा उजुरी दिएपछि जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यद्वय सुरिता साह र जानकी साहको उपस्थितिमा अबदेखि यातना नदिने र घरमै बस्ने गरी सहमति पनि भयो। सांसदद्वयको रोहबरमा ‘अबदेखि कुनै यातना नदिने, नागरिकता, विवाह दर्ता र बच्चाको जन्मदर्ता बनाइदिने’ लिखित सहमति नै भयो। तर, त्यो कार्यान्वयन भएन।
त्यो सहमति कागजमा गरिएको हस्ताक्षरको मसी सुक्न नपाउँदै तोडियो। त्यसपछि अनिता फेरि प्रहरीकोमा पुगिन् र उजुरी दिइन्। तर, त्यसको कुनै सुनवाइ भएको छैन। के भयो भनेर सोध्न जाँदा प्रहरीले हप्काएर पठाउने गरेको गुनासो उनको छ। ‘नागरिकता बनाइदिन भन्दा घरभित्रै बाँधेर कुटपिट भयो। सहमति कार्यान्वयनका लागि इलाका प्रहरी कार्यालय बनौटा र जिल्ला प्रहरी कार्यालय दुवै ठाउँमा उजुरी दिएँ तर कुनै सहयोग अहिलेसम्म पाएको छैन,’ अनिताले भनिन्।
अनिताका बुबा विष्णुदेवले पनि सहमति कार्यान्वयन र छोरीको जीवन रक्षाका लागि पटक–पटक बनौटा प्रहरी कार्यालयमा आग्रह गरे। त्यहाँका सई रविन्द्र सिंहले ‘अब यहाँ रहेर समस्या समाधान हुँदैन। मैले आफ्नो ग्यारेन्टीमा दुई साताअघि जनकपुर बस्न पठाइदिएँ’ भनेर फर्काइदिएको विष्णुदेवले बताए। जनकपुर भ्रमरपुरा चोक नजिक डेरामा राखेर दुई दिनपछि अनिताको सम्पूर्ण गरगहना र मोबाइलसमेत लिएर मनिष फरार भएको विष्णुदेवको भनाइ छ।
त्यसपछि अनिताले बुबालाई जनकपुर बोलाइन्। छोरीलाई लिएर विष्णुदेव पुनः बनौटा र जिल्ला प्रहरी कार्यालय पुगे। प्रहरीकोमा न्याय माग्न जाँदा उल्टै ‘जहाँ जानु छ जाऊ, म केही गर्न सक्दिन’ भनेर हप्काएको विष्णुदेवले सुनाए। भन्छन्, ‘कानुनको पालना गराउने र सुरक्षा दिने निकायले नै असहयोग गर्न थालेपछि अब कहाँ जाने ?’
अहिले अनितालाई अधिवक्ता रेखा दत्तको सहयोगमा सुरक्षाका लागि ओरेक नेपालको सेफहाउसमा राखिएको छ। इलाका प्रहरी कार्यालय बनौटाका प्रमुख सई रविन्द्र सिंह आफूले दुवै पक्षलाई पटक–पटक सहमति गराउने प्रयास गरेको बताउँछन्।
‘पछिल्लोपल्ट गत साउनमा एसपी साबकै उपस्थितिमा अबदेखि यातना नदिने भनी लिखित सहमति नै भयो। त्यो सहमति कार्यान्वयन गर्न प्रयास पनि गर्यौं, तर हुन सकेन। सासु–ससुराबाट टाढा बस्दा विवाद हुँदैन कि भनेर केटाकेटी दुवैलाई जनकपुर गएर बस्न लगायौं। तर दुई दिनपछि केटा नै त्यहाँबाट फरार भयो,’ सिंहले भने।