शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पूर्व कर्मचारीका छोरासँग क्याम्पसको जग्गा आफ्नो भएको फर्जी लालपूर्जा, क्वाटर खाली गर्न अटेरी 

पूर्व कर्मचारीका छोरासँग क्याम्पसको जग्गा आफ्नो भएको फर्जी लालपूर्जा, क्वाटर खाली गर्न अटेरी 

वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसको १५ धुर जग्गा व्यक्तिको नाममा नामसारी भएको रहस्य खुलेको छ। 
 |  शनिबार, माघ १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ १०, २०७७

पर्सा– वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसको १५ धुर जग्गा व्यक्तिको नाममा नामसारी भएको रहस्य खुलेको छ। 

ठाकुरराम बहुमुखी क्याम्पस शिक्षा संकायको क्वाटरमा बस्दै आएका पूर्व कर्मचारी स्व. रामउदय पाण्डेका छोरा राजकिशोर पाण्डेले फर्जी लालपूर्जा बनाई उक्त जग्गा आफ्नो भएको दाबी गर्दै आएका छन्। 

पोखराबाट सरुवा भई ०६० साल पुस ७ गते ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्जमा काम गर्दै अवकास प्राप्त भएर मृत्यु समेत भइसकेका स्व.पूर्व कर्मचारी रामउदय पाण्डेका छोरा राजकिशोरले अहिले बस्दै आएको क्वाटरको जग्गा आफ्नो भनेर क्वाटर खाली गर्न आनाकानी गर्दै आएका छन्। 

ठाकुरराम बहुमुखी क्याम्पस प्रशासनले पटक पटक क्वाटर खाली गर्न पत्रचार गर्दा समेत अटेरी गर्दै हाल आएर फर्जी लालपुर्जाकै आधारमा उनले उक्त जग्गा आफ्नो निजी सम्पत्ति भएको दाबी गर्दै आएका छन्। 

पाण्डेले ०६३ साल वैशाख १५ गते मालपोत कार्यालयबाट कि.नं. १६ र ४६ को १५ धुर जग्गा नामसारी गराएको देखिन्छ।  

क्याम्पसको जग्गा निजी व्यक्तिको नाममा कसरी नामसारी भयो भनेर क्याम्पसले मालपोत कार्यालयलाई च.नं. ४४४–०७६–७७ को पत्रबाट लिखित पत्राचार गरेर जवाफ माग्दा मालपोत कार्यालय पर्साले २०७७–०४–०८ गतेको च.नं. २०३ मार्फत ‘उक्त लालपुर्जामा उल्लेखित जग्गाको अभिलेख यस कार्यालयमा नरहेको’ भनेर लिखित जवाफ दिएको थियो। 

मालपोत कार्यालयलाई क्याम्पसले गरेको पत्राचारको आधारमा मालपोत कार्यालयको मुद्दा शाखाले समेत उक्त नामको जग्गा अभिलेखमा नदेखिएको भनेर लिखित जवाफ दिएको छ।

मोठ भिडाउने शाखाले माथि उल्लेखित विवरण कम्प्युटरमा अभिलेख देखिएन भनेर लिखित जवाफ फर्काएको छ। 

नापी शाखाबाट पनि फिल्डबुक निकाल्दा उक्त जग्गा कुनै व्यक्तिको नाममा नदेखिएको कारण पाण्डेले फर्जी लालपुर्जा तयार पारेको पुष्टि भएको क्याम्पस प्रशासनको भनाइ छ। 

लालपुर्जा जारी गर्ने कार्यालयले लिखित रुपमा जानकारी दिँदा यसबारे छानविन गर्न जिल्ला प्रशासन कार्यालय पर्सा निवेदन परेको छ। तर प्रशासनले कुनै  कारबाही प्रक्रिया अगाडि नबढाएको र  पाण्डेले पनि क्वाटर खाली नगरेको क्याम्पस सामान्य प्रशासन शाखा प्रमुख गीता कुमारी श्रेष्ठले जानकारी दिइन्। 

पाण्डेले कसरी कहाँबाट लालपुर्जा प्राप्त गरे भन्ने खोजीको विषय बनेको उनको भनाइ छ। फर्जी लालपुर्जा तयार गरेर पाण्डेले वडा कार्यालयको सिफारिसमा नेपाल विद्युत प्राद्यिकरणबाट बिजुली समेत जडान गरेका छन्। 

पाण्डेले कहिँ कतैबाट फर्जी लालपुर्जा तयार पारी आफ्नो जग्गा रहेको दाबी गर्दै जबरजस्ती क्वाटर खाली नगरेको उनले गुनासो गरिन्। 

क्वाटर खाली गर्न भन्दा उल्टै झपार्ने तथा घरमा समेत केही व्यक्तिलाई पठाई क्वाटर खाली गराउन किन लागिपरेको भन्दै धम्की समेत दिने गरेको उनको आरोप छ। 

क्वाटर खाली गराउनका लागि त्रिभुवन विश्व विद्यालयका नियमानुसार पहिला बिजुली काट्ने, त्यसबाट नमाने पेन्सन रोक्नका लागि विश्व विद्यालयमा पत्राचार गर्ने, त्यसपछि पनि अटेरी गरे प्रहरी लगाएर खाली गराउने निमानुसार कार्य गर्दा पनि पाण्डेले हालसम्म क्वाटर खाली नगरेको श्रेष्ठले बताइन्। 

पेन्सन रोक्नका लागि त्रिभुवन विश्व विद्यालयमा पत्राचार गर्दा पनि नरोकिएको र  काटिएको बिजुली पनि पुनः जडान गराएर पाण्डे जबरजस्ती उक्त क्वाटरमा बस्दै आएका छन्।

क्वाटर खाली गराउनका लागि श्रेष्ठलगायत क्याम्पस प्रमुख सहितको टोलीले पटक पटक प्रहरी समक्ष जाहेरी समेत गरे पनि पाण्डेको क्वाटर खाली नगरेको उनको भनाइ छ। 

पाण्डेका बुवा ०६० सालमा क्याम्पसमा कर्मचारीको रुपमा कार्यरत रहँदै ०६१ चैत २८ गते क्वाटरमा प्रवेश गरेका थिए। 

क्वाटरमा प्रवेश गर्दाको बखत उनीसँग गरिएको कागजातमा क्वाटर लगायत केही फर्निचर पनि दिइएको उल्लेखित कागज अहिले पनि क्याम्पससँग सुरक्षित छ। 

पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले क्याम्पसबाट आएको उजुरी लालपुर्जा छानविनबारे नभई क्वाटर खाली गराउन सुरक्षा प्रदान गरिदिनहुन भनेर आएको बताए। 

त्यसैले छानविन हुन नसकेको भन्दै उनले भने, ‘अब यो घटनामा फर्जी लालपुर्जा नै तयार पारिएको भनेर जानकारी आएकोले तत्काल छानविन प्रक्रियालाई अगाडि बढाइने छ।’ 
 

प्रकाशित: Jan 23, 2021| 03:15 शनिबार, माघ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।