काठमाडौं– राइडर (छोटो यात्रा) सेवा दिँदै आएको पठाओ प्रालिले राइडर तथा चालकलाई बिमा सुविधा दिने भएको छ। कम्पनीले राइड सेयरिङ तथा फुड डेलिभरी एपका ग्राहक र राइडर तथा चालकलाई बिमा सुविधा दिने भएको हो।
बिमा सुबिधा उपलब्ध गराउन पठाओले एभरेष्ट इन्स्योरेन्ससँग सम्झौता गरेको छ। सम्झौताअनुसार राइडको समयमा कुनै ग्राहक तथा राइडर वा चालकको दुर्घटनामा परी ज्यान गएमा वा अपांग भएमा बढीमा ५ लाख रुपैयाँसम्मको बिमा रकम प्राप्त गर्नेछन्।
साथै १ लाख रुपैयाँसम्मको दुर्घटना उपचार बिमा पनि पाउने पठाओले जानकारी दिएको छ। दुवै सेवा उपयोग गर्नका लागि सम्बन्धित व्यक्तिले दुर्घटना भएको ३० दिनभित्र बिमा कम्पनीको नियमअनुसार तोकिएको कागजातसहित निवेदन दिनुपर्ने हुन्छ।
पठाओले नेपालमा सन् २०१८ सेप्टेम्बरदेखि सेवा दिँदै आएको छ। उसको सेवा काठमाडौं उपत्यकाभित्र दुई र चार पाङ्ग्रे साधनमा उपलब्ध छ। पछिल्लो समय पठाओले फुड डेलिभरी सेवा पनि दिन थालेको छ।