मंगलबार, चैत १०, २०८२

विकराल हुँदै उपल्लो डोल्पामा ‘हेपाटाइटिस बी’

नेपालकै ठूलो जिल्ला डोल्पा ! अधिकांश भू–भाग कडा चट्टान र हिमालले ढाकिएको क्षेत्रमा पर्छ। 
 |  बुधबार, माघ २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ २१, २०७७

जाजरकोट- नेपालकै ठूलो जिल्ला डोल्पा ! अधिकांश भू–भाग कडा चट्टान र हिमालले ढाकिएको क्षेत्रमा पर्छ। 

National life

उपल्लो डोल्पामा अहिलेसम्म टेलिफोन सेवादेखि सडक यातायातको पहुँच पुग्न पुगेको छैन। खासगरी तीनवटा स्थानीय तहमा स्वास्थ्य सेवा, टेलिफोन सेवादेखि खाद्यान्नको अभाव यहाँका बासिन्दाले भोग्दै आएका छन्।

उपल्लो डोल्पाले सबै परिवर्तनहरू टुलुटुलु हेर्दै बसेको छ तर आफ्नो ठाउँको प्रगति र विकासका विषयमा भने मौन छ। यहाँका बहुमूल्य जडीबुटीदेखि प्राचीनकालमा निर्मित गुम्बामा रहेका मूर्ति चोरको निशानामा पर्दै आएका छन्। 

उपल्लो डोल्पामा पाइने जडीबुटीले संसारका मानिसलाई ज्यान बचाउन काम लाग्छ तर यहाँकै मानिसलाई भने त्यो औषधि आफ्नै गाउँठाउँमा नपाउँदा अकालमै ज्यान जाने गरेको छ।

गर्भवती जाँचदेखि सुत्केरी हुँदासम्म समस्या पर्ने बित्तिकै लाखौँ रकममा हेलिकोप्टर चार्टर्ड गरेर देशका ठूला सहरमा गई धौधौ ज्यान बचाउनुपर्ने बाध्यता उपल्लो डोल्पाका सर्वसाधारणको छ। एक गाउँबाट अर्को गाउँमा जानका लागि दुई दिन पैदल हिँड्नुपर्ने बाध्यता रहँदै आएको पीडा गाउँलेहरु बताउँछन्।

Laxmi sunrise bank
kumari

अघिल्लो वर्ष डोल्पोबुद्ध गाउँपालिकामा ‘एक–एक पाइला नेपाल’ले गरेको बृहत् स्वास्थ्य शिविरमा परीक्षण गराउने ३४३ मध्ये ७० जनामा ‘हेपाटाइटिस बी’ पोजिटिभ देखिएको थियो। यस्तै, एक जनामा एचआईभी र तीन जनामा हेपाटाइटिस सी भेटिएको डा मेलिना हमालले बताइन्।

वीर अस्पतालका वरिष्ठ कलेजोरोग विशेषज्ञ डा सुधांशु केसीले शिविरमा जाँच गराएका ३० प्रतिशतमा ‘हेपाटाइटिस बी’ पोजिटिभ देखिनुले समस्या विकराल नै भएको जानकारी उतिबेला नै दिएका थिए। 

तिब्बतीयनसँगको हेलमेलका कारण यो रोग भित्रिएको बताउँदै बच्चा जन्मनेबित्तिकै लगाइने ‘हेपाटाइटिस बी’विरुद्धको खोप नलगाइनुले पनि प्रकोप बढ्दै गएको उनको भनाइ थियो।

‘हेपाटाइटिस बी’ सङ्क्रमितलाई रोगका विषयमा कुनै पनि जानकारी नभएको पाइएकाले न्यूनीकरणका लागि स्थानीय सरकारले जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने उनले जानकारी दिए। 

उपल्लो डोल्पाको धो, साल्दाङ, भिजेर, छार्का, फोक्सुन्डोलगायत गाउँमा यो रोगका मानिस रहेको उपचारमा संलग्न चिकित्सकले बताएका थिए। 

सोमबार मात्र छार्का ताङसोङ गाउँपालिका १ का ४५ वर्षीय कार्मा गुरुङ र टोक्कार गुरुङ गरी दुई जनालाई हेपाटाइटिस बीकै कारण थप उपचारका लागि हेलिकोप्टरबाट उद्धार गरी काठमाडौँं लगिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताए।  

हेलिकोप्टरबाट बिरामी लैजाँदा स्थानीयको पाँच लाखभन्दा बढी खर्च भएको छ। चिकित्सकले उपल्लो डोल्पामा हेपाटाइटिस बीबारेमा जानकारी दिँदादिँदै सरोकारवाला निकाय मौन हुँदा यहाँका नागरिक थप समस्यामा पर्ने निश्चित भएको डा मेलिना हमालले बताइन्।  

अघिल्लो वर्ष बृहत स्वास्थ्य शिविरका लागि शे–फोक्सुण्डो गाउँपालिकाले बजेट विनियोजन गरे पनि सो शिविर गर्न नसकेको प्रमुख प्रशासकीय अधिकृत विष्णु न्यौपानेले बताए। 

उनका अनुसार यो आर्थिक वर्षमा पनि २५ लाख शिविरका लागि छुट्याएको छ। अहिले हिमपात भएका कारण रोकिएको बताउँदै न्यौपानेले भने, ‘चैत महिनासम्म बृहत् शिविर राखेर उपचारका लागि काम थालिने छ, हेपाटाइटिसका विषयमा छलफल भइरहेको छ।’

त्यस्तै हेपटाइटिस बीबाट जोगिनका लागि डोल्पोबुद्ध गाउँपालिकाले आफ्नै लगानीमा दुईपटक खोप लगाउने काम भएको र अब तेस्रोपटक लगाउँदै गरेको प्रमुख प्रशासकीय अधिकृत गौतम पंगेनीले बताए।  गाउँपालिकाले वैशाखमा बृहत् स्वास्थ्य शिविर राख्नका लागि पहल सुरु गरेको अधिकृत पङ्गेनीले बताए। 

स्थानीय तहले हेपाटाइटिस बीविरुद्ध केही पहल गरे पनि प्रदेश र संघीय सरकारको तर्फबाट पहल नभएको जनप्रतिनिधिले गुनासो गरेका छन्। पाँच महिनाभन्दा लामो समयसम्म उपल्लो डोल्पाका बालबालिकाले कुनै खोपसमेत नपाउने गरेको जनप्रतिनिधिले नै बताएका छन्। 

छार्का ताङसोङ गाउँपालिकामा हेपाटाइटिस बीबाट जोगिनका लागि कुनै पनि बजेट व्यवस्थापन नगरेको र योजना पनि नभएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रकाश गिरीले जानकारी दिए। 

उनका अनुसार हेपाटाइटिस बी रहेको जानकारी भए पनि खास रोकथामका लागि पहल केही नभएको अवस्था छ। ‘हेपाटाइटिस बी’ रोगको विषयमा सर्वसाधारणलाई मात्रै होइन, स्वयंसेविकालाई पनि जानकारी छैन। 

यो कस्तो रोग हो ? यो रोग लागे के हुन्छ ? कसरी लाग्छ ? कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा थोरै मात्रै जानकारी भएको स्वयंसेविका याङ्की गुरुङको भनाइ छ। गाउँमा ‘हेपाटाइटिस बी’को अवस्था विकराल भएको जानकारी पाउँदापाउँदै पनि स्थानीय सरकारले कुनै पनि कार्यक्रम नगरेको उनले बताए।  

प्रत्येक वर्ष ‘हेपाटाइटिस बी’को सङ्क्रमण बढ्दै जाँदा स्थानीय सरकारले कुनै पनि कार्यक्रम नगरेको सर्वसाधारणको भनाइ छ। प्राणघातक रोगले गाउँ नै थला पर्ने अवस्थामा पुग्दासमेत न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम हुन नसकेको स्थानीयवासी बताउँछन्। बिरामी भएमा उपचारका लागि हेलिकोप्टर भाडामा लिएर अस्पतालसम्म पुग्नुपर्ने उपल्लो डोल्पाको बाध्यता छ। 

दिनप्रतिदिन ‘हेपाटाइटिस बी’को सङ्क्रमण बढ्दै जान थालेपछि उपल्लो डोल्पामा विभिन्न देशबाट आउने पर्यटकसमेत क्रसित हुन थालेका छन्। यो रोग फैलिएको जानकारी पाएपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा कमी आउन थालेको पर्यटन व्यवसायीको भनाइ छ। 
 

प्रकाशित: Feb 03, 2021| 05:41 बुधबार, माघ २१, २०७७
प्रतिक्रिया दिनुहोस्