मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

ट्रेन्डिङ के हो, नाइँ मलाई था’ छैन : टीका प्रसाई

गायिका टीका प्रसाईले नेपाली गीतसंगीत क्षेत्रमा झन्डै दुई दशक लामो यात्रा गरेकी छन्। यो यात्रामा उनलाई चिनाउन सर्वाधिक सफल गीत भने ‘नाइँ मलाई था’छैन’, ‘माया लुकीलुकी’ जस्ता केही गीत हुन्।
 |  शनिबार, माघ १०, २०७७
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, माघ १०, २०७७

गायिका टीका प्रसाईले नेपाली गीतसंगीत क्षेत्रमा झन्डै दुई दशक लामो यात्रा गरेकी छन्। यो यात्रामा उनलाई चिनाउन सर्वाधिक सफल गीत भने ‘नाइँ मलाई था’छैन’, ‘माया लुकीलुकी’ जस्ता केही गीत हुन्।  

triton college

एकनारायण भण्डारीको शब्द र आशिष अविरलको संगीत रहेको ‘नाइँ मलाई था’ छैन’ आममानिसका लागि कतिपय प्रश्नको जवाफ बनिदिएको छ। सञ्जीव पराजुली र टीकाको स्वरको यो गीत युट्युबमा पाँच करोड १३ लाखभन्दा बढी पटक हेरिएको छ। योसँगै गायिका टीकालाई चिनाउन सफल अर्को गीत ‘माया लुकीलुकी’ हो। 

आनन्द अधिकारीको शब्द र आशिष अविरलको संगीत रहेको यो गीत नेपालमा ‘ननफिल्मी’ मा सर्वाधिक युट्युब भ्युज प्राप्त गर्न सफल भएको गीत हो। जसलाई १० करोडभन्दा बढी दर्शकले हेरिसकेका छन्। उनै गायिका टीका प्रसाईसँग संगीत क्षेत्रको समसामयिक चासोका विषयमा नेपाल समयका लागि रवीन्द्र सुवेदीले गरेको कुराकानी :

केही वर्षयता तपाईंका गीत हिट भइरहेका छन्, संयोग, भाग्य वा मेहनत केले होला?

तीनवटै कुरा भन्नुपर्छ जस्तो लाग्छ। म २०५८ सालदेखि गीतसंगीत क्षेत्रमा छु। तर चर्चाको यो अवस्थामा पुग्न झन्डै दुई दशक लाग्यो। त्यसैले भाग्य, संयोग र मेहनत तीनवटै कुरा हुन जस्तो लाग्छ।

Metro Mart
vianet

तपाईं बीचमा अलिक ओझेलमा पनि रहनु भयो, होइन?

म सबैजसो ‘ट्यालेन्ट सो’ मा सहभागी भएँ। केही सोमा विजयी भएँ। केहीमा सामान्य सफलता हासिल गरें र केहीमा असफल पनि भएँ। मैले नेपाली तारा, मायाको डोरी, तिम्रो सुर मेरो गीत जस्ता धेरै रियालिटी सोमा भाग लिएँ। ‘तिम्रो सुर, मेरो गीतमा त म विजेता बनेकी थिएँ। 

त्यसपछि चार जनाको एल्बम आयो जसमा मेरो गीत थियो शिरको टोपी बन्धकी राखेर भन्ने। त्यसपछि मैले फिल्ममा पनि निरन्तर गाइरहेकी छु। तर चर्चित कलाकारहरुको मात्रै बढी प्रचारप्रसार हुने भएकाले हामी ओझेलमा परेका हौं। यस बीचमा कलेक्सन एल्बम पनि गरिरहेको थिएँ। हायातलगायतका होटेलमा पनि गाएँ। यसबाट मेरो आर्थिक पक्ष सबल भयो भने रियाज पनि भइरह्यो।

तपाईंको माया लुकीलुकी १० करोड बढी र नाइँ मलाई थाहा छैन पाँच करोड बढीले युट्युबमा हेरेका छन्।  यी गीत धेरै मन पराइनुको कारण के होला?

सबै कुराको संयोग मिल्यो भने पनि हुँदो रैछ। तैपनि सबैभन्दा धेरै त मेहनत नै हो। स्रोतालाई मन पर्ने गीत संगीत भएकै कारणले होला। 

युट्युबमा १० करोड पटक हेरिंदा गायकगायिकाको खल्तीमा चाहिँ कति रुपैयाँ पर्छ?

यो कुरा म पछि खुसुक्क भन्छु (हाँस्दै)। पैसाले कसैलाई पनि पुग्दैन, तर म सन्तुष्ट नै छु। आफ्नो मेहनतको सिर्जनाबाट जति कमाइ भए पनि यसमा छुट्टै खुसी मिल्छ।

कलाकारिता क्षेत्रमा कति कमाइ हुन्छ होला भन्ने चासो धेरैको हुन्छ नि, हैन?

गीतमा कस्को स्वामित्व छ भन्ने कुरा पनि हुन्छ। ‘माया लुकीलुकी’ मेरो आफ्नै युट्युब च्यानलबाट प्रसारण भएकोेले यसको आम्दानी सन्तोषजनक छ। व्यावसायिक रुपमा अरु कसैको गीत गाउने कुरामा प्रचलित नियमअनुसार नै हो। धेरै चलेका गीतबाट धेरै पारिश्रमिक पाइन्छ भन्ने पनि होइन।

कोरोना महामारीको असर कत्तिको पर्‍यो?

गाउने तयारीमा रहेका केही गीतलाई समय दिन सकिएन। झापा गएका बेला उतै रोकिनुप¥यो। सार्वजनिक कार्यक्रम र स्टेज कार्यक्रम भइरहेका छैनन्। यसको त सीधै असर पर्‍यो नि।

अहिले युट्युब ट्रेन्डिङमा परेको गीतलाई हिट गीत भनिन्छ, ट्रेन्डिङमा पार्न थुप्रो डलर खर्च गर्ने प्रचलन पनि छ। तपाईंले यस्तो गर्नुपरेको छ कि छैन?

मलाई चाहिँ गीत हिट हुन ट्रेन्डिङमै पर्नुपर्छ भन्ने त लाग्दैन। धेरै भ्युज गएको गीत नै राम्रो हो भन्ने पनि होइन। ट्रेन्डिङ भन्ने शब्द मैले सुनेको धेरै पनि भएको छैन। ‘नाइँ मलाई थाहा छैन’ भन्ने गीत ट्रेन्डिङमा परेको रहेछ। त्यसपछि मात्रै मैले गीत ट्रेन्डिङमा पर्नु भनेको के रै’छ भन्ने थाहा पाएँ। ‘माया लुकिलुकी’ पनि ट्रेन्डिङमा परेको होइन। त्यो गीत मैले मेरै युट्युब च्यानलबाट हालेकाले केही दिनसम्म त भ्युज नै गएन। पछि एकाएक जान थाल्यो। अहिले थुप्रै दर्शकले मन पराएको गीत हो यो।

चार दिनसम्म कत्ति पनि भ्युज आएन तर, गीत राम्रो छ भन्नेमा म विश्वस्त थिएँ। चार दिनपछि एकै दिन चार लाख भ्युज गयो। मकैको फूल उठेजसरी भ्युज जान थालेपछि बल्ल मेरो डर हट्यो। गीत राम्रो भएकाले होला भ्युज जाने क्रम बढेकोबढ्यै भयो।

गीत राम्रो हुनका लागि सबैभन्दा महत्त्वपूर्ण पक्ष के रहेछ?

सबैभन्दा महत्त्वपूर्ण पक्ष शब्द नै हो भन्ने लाग्छ। शब्द राम्रो भएन भने जति राम्रो संगीत र स्वर भए पनि श्रोतालाई छुँदैन। शब्दपछि संगीत अनि स्वर। अहिले भिडियो पनि राम्रो हुनैपर्छ।

स्वरको भूमिका के हुन्छ?

पहिले हामीले पढ्थ्यौं– स्वर कस्तो हुनुपर्छ भनेर, स्वरमा ह्रास नआएको, ख्यार्र नपरेको, मेलोडियस यस्तै कुरा। तर अहिले ख्यार्र परेका स्वर पनि कतिपय संगीतका लागि निकै सुहाएको पाइन्छ र मिठो सुनिन्छ। गीतको फ्लेबरअनुसार, संगीतको फ्लेबरअनुसार स्वर म्याच गर्नुपर्छ। त्यसैले स्वरको भूमिका नहुने भन्ने त कुरै भएन। स्वरमा पनि गायकको विशेषता त हुन्छ नै। सबैभन्दा अगाडि सुनिने त स्वर नै हो। त्यसैले गायकीको महत्त्व धेरै नै छ। 

तपाईं यो क्षेत्रमा कसरी आउनुभयो?

मेरो परिवारका अन्य सदस्य पनि गाउने, नाच्ने बजाउने कुरामा अगाडि हुनुहुन्थ्यो। मेरो ममीले पनि गीत गाउनुहुन्थ्यो। ममीको ममीले पनि गाउनुहुन्थ्यो। हजुरबुवाले मिठो भाका हालेर श्लोकहरु सुनाउनुहुन्थ्यो। गाउँघरमा, विद्यालयमा हुने सांगीतिक कार्यक्रममा पनि भाग लिन्थें। त्यसैले ममा पनि यसकै लत बस्यो। 

अर्को प्रसंग पनि छ। मैले रेडियोमा गीत सुन्दासुन्दै गीतसंगीतलाई माया गर्न थालेकी हुँ। बाल्यकालमा मैले मेरो ममीलाई एकछिन घरमा नदेख्दा निराश भएकी थिएँ। त्यही बेला रेडियोमा एउटा गीतको आलाप बजिरहेको थियो। त्यो सुन्दा म पनि बहकिएकी थिएँ। पीडा बोल्ने आवाज कसरी आयो होला भन्ने लाग्यो। बुवालाई सोधें- यो रेडियोले कसरी गाउँछ भनेर? उहाँले रेडियोका पार्टपुर्जा देखाउँदै गाउने, बजाउने र समाचार पढ्नेहरु यिनै हुन् भनेर मेरो बालमस्तिष्कलाई सान्त्वना दिने काम गर्नुभयो। ठूलो हुँदै गएपछि मैले बुझ्दै गएँ। तर रेडियोमा सुनेको गीत, आवाजले प्रभावित पारिरह्यो। म संगीतमा यिनै कारणले लागेकी हुँ।

आगामी गीतको तयारी के छ?

गीत त रेकर्डिङ भइरहेका छन्। ‘कान्छा कान्छी’, ‘नसकिने भो’, ‘खुद्राखुद्री माया’, ‘टाढा नजाऊ न’, ‘माया लाऊँ कि नलाऊँ भो’ लगायत गीत तयारी अवस्थामा छन्। 

भिडियाे कुराकानी

प्रकाशित: Jan 23, 2021| 08:30 शनिबार, माघ १०, २०७७
प्रतिक्रिया दिनुहोस्