स्नातक तहमा विद्यार्थीले बीबीए किन रोज्ने ?
बीबीए विश्वभर मान्यता प्राप्त कुशल व्यवस्थापक उत्पादन गर्ने विषय हो। रोजगारीको क्षेत्रमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न सक्ने गरी यसको पाठ्यक्रम निर्माण गरिएको छ। अन्तर्राष्ट्रिय स्तरको डिग्री स्वदेशमै लिन चाहने विद्यार्थीले बीबीए अध्ययन गर्नु उपयुक्त हुन्छ। यसको महत्व स्वदेशमा मात्र नभएर थप अध्ययन र कामको लागि विदेश जाँदा पनि उत्तिकै छ।
मुलुकमै बीबीए अध्ययनपछि अवसर केके छन् ?
रोजगारीका साथै आफ्नै व्यवसाय सञ्चालन गर्ने आँट, साहस योजना र जोखिम मोल्ने क्षमता बीबीएले दिन्छ। यसका फराकिला क्षेत्र छन्। रोजाइअनुसार जहाँ पनि काम गर्न सकिन्छ। बीबीएका उत्पादन अधिकांशचाहिँ वित्तीय क्षेत्रमा जान सक्छन्।
बीबीएका उत्पादन सहर केन्द्रित भए, ग्रामीण भू–भागमा गएर काम गरेनन् भन्ने गुनासो पनि सुनिन्छ नि?
यो स्वाभाविक हो। तुलनात्मक रुपमा रोजगारीको अवसर सहरमै बढी छन्। वित्तीय संस्था, विकासका कार्यक्रम सबै सहर केन्द्रित भएकोले स्वाभाविक रुपमा धेरै जनशक्ति सहरमा हुन्छन् नै। बीबीए पढेका धेरै जनशक्तिले ग्रामीण भेगमा गएर पनि रोजगारी र उद्यमशील काम गरिरहेका छन्।
हामीले विद्यार्थीलाई ग्रामीण भूभागको माग के हो? त्यहाँको विशेषता के छ? त्यसलाई बजारमा कसरी परिचित गराउन सकिन्छ भनेर पनि सिकाउने गरेका छौं। परम्परागत व्यावसायिक प्रणालीमा आधुनिकता थप्ने काम नै व्यवस्थापन शिक्षा पढेकाले गर्ने हो।
बीबीएको पाठ्यक्रम पर्याप्त छ कि केही परिमार्जनको आवश्यकता देख्नुभएको छ?
विद्यार्थीलाई समयसापेक्ष अगाडि बढाउन पाठ्यक्रमा केही परिवर्तन गर्नुपर्ने आवश्यकता छ। समाज सुहाउँदो पेसा व्यवसायलाई जोड्न सक्ने विषय पाठ्यक्रममा समावेश गर्दा अझै व्यावहारिक हुन्थ्यो।
नेपालको उद्यमी स्वदेशका साथै विदेशी बजारमा कसरी परिचित हुने भन्ने किसिमबाट पाठ्यक्रमलाई जोड्न सक्नुपर्छ। परीक्षा उत्तीर्णभन्दा बजारको मागअनुरुप सीप र दक्षता विकासमा जोड दिनुपर्छ। ज्ञान लिने मात्र होइन, त्यसलाई कसरी प्रयोगमा ल्याउन सकिन्छ भन्ने सिकाउन जरुरी छ।
स्वदेशीभन्दा विदेशी विश्वविद्यालयको सम्बन्धन लिएका कलेजको शुल्क महँगो हुने कारण के हो?
शुल्कभन्दा विद्यार्थीलाई पढ्ने, नतिजा ल्याउने, दक्षता विकास गर्ने विषय प्रमुख हुन्। गुणस्तरका हिसाबले नेपाली वा विदेशी सम्बन्धनमा चलेका कलेज फरक छैनन्। तर, सम्बन्धन लिँदा हुने प्रक्रियालगायत केही विषयले फरक पारेका होला।
मुख्य कुरा विश्वविद्यालयले तोकेको मापदण्डअनुसार कलेजले अध्यापन गराए÷गराएनन् त्यो हो। शैक्षिक गुणस्तर सुधार गर्न र विश्वविद्यालयको क्रियाकलापसँग प्रत्यक्ष जोडिने अवसर हुने हुँदा पनि नेपाली विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित कलेजको गुणस्तर अझ राम्रो हुन्छ। हाम्रा बीबीएका उत्पादन बेरोजगार हुनुपर्ने अवस्था पनि छैन।
पोखरा विश्वविद्यालयको सम्बन्धमा सञ्चालित प्लाटिनम कलेजले विद्यार्थीलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउन केके गरिरहेको छ?
प्लाटिनम योजनामा चल्ने संस्था हो। हामीले विद्यार्थीलाई के–के कुरा सिकाउने भनेर दुई वर्षकै कार्ययोजना तयार गर्ने गरेका छौं। विद्यार्थीको व्यक्तित्व विकासका लागि हामीले प्लाटिनम लिडरसिप एकेडेमीको मातहतमा लिडरसिप स्किल, कम्युनिकेसन स्किललगायतका स्किल सिकाएर उनीहरूको क्षमता, दक्षता अभिवृद्धि गर्छौं।
अर्को दुई वर्षमा भने विद्यार्थी मार्केटमा गएर के–के काममा फिट हुन सक्छन्। उसको क्षमता र रुचिको विषयलाई हेरेर रोजगार बजारमा योगदान गर्न सक्ने क्षमतावान् जनशक्ति उत्पादन गर्न हामी कटिबद्ध भएकाले पनि हामीले गुणस्तरीय शिक्षा दिन सकेको जस्तो लाग्छ।
प्लाटिनम कलेजका उत्पादनहरूले कस्ता क्षेत्रमा रोजगारी पाएका छन् ?
हाम्रो कलेजबाट बीबीएका आठ वटा ब्याच बजारमा गइसकेका छन्। हामी अहिले १२ औं ब्याचका विद्यार्थी भर्ना प्रक्रियामा छौं। प्लाटिनमबाट बीबीए उत्तीर्ण विद्यार्थीमध्ये करिब ४५ प्रतिशत विदेशमा उच्चशिक्षा र रोजगारीका लागि गएका छन्। ५५ प्रतिशत भने नेपालमै छन्।
यसमध्ये अघिकांश बैंक, वित्तीय संस्था, उद्योगमा काम गरिरहेका छन्। कोही आफ्नै उद्यमशील व्यवसाय गरिरहेका छन्।
पोखरा विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित प्लाटिनम कलेजलाई विद्यार्थीले किन रोज्ने ?
अध्ययनपछि रोजगार बजारमा आवश्यक पर्ने तालिम दिएर क्षमता विकास गर्ने गरेका छौं। प्लाटिनम लिडरसिप एकेडेमीमा विद्यार्थीले आफ्नो चाहनाअनुसारको क्षेत्रमा क्षमता प्रस्तुत गर्न सक्छन्। हामीले विद्यार्थीलाई उसको सीप र व्यक्तित्व विकाससँग जोड्ने गरेका छौं। पारिवारिक वातावरणमा गुणस्तरीय शिक्षासँगै विद्यार्थी केन्द्रित पढाइ गराएकै कारण आमअभिभावक र विद्यार्थीको विश्वास जित्न सफल भएका छौं।