काठमाडौं– राजस्व अनुसन्धान विभागले भेइकल एण्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम (भिसीटीएस) प्रणाली नमान्ने कम्पनीलाई जरिवाना गरेको छ।
विभागले अनुगमन गर्दा भिसीटीएस प्रणालीमा प्रविष्ट नगरी सञ्चालनमा रहेको कम्पनीलाई कारवाही गरेको हो। विभागले भिसीटिएस प्रणालीमा आबद्ध नभई सञ्चालनमा रहेका कम्पनीलाई २५ हजार रुपैयाँदेखि १० लाख रुपैयाँसम्म जरिवाना गरेको हो।
८५ व्यावसायिक फर्ममा अनुगमन गर्दा १९ वटाले आफ्नो प्रणालीमा प्रविष्ट नगरेको पाइएकाले सबैलाई कारवाही स्वरुप २४ लाख २५ हजार रुपैयाँ जरिवाना गरिएको विभागले जानकारी दिएको छ। विभागले ०७६ साउनदेखि भिसीटीएस प्रणाली कार्यान्वयनमा ल्याएको थियो।
सो अनुसार व्यवसाय गर्ने सबै व्यवसाय तथा फर्मले व्यावसायिक प्रयोजनका मालवस्तु ढुवानी गर्नुपूर्व ढुवानी गरिने मालवस्तु र सवारी साधनको संक्षिप्त विवरण विभागको भिसीटीएसमा अनिवार्य प्रबिष्ट गराई सक्कल कागजात साथमा राखेर सामान ओसारपसार गर्नुपर्थ्यो।
तर, त्यसरी गरेको नपाइएपछि विभागले बंगलामुखी स्टोर्सलाई १० लाख रुपैयाँ जरिवाना गरेको छ । त्यस्तै फर्मलाई २५ हजार रुपैयाँदेखि १ लाख रुपैयाँ सम्म जरिवाना गरेको विभागले जानकारी दिएको छ । सिस्टममा प्रविष्ट नगरी मालसामान ओसारपसार गर्दा राजस्व चुहावट ऐन २०५२ विपरित पाइएकाले सोही अनुसार कारवाही गरिएको विभागले जानकारी दिएको छ।