काठमाडौं– नागरिक अगुवा देवेन्द्रराज पाण्डेको आत्ममन्थन ‘एक ज्यान दुई जुनी’ लोकार्पण भएको छ।
फाइनप्रिन्टले प्रकाशनमा ल्याएको कृति आइतबार भर्चुअल माध्यमबाट सार्वजनिक गरिएको हो।
पाण्डे इमानदार, निष्ठावान् र पारदर्शी चरित्रको व्यक्ति रहेको लेखक एवं विश्लेषक खगेन्द्र संग्रौलाले बताए।
‘सार्वजनिक जीवनमा प्रवेश गरेपछि उहाँ विभिन्न क्षेत्रमा आबद्ध हुनुभयो—दलीय राजनीति, मानवअधिकारको क्षेत्र, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, विकास विमर्श र नागरिक आन्दोलन आदिमा,’ संग्रौलाले भने, ‘पछि लोकतन्त्र, गणतन्त्र र संघीयताको आन्दोलनमा सडक संघर्षकै माध्यमबाट पनि संलग्न हुनुभयो।’
पाण्डे देशका जुनसुकै तह र तप्काका मानिसले आफ्नो हकअधिकार पाउनुपर्छ भनेर लड्ने व्यक्ति भएको संग्रौलाको भनाइ छ।
‘पाण्डे जति क्षेत्रमा संलग्न हुनुभयो, जहाँजहाँ उहाँले कर्म गर्नुभयो, सबै ठाउँमा छाप छाड्नुभएको छ,’ संग्रौलाले भने, ‘इतिहासका सबै पदचाप उहाँका कानमा गुन्जिएका छन्। आफ्नै जीवनलाई फर्केर हेर्दा आफैंले सुनेका पदचापहरूलाई शब्दमा रूपान्तरित गर्दै लेखिएको हो, यो पुस्तक।’
निष्काम कर्म गर्न रुचाउने पाण्डेले बाँचिरहेको समयको इतिहास पनि यो पुस्तक रहेको संग्रौलाले बताए ।
२०१७ सालपछिको ६० वर्ष सार्वजनिक जीवनमा अलग पहिचान बनाएका नागरिक अभियन्ता पाण्डेले पुस्तकमा आफ्नो कार्यकालमा निर्वाह गर्नुपरेका भूमिकालाई समेटेको लेखक एवं विश्लेषक झलक सुवेदीले बताए।
लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक हुँदा पनि राजनीति र अर्थतन्त्रले कोल्टे फेर्न नसकेकोले आफूलाई सधैं विरक्त लाग्ने लेखक पाण्डेले बताए।
‘त्यसपछि आफ्नै जीवनलाई मैले फर्केर हेरें, आखिर मैंले पनि जीवनमा के गरें त?’ उनले भने, ‘आफ्नै आत्मसमीक्षा गर्नुपर्छ भन्ने लाग्यो। त्यसैले यो पुस्तक रचना हुने आधार बन्यो।’
पुस्तकमा पाण्डेले आफ्नो व्यक्तिगत जीवनबारे एकदमै कम तर आफूले बाँचेको समय, आफूले गरेका काम, आफूले डोर्याएको नागरिक आन्दोलन आदिका विषयमा चर्चा गरेको प्रकाशक फाइनप्रिन्टका अजित बरालले बताए।
‘यो पुस्तक नेपाली समाज, राजनीति, इतिहास र अर्थतन्त्र चियाउने आँखीझ्याल हो,’ उनले भने।
कृति आत्मवृत्तान्त नभएर पाण्डेको सार्वजनिक जीवनका अनुभूतिहरूको सार भएको बताइएको छ।
दरबार, पञ्चायत, त्यति बेलाको निजामती प्रशासनका भित्रीबाहिरी पाटा पाइने यो कालखण्डमा पञ्चायती सत्ता सञ्चालनका उज्याला अँध्यारा पाटाका अनुभूति पुस्तकमा छन्।
पाण्डेले पुस्तकमा लोकतान्त्रिक समाजवादी, मानवअधिकारवादी र नागरिक आन्दोलनका अगुवाका रूपमा देखेभोगेको समाज र समयको चित्र उतारेका छन्।
पुस्तक मुलुकको विकास यात्रा, सुशासनका सर्त, दाताहरूसँगका सम्बन्धका जटिलता, छिमेक सम्बन्धका केही आयाम र राजनीतिका अनेकवली पात्रहरूका सम्बन्धमा एउटा तटस्थ मूल्याङ्कनको दस्तावेज भएको प्रकाशक फाइनप्रिन्टले जनाएको छ।
विकास अर्थशास्त्रका विद्यार्थी, निजामती कर्मचारी, राजनीतिक नेता र कार्यकर्ता तथा समकालीन नेपाललाई चियाउन पुस्तक उपयोगी हुने बताइएको छ।
पाण्डे काठमाडौंको मध्यमवर्गीय परिवारमा हुर्केका, पढेका र २०१७ सालमा अधिकृतको जागिरबाट सरकारी सेवामा प्रवेश गरेका हुन्।
त्यसको १८ वर्षमै अर्थमन्त्रालयको सचिव बनेपछि देशप्रतिको निष्ठा जोगाउन जनमतसङ्ग्रहका बेला राजीनामा दिएका थिए।
अर्थमन्त्रीसमेत भएका लेखक पाण्डेले २०१४ सालमा त्रिचन्द्र कलेजबाट बिए र २०१६ सालमा इलाहावाद विश्वविद्यालयबाट एमकम डिग्री हासिल गरेका छन्।
संयुक्त राज्य अमेरिकाको पिट्सवर्ग विश्वविद्यालयबाट २०२० सालमा आर्थिक विकास मुख्य विषय लिई सार्वजनिक र अन्तर्राष्ट्रिय सम्बन्धमा मास्टर्स डिग्री एवम् २०२५ सालमा सोही विश्वविद्यालयबाट सोही विषयमा पिएचडी गरेका छन्।