शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रमुख निर्वाचन आयुक्त थपलिया : कविता हराउँदा पाँच वर्ष रन्थनिएछन्

प्रमुख निर्वाचन आयुक्त थपलिया : कविता हराउँदा पाँच वर्ष रन्थनिएछन्

गीतकार थपलियाका आफ्नै गीतका कारण धर्मपत्नीको कठघरामा उभिनुपरेको किस्सा छ। दीपक शर्माको संगीत र स्वरूपराज आचार्य तथा अञ्जु पन्तको स्वरमा सजिएको गीत थियो त्यो– आफ्नै मान्छेबाट पाएँ चोट अनगिन्ती...
 |  शनिबार, माघ १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ १०, २०७७

‘विकट गाउँमा बसेर मेरो सुगम भविष्यको कामना गर्दागर्दै अचेल नातिको आलिसान जिन्दगीको याचनामा लागेका ‘मेरा बा’ को मुहार आँखाको नानीमा दुरुस्तै उभियो।’ विभिन्न जिम्मेवारीको कसीमा निखारिएका, अचेल निर्वाचन आयोगको प्रमुख आयुक्त तर रुचिका कवि, मर्जीका गीतकार दिनेश थपलियाले ‘बा’ को बयान रोकेनन्।

कवितामा उनले ‘हाम्रा बा’ लाई शब्दमा झन् झन् चुल्याउँदै लगे। र नजिक ल्याइरहे। दुरुस्त ‘बा’ लाई अगाडि उभ्याइदिए। 

हुन त जति अग्ल्याउन खोजे पनि हिमालभन्दा उँचो ‘बा’ हरूको उचाइ हामी नाप्न सक्दैनौं। सागरभन्दा फराक छातीको गहिराइ हामी आँक्न सक्दैनौं। सन्तानप्रति ‘बा’ को असली ‘फकिर’ कोभन्दा निःस्वार्थ सदीक्षा सायद हामी शब्दमा अलाप्नै सक्दैनौं। 

हरेक– एक बाले सन्तानका लागि ‘मरुभूमिमा उँटले झैं गरेको’ संघर्ष र त्यसको राप हामी छाम्नै सक्दैनौं। तर त्यही तापले त हामी हुर्किएका हौं, बचेरा जस्तै! 
कवि थपलियाको कविता औसत नेपाली ‘बा’ हरूलाई दुरुस्त अगाडि उभ्याउन सबल छ। 

उनको यो प्रकाशोन्मुख कविताले पढ्ने हरेक पाठकलाई आफ्ना ‘बा’को सग्लो अनुहार सामुन्ने उभिए झैं लाग्नेछ।

आफ्नो रंगहीन वर्तमान भोगेर, 
हत्केलामा सन्तानको रंगीन जोखाना हेर्दै 
आफू औसत जीवन बाँचेर 
सन्तानको सम्भ्रान्त अभिलाषा खोज्दै 
जीवनभर निधारमा फुलिरहने पसिनाको फूल हेरेर मख्ख 
सधैं सौम्य शान्त र सहिष्णु 
उस्तै एकाग्र, जीवन्त र प्रदीप्त
हाम्रा ‘बा’ । 

यसो भनौं यो ‘बा’ माथि लेखिएको बेजोड लेखोट हो। शब्दले बालाई गरिएको अनुपम अभिनन्दन पनि। 

जिन्दगीको म्याराथनमा जितेर पनि सधैं हारेका 
हाम्रा ‘बा’
जीवनभरिको दुःखको वर्णमाला बोकेर 
सुखद भविष्यको पाठ पढाउने ज्युँदो इतिहास 
हाम्रा ‘बा’ ।

पाठकको हातमा कहिले पर्ला त? 

हातमा संगालिरहेको साढे चार दर्जनभन्दा बढी कविता उनिएको पाण्डुलिपि देखाउँदै सर्जक थपलियाले भने, ‘अब केही कविता थप्छु, पहिले लेखेका केही कविता र हालसालै लेखेका केही मिसाउँछु। अनि पाठकसामु ल्याउने प्रयत्नमा छु।’

उनलाई एउटा संकोचले भने झस्काइरहन्छ। त्यो के भने विभिन्न अवस्था र परिवेशमा लेखेका यी कविता अहिले आफ्नो जिम्मेवारीमा बसेर प्रकाशन गर्दा अप्ठेरो त हुने होइन !? 

करिब दुई तिहाई बहुमतको सरकारले हठात् संसद् विघटन गरेपछिको असहज परिस्थितिको जिम्मेवारी उनको काँधमा छ। वैशाखमा घोषित निर्वाचनको तयारीका लागि भ्याइनभ्याई र धपेडी त छँदै छ।

दर्जनौं ‘हिट’ मात्र होइन, करोड क्लबमा परेका गीतका स्रष्टा यिनै थपलिया हुन्। 

उनले लेखेका पानी कुवाको, माछीले खाने खोलीको लेउ, मायालु तिमी कता छौ, दर्क्यो पानी दरर दरर, घरमा कोही नहुँदा, जताजता पिरतीको डोरो,

तिमीलाई देख्दा आई लभ यू आई लभ यू भन्न मन लाग्यो, अर्को जुनी खै कुन्नी, तिम्रै नामको सिन्दूर, पहिलो पल्ट भेट हुँदा, हेल्लो माया ब्युटिफुल, सोल्टिनी, कमेरोले पोतेको दुई तलाको घर, छेकेर माया छेकिन्न, म राजकुमार जस्ता गीत लाखौं दर्शक–श्रोताले हेरिरहेका छन्। 

५७ वर्षअघि संखुवासभाको खाँदवारीमा माता डम्बरकुमारी थपलिया र पिता लक्ष्मीप्रसाद थपलिया (स्वर्गीय) को छैटौं सन्तानका रुपमा जन्मिएका स्रष्टा, गीतकार तथा कुशल प्रशासक थपलियाको जीवनमा केही संयोग छन्, केही रमाइला किस्सा पनि। 

‘आज पनि म जन्मिएको गाउँ त्यति सहज र सुगम छैन, पाखा पखेरा र खेतका गह्राहरू उस्तै छन्,’ उनले भने, ‘विकासका नाममा अन्न फल्ने खेतमा प्लटिङ सुरु भएको छ। घाँसपात पलाउने भीरपाखामा डोजर छिरेको छ। जनताको जीवनस्तर खासै रहरलाग्दो छैन।’

युवा जति सहर पसेपछिको उजाड र बेरंगी गाउँलाई छामेर उनले ‘मेरो गाउँ’ कविता कोरेका छन्–

... पौरखी सन्तानले 
वृद्ध आश्रममा छोडेका आमाबुबा जस्तै 
निरीह र निहत्था भएछ मेरो गाउँ 
वसन्त नआएको बगैंचा जस्तै भएछ मेरो जन्मस्थान  
बचेरा उडेको गुँडजस्तै भएछ मेरो जन्मघर 
तस्करी हावा पसेछ मेरो ठाउँमा 
उराठलाग्दो शिशिर बसेछ मेरो गाउँमा 

यो कविता पूरै पढ्न पनि कृति प्रकाशनसम्म कुर्नैपर्नेछ। 

साहित्य सिर्जनामा कसरी डोरिए होलान्, थपलिया?

‘म मेरो कक्षाको सबैभन्दा कान्छो विद्यार्थी। एसएलसीसम्म पुग्दा कुनै पनि परीक्षामा कहिल्यै पनि दोस्रो पोजिसन भन्दा तल जानु परेन,’ उनले हिमालय माध्यमिक विद्यालय, खाँदबारीमा पढ्दाको समय सम्झिए, ‘प्रत्येक शुक्रबार विभिन्न क्रियाकलाप हुन्थे। सबैभन्दा बढी खेलकुदका कार्यक्रम हुन्थे। खेल्न कुद्नमा सफल नभएपछि म विद्यालयमा हुने सबै साहित्यिक गोष्ठी, हाजिरी जवाफ, हिज्जे र वक्तृत्वकलामा सहभागी हुन थालें।’

यस्ता कार्यक्रममा उनी पहिलो वा दोस्रो नभएको कुनै रचना वाचन कार्यक्रम हुँदैन थियो। स्कुल पढुन्जेल उनलाई चाहिने कापी, कलम, किताब तथा डिक्सनरी पुरस्कारबाटै पुग्थ्यो।

खेलकुदका कार्यक्रममा सधैं पछाडि पर्ने उनी साहित्यिक प्रतियोगितामा सहभागी भएर ‘जित्ने रहर’ ले सिर्जनामा डोरिए। 

रुचि बढ्दै गयो, सिर्जनामा रस बस्दै गयो। ०३६ मा एसएलसी पास गरेका थपलियाको पहिलो रचना त्यसअघि नै हिमालय मावि खाँदबारीको भित्तेपत्रिकामा छापिएको थियो। 

स्कुलमा चारवटा सदन थिए। एउटा सदनको भित्ते पत्रिकाको सम्पादन थपलियाले नै गर्थे। 

‘त्यही बेला केही कविता, लेख, निबन्ध र मुक्तक छापिएका हुन् तर शीर्षक बिर्सिएँ’, उनले भने। 

उनलाई सम्झना भएको प्रकाशित रचना ‘प्रतिबिम्ब’ पत्रिकामा ‘तिमी नभए’ शीर्षकमा छापियो। पहिलो रचना भएर पनि होला पछि थोरै चतुर्‍याइँ गरेर सर्जक थपलियाले त्यसलाई गीत बनाए, त्यसमा आवाज दिइन् गायिका माण्डवी त्रिपाठीले। उनको पहिलो गीति एल्बममा समावेश भएको यो गीतले भन्छ– 

तिमी नभए म पनि हुन्नँ, म नभए तिमी 
जिन्दगीको लामो यात्रा सँगै जाऊँ है हामी 

सुुरुसुरुमा जागरण गीत लेख्न रुचाउने थपलियाका त्यस्ता डेढ सयभन्दा बढी गीत रेकर्ड भइसकेका छन्। 

पछिल्लो समय आएर मात्रै उनले आधुनिक अर्थात् व्यावसायिक स्वादका गीत लेख्न सुरु गरेका हुन्। त्यस्ता गीत निकै चर्चा र रुचाइमा परेका छन्।

उनले लेखेका किशोरकिशोरी र युवावयको लय समात्ने खालका गीतले चर्चा र प्रशंसा मात्रै पायो होला कि कतै ‘विरोध’ पनि? 

‘ओहो! सही भन्नुभयो, एउटा गीतमा श्रीमतीजी नै ‘यस्तो के लेखेको’ भन्दै बरुक्क उफ्रिइन् नि,’ गीतकार थपलियाले गीत रिलिज भएपछिको किस्सा सुनाए। 

०६९ को सुरुवातकै कुरा हो, सरोज ओली र इन्दिरा जोशीको आवाजमा ‘तिमीलाई देखेपछि आई लभ यू आई लभ यू भन्न मन लाग्यो’ गीत सार्वजनिक भएको थियो। त्यसको दुई वर्षपछि धुर्मुस–सुन्तलीको अभिनयसहित युट्युबमा रिलिज भयो। 

यो गीत एकाएक हिट भयो। अहिले करिब साढे तीन करोडले हेरेको यो गीतका गीतकार थपलियाकी धर्मपत्नी सविता बस्नेत थपलियाले गीत सुन्नेबित्तिकै भनिन्– ‘यस्तो पनि के गीत लेख्नुभएको, लाजै मर्नु! यो उमेरमा कुनै पार्टीमा यो गीत बजेको बेला मैले पनि के आई लभ यू भन्न मन लाग्यो भनेर नाच्नु?’

सर्जक थपलिया खितिती हाँसी मात्र दिए। उनले जवाफ दिएनन्। मनमनै गुने ‘स्रष्टाले त हरेक उमेर, भूगोल र भावना पो समेट्न सक्नुपर्छ’, थपलियाले भने, ‘आखिर त्यो युवावय, त्यो परिवेश मैले पनि त भोगेर आएको छु नि!’

गीतकार थपलियाका रूपमा उनी अर्को गीतका कारण पनि धर्मपत्नीको कठघरामा उभिनुपरेको छ। दीपक शर्माको संगीत र स्वरुपराज आचार्य तथा अञ्जु पन्तको स्वरमा सजिएको गीत थियो त्यो–

आफ्नै मान्छेबाट पाएँ चोट अनगिन्ती
बरु मलाई ढुंगाजस्तो मुटु देऊ न बिन्ती

गीतको गाम्भीर्यले पत्नी थपलिया पनि सायद गम्भीर बनिन्।

‘होइन जवानीमा हजुर पनि निकै ‘डिप्ली’ लभमा पर्नुभएको थियो कि के हो?’ धर्मपत्नी सवितालाई उनले के जवाफ दिए कुन्नि! उनले भने, ‘म पनि त जीवनका अनेक परिवेश बाँच्दै आएको मान्छे हुँ नि।’ 

जीवन र समाजका सबै आरोहअवरोह नभोगेको मान्छे को होला र? घटी बढीको फरक मात्र त हो। 

माया, प्रेम, मिलन, बिछोड मात्र होइन, उनको गीतमा देशभक्तिपूर्ण भावना पनि उत्तिकै प्रखर भएको हुन्छ। उनको राष्ट्रिय गीतको एल्बममा समावेश स्वरुपराज आचार्यको स्वरमा रहेको गीत–

मित्रताको गीत गाउँदै तराई झर्छु म 
सद्भावको भाका हाल्दै पहाड चढ्छु म....
त्यस्तै राजेश पायल राईले स्वर दिएको 
म हुँ नेपाली, तिमी नेपाली, तिमी र म दुवै नेपाली 
वीरका हामी सन्तति, रगतमै छ देशभक्ति 
देशलाई माया गर्ने, देशकै निम्ति बाँच्ने मर्ने 
तिमी हामी सबै नेपाली ...

यसले राष्ट्रिय एकता र राष्ट्रप्रेमलाई उजागर गरेको छ। 

जसरी उनका आधुनिक गीत स्रष्टाहरुले गाउन रुचाउँछन् त्यसरी राष्ट्रिय गीत गाउन भने रुचि नदेखाएमा उनी दुःख व्यक्त गर्छन्। 

‘मसँग ४० वटा जति राष्ट्रिय गीत छन्। सबै त के सम्भव होला! १५ वटा जति गीत सार्वजनिक गर्न पाए धन्य हुने थिएँ,’ उनले आफ्नो चाहना सुनाए, ‘यस्ता गीतमा उत्पादकको रुचि हुँदैन, आफैं लगानीको जोहो गर्न सहज छैन।’ 

यति चर्चित, यति मिठा, युवा ढुकढुकीको लय टिपेर थपलिया कसरी र कहाँ लेख्छन् होला गीत? 

उनी कुनै योजना बनाएर गीत लेख्दैनन्। हिँड्दाहिँड्दै–बस्दाबस्दै। कुनै कार्यक्रममा सहभागी हुँदाहुँदै लेखिदिन्छन् गीत।

सर्जकको मन पनि एकतमासको 'वस्तु' हो भन्दा अतिशयोक्ति नहोला। अर्थात् साउनको आकाशजस्तो- कतिबेला कहाँनेर वर्षिन्छ, पत्तै नहुने। 

गीतकार थपलियाको मनमा पनि एकाएक गीत फुर्छ। ‘हिँड्दाहिँड्दै स्थायी फुर्छ, डायरीमा टिप्छु,’ उनले भने, ‘त्यति भए अन्तरा त पछि पनि लेख्न सकिने भो नि।’

उनको ‘मेरो देश इन्द्रेणी हो’ बोलको गीत कार्यक्रममा बस्दाबस्दै लेखिएको  हो। ‘दर्क्यो पानी दरर’ बजारमा हिँड्दाहिँड्दै ठूलो पानी परेपछि गाडी रोकेर बसेका बेला रचिएको हो।

गीतले व्यक्ति, परिवार, गाउँबस्ती र समाज तथा देशले देखे–भोगेका माया, प्रेम, मिलन–बिछोड, आँसु हाँसो, दुःखदर्द, विषय र घटना बोल्नुपर्ने उनको मान्यता छ। 

गीतमा उनी चर्चालाई ध्यान दिँदैनन्। भन्छन्, ‘गायन र संगीतमा सहज होस् भन्ने ध्यान त दिन्छु, त्यो भन्दा म गीतमा विविधता दिने प्रयत्न गर्छु।’ 

त्यसका लागि उनले गीतको परम्परागत स्थायी र अन्तराको शैली परिवर्तन गरिदिएका छन्। कतिपय गीतमा दुई लाइन स्थायी चार लाइन अन्तराको शैलीलाई परिवर्तनको प्रयास गरेका छन्। 

भन्छन्, ‘परम्पराको नाममा जडता र आधुनिकताका नाममा उच्छृंखलता दुवै प्रवृत्तिमा परिमार्जन आवश्यक छ। अब स्रष्टाहरुले मौलिकता र आधुनिकताको फ्युजन गराई पुस्ताहरुबीचको सन्तुलन खोज्नुपर्छ।’  

हुन त रचना गर्नेहरूले कोठामै बसेर कैयन् ग्रन्थ लेखेका छन्– लेखिरहेका होलान्। तर सर्जक थपलिया भूगोल, समय, परिवेश, अनुहार र अनुभवलाई सिर्जनामा उतार्न रुचाउने स्रष्टाका रुपमा देखिन्छन्। 

जीवनका बैंसालु सपना, अनेक रहर र संगत छोडेर उनी कलिलो उमेरमै ओभरसियर पदमा नियुक्त भएर जागिर खान मनाङ पुगे। त्यहाँ उनले ‘ओभरसियर’ शीर्षकको कविता रचे–

...नाङ्गो क्यानभासको अमूर्त चित्रलाई 
मूर्त आकृतिमा बदल्ने अठोट लिएको 
शीतको थोपा बटुलेर
निर्माणको घैला भर्ने संकल्प लिएको 
ओभरसियर ...!
यो विज्ञापन होइन बाध्यता हो 
यो विडम्बना होइन वास्तविकता हो 
बसेर थाक्नेहरु धेरै छन् 
ऊ थाकेरमात्र बस्छ 
स्वाभिमानी हातमा श्रमजीवी ठेला बोकेको 
ओभरसियर ...!

२०५० सालमा गीतकार थपलियाको बिहेबारीको टुंगो लाग्यो। उनी आउने जीवनसाथीको कल्पनामा सायद डुबे र लेखे- ‘तिम्रो प्रतीक्षामा’ शीर्षकको कविता।

आफ्नै मनको माटोमा सारेको छु एउटा गुलाब 
आफ्नै आँसुको पानी सिँचेर फुलाएको छु रातो फूल 
बसेको छु तिमीलाई दिन भनेर 
तिम्रो मिठो आगमनको प्रतीक्षामा...!

पर्वत जिल्लामा सीप विकास तालिम केन्द्रको प्रमुखको जिम्मेवारीमा हुँदा त्यहाँ देखेको छुवाछुतको परिदृश्यलाई कवितामा कैद गर्दै उनले लेखे–‘मान्छे मान्छे नै हुन्छ’ । 

द्वन्द्वकालमा जाजरकोटको प्रमुख जिल्ला अधिकारी हुँदा हतियार बोकेको मान्छे अन्धो हुन्छ, कहाँ पुगेर पड्काउँछ भर हुँदैन भन्ने आसयका लेखे ‘हतियार बोकेको मान्छे’ कविता।

हतियार बोकेको मान्छेको मन 
हतियार जस्तै निर्जीव हुन्छ 
हतियार बोकेको मान्छे 
हतियारभन्दा भयानक हुन्छ 

सन् २००० को मेमा तालिमको सिलसिलामा श्रीलंका पुग्दा उनले ‘मैले श्रीलंका देखें’ कविता लेखे।

स्वतन्त्रताका नाममा अराजकता र आतंक देखें
विखण्डको त्रासले सशंकित श्रीलंका देखें 
जे देखें त्यही लेखें,
जे लेखें त्यही देखें
जताततै घात आघात, विश्वासघात र शंकैशंका देखें
युद्ध, वार्ता र सम्झौताको द्वन्द्वमा गुज्रिरहेको श्रीलंका देखें...। 

थपलियामा बेजोड कवित्व भएको रहस्य त उनको कविता संग्रह प्रकाशित भएपछि मात्रै खुल्ने होला। तर संग्रह उनी आफ्नै बुँतामा प्रकाशित गर्ने योजनामा छन्। कुनै प्रकाशकलाई सुम्पिएर आत्मप्रचार गराउने पक्षमा छैनन्। 

यति मर्मस्पर्शी रचनाका सर्जक थपलियाका के सबै सिर्जना अब्बल हुन् त?

‘त्यस्तो दाबी म गर्दिनँ, मैले स्कुले जीवनदेखि कविता नै लेखें,’ उनले भने, ‘अहिले मसँग ०४१ देखि लेखिएका साढे चार दर्जनभन्दा बढी कविता छन्, चारपाँचवटा च्यातेर फालिदिएँ।’ 

त्यसो किन गरे उनले?

भने, ‘सायद त्यो उमेरको कारण पनि होला, म अलि अन्याय–अत्याचार नसहने र छिटो परिवर्तन खोज्ने खालको रहेछु, सायद! विद्रोही स्वभावको थिएँ क्यार। त्यति बेलाको परिवेश, संगत र बुझाइको परिणति पनि हुन सक्छ ‘यहाँ ज्वालामुखी फुट्नुपर्छ’, ‘बिदेसिएकाप्रति’ ‘त्यो दिन’ ‘म बरालिएको मान्छे’ जस्ता कविता मैले च्यातिदिएँ।’

बिदेसिएकाप्रति कविता उनले सहपाठी अब्बल दर्जाका साथी एसएलसी दिएर रिजल्ट पनि नपर्खंदै बिदेसिएको परिवेशलाई लिएर लेखेका थिए। 

उनका सहपाठी सूर्यकुमार राई, दुर्गाबहादुर राई, पुष्पराज भट्टराईहरू लाहुरिए। उनीहरूको एसएलसी नतिजा निकै राम्रो आयो। तर उनीहरू लाहुरमा परेड खेल्न थालिसकेका थिए। 

अनि उनले देशमै फर्कनुपर्छ, देशमै रगतपसिना बगाउनुपर्न भन्ने आसयमा त्यो कविता लेखेको स्मरण गरे। तर शब्द संयोजनका हिसाबले यी कविता प्रकाशन गर्नु उपयुक्त थिए। संशोधन गर्ने आँट उनले गरेनन्, च्यातिदिए।

आफूले नच्यातेका तर आफूसँग नभएका रचनाको छटपटी होला कि न होला? हरेक सर्जकजस्तै उनमा पनि यो छटपटी छ। उनको जीवनको एउटा संजोग जोडिएको छ। 

उनले एसएलसी पास गरेर काठमाडौं पढन् नआउन्जेल गाडी देखेका थिएनन्। 

न त बिजुली बलेको देखेका थिए। एकैपटक प्लेन चढेर काठमाडौं आए। त्यतिबेलाको अनुभूति उनी शब्दमा बयान गर्न मान्दैनन् वा सक्दैनन्।

‘यसलाई राम्ररी उतार्ने हो भने एउटा पुस्तक नै बन्न सक्छ,’ उनले भने। ०४१ सालमा उनी काठमाडौंबाट तुम्लिङटार जाने प्लेनमा चढेर घर गए। 

‘मौसम खराबीका कारण त्यो प्लेन तुम्लिङटार जान सकेन। विराटनगरमा अवतरण भयो,’ उनले सम्झिए, ‘त्यो रात म नेपाल वायु सेवा निगमको अतिथिका रुपमा विराटनगरकै दोभान होटेलमा बास बसें। मेरो झोला र झोलामा भएको केही कवितासँगै अन्य रचना भएको डायरी त्यतै छुट्यो, अहिलेजस्तो फोनको जमान थिएन, झोलासँगै मेरो कविता र रचना पनि हराए।’

झन्डै पाँच वर्षसम्म यो घटनाले उनको मानसपटल बिथोलिरह्यो। 

यसपटकको लकडाउनमा पनि उनले झन्डै एक सय बीस जति गीत र केही कविता लेखे। 

‘भुलबस एउटा कविता र पाँचवटा जति गीत खै कता परे कुन्नि थाहै भएन!’, उनले दुःखेसो पोखे, ‘थुप्रै पटक खोजे तर भेटिनँ।’ सर्जकका लागि सबैले रचना सुनिदिनुजति आनन्द र रचना हराउनु जति पीडा अरू के होला र?

‘ओहो! मनकै कुरा भन्नुभयो। एउटा रचना हराउँदा थप पाँचवटा रचना लेखुन्जेल पनि बिथोल्दो रहेछ। पोल्दो रहेछ,’ उनले आशा पोखे, ‘मेरा हराएका गीत र कविता अझै पनि भेटिन्छ कि।’

गीतकार थपलिया किन लेख्छन् गीत? 

उनले भने, ‘थोरै शब्दमा धेरै भन्न सकिने विधा हो गीत, केही वेदना केही उत्साह फैलाउने फाँट हो गीत र उच्चदेखि भुइँमान्छेसम्म पुग्ने माध्यम हो गीत।’

- yogihotline@gmail.com

प्रकाशित: Jan 23, 2021| 04:34 शनिबार, माघ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।