एजेन्सी- चीनको एक सुन खानीमा फसेका ११ जना कामदारको २ हप्तामा उद्धार गरिएको छ। जमिनभित्र ६ मिटरभन्दा मुनी फसिरहेका कामदारको उद्धार गरिएको हो।
उद्धार गरिएको भिडियोमा एक कामदारको आँखामा पट्टी बाँधेर उद्धार गरेको देखिन्छ। घामको प्रकाशले आँखामा असर गर्न सक्ने भएकाले पट्टी बाँधिएको थियो। खानीभित्र फसेका अन्य १० कामदारको पनि खोजी र उद्धार जारी छ।
शानदोङ प्रान्तको हुशान सुन खानीमा गत १० जनवरीमा एउटा विस्फोट भएपछि सुरुङमार्गको ढोका बन्द भएको थियो। त्यसपछि मजदुरहरु भित्रै थुनिएका थिए।
विस्फोटपछि त्यहाँ २२ कामदार थुनिएको बताइन्छ। जसमध्ये एकजनाको मृत्यु भइसकेको छ। त्यहाँ फसेका बाँकी १० जनाको अवस्था के छ भन्नेबारे केही जानकारी छैन।
एक कामदारलाई आज (आइतबार) बिहानै उद्धार गरिएको हो। उनलाई उद्धार गर्नासाथ अस्पताल भर्ना गरिएको छ। उनी निकै कमजोर रहेको उद्धारकर्ताहरुले बताएका छन्।
उनी ६०० मिटरभन्दा गहिराइमा थिए। उनीभन्दा माथि रहेका अन्य १० जनाको पनि उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये १ जना घाइते रहेको बताइएको छ। बाँकी कामदारहरु भने उद्धारकर्ताको सहयोगमा हिँडेरै अस्पताल गएका छन्।

बीबीसीबाट साभार गरिएकाे इन्फाेग्राफिक्स