एजेन्सी- हालै शुरु भएको कोभिड १९ विरुद्धको खोप दिने प्रयोजनका लागि सहयोग गर्न अमेरिकाले सेना परिचालन गर्ने भएको छ।
पछिल्लो समयमा अमेरिकामा कोभिडका कारण ज्यान जाने नागरिकको संख्या दिन प्रतिदिन बढ्दै गएकोले यसको संक्रमणलाई कम गर्न खोप लगाउने कार्यक्रमलाई गति दिन थालिएको छ।
अमेरिकाको फेडरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सीले गरेको अनुरोधलाई त्यहाँको रक्षा मन्त्रालयले स्वीकार गरेको प्राप्त समाचारमा जनाइएको छ। अमेरिकी रक्षामन्त्री लियोद अस्टिनसँग उक्त फेडरल ब्युरोले सेनाको सहयोगका लागि अनुरोध गरेको र उनले यसलाई स्वीकार गरेको समाचारमा जनाइएको छ।
सो सहयोगअन्तर्गत अमेरिकी रक्षा मन्त्रालयले सो इमर्जेन्सी विभागका लागि एक हजार ११० जना सैनिक खटाउने भएको जानकारी गराइएको छ।अमेरिकी राष्ट्रपति जो बाइडेनले यही फेब्रुअरी १५ सम्ममा देशभर सबै नागरिकलाई आम रुपमा यो खोप दिने प्रयोजनका लागि कम्तीमा पनि १०० वटा खोप केन्द्रहरु सार्वजनिक स्थलहरुमा राखिने भएको छ।
यस प्रयोजनका लागि यहाँको सेनाले सैनिक चिकित्सकहरु र स्वास्थ्यकर्मीहरु खटाउने भएको अधिकारीहरुले जानकारी दिएका छन्।
ती अधिकारीहरुका अनुसार अमेरिकामा पछिल्लो समयमा कोभिड १९ का संक्रमितहरुको संख्या बढ्दै गएको र मृत्यु हुनेको संख्या पहिलेका तुलनामा झनै बढ्न थालेकाले यसका विरुद्धको खोप लगाउने प्रक्रियालाई थप गति दिनुपर्नेमा जोड दिइएको बताइएको छ। रासस