वुटवल– सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहले शनिबार गरेको बन्दको प्रभाव लुम्बिनी प्रदेशमा आंशिक रुपमा परेको छ।
विप्लव समूहले केन्द्रीय सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोलालगायतका बन्दीमा रहेका नेता कार्यकर्ता रिहाइको माग गर्दै बन्द आह्वान गरेको हो।
बन्दका कारण यस क्षेत्रमा लामो दुरीका सवारी साधन चलेका छैनन्। जसका कारण यात्रुहरू मर्कामा परेका छन्।
छोटो दुरीका सवारी साधन भने चलेका छन्। प्रदेशका राजमार्गहरूमा लामो दुरीको गाडी नचलेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।
प्रतिबन्धित पार्टीले बन्द आह्वान गरेकाले सडकमा बन्दकर्ता देखिएका छैनन्। लामो दुरीका सवारी साधन नचले पनि बजार भने खुल्ला छन्।