काठमडौं– गृहसचिव महेश्वर न्यौपाने र कानून सचिव ऋषि राजभण्डारीसहितको टोलीले वीर अस्पतालमा अनसन तथा उपचाररत गंगामाया अधिकारीको अवस्थाबारे जानकारी लिएको छ।
सचिवद्वयसहितको टोलीले वीर अस्पतालमा पुगेर उनको उपचार प्रबन्धबारे अस्पतालका अधिकारीसँग छलफल गरेको गृह मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए।
टोलीले गंगामायालाई स्वास्थ्यको ख्याल गरी अनसन तोड्न आग्रह गर्दै मागका विषयमा कानुनअनुसार आवश्यक कारबाहीका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको लामिछानेले जानकारी दिए।
टोलीमा काठमाडौंका प्रमखु जिल्ला अधिकारी कालिप्रसाद पराजुली र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीकोसमेत सहभागिता थियो।
द्वन्द्वका समयमा छोरा कृष्णप्रसाद अधिकारीको माओवादीद्वारा हत्या भएको भन्दै दोषीलाई कारबाहीको मागसहित उनी लामो समयदेखि अनशनरत छन्।
अनशनकै क्रममा स्वास्थ्य अवस्था गम्भीर भएपछि अहिले उनी उपचाररत छन्। उनका श्रीमान् नन्दप्रसाद अधिकारीको अनशनकै क्रममा निधन भइसकेको छ।