काठमाडौं– कोरोना भाइरसविरुद्धको खोप भोलि (शनिबार) देखि सातै प्रदेशमा वितरण सुरु गर्ने स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले जनाएको छ।
हिजो बिहीबार भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोप हाल स्वास्थ्य सेवा विभाग टेकुमा भण्डारण गरिएको छ।
शुक्रबार प्रदेश र जिल्लागत स्वास्थ्यकर्मीको विवरण यकिन गरिएको र त्यसकै आधारमा शनिबारदेखि खोप वितरण गर्ने महाशाखाका प्रमुख भिमसिंह तिंकरीले बताए।
उनका अनुसार प्रदेशमा पठाइएको खोप जिल्लागत रुपमा वितरण हुनेछ र जिल्लाले तोकेको बुथबाट स्वास्थ्यकर्मीले लगाउनेछन्। ७ देखि १० दिनभित्र खोप अभियान सुरु गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्गर गौतमले जानकारी दिए।
पहिलो चरणमा कोभिडविरुद्ध खटिएका फ्रन्टलाइनर स्वास्थ्यकर्मी तथा सहयोगी कर्मचारीलाई दिइनेछ। ०७७ वटै जिल्लामा खोप केन्द्र तयार गर्ने र एउटा केन्द्रबाट एक दिनमा १२० देखि १२५ जनालाई खोप दिइने मन्त्रालयले जनाएको छ। खोप लगाइसकेपछि आधा घण्टा स्वास्थ्यकर्मीको निगरानीमा रहनुपर्नेछ।