काठमाडौ– सेयर बजारले दैनिक रेकर्ड राखिरहेको छ। साताको पहिलो कारोबार दिन आइतबार पनि सेयर बजार परिसूचक (नेप्से) ले नयाँ रेकर्ड कायम गरेको छ। यसदिन नेप्से २३१५ अंकमा अडिएको छ।
परिसूचक २८.४६ अंकले उकालो लागेर २३१५ अंकमा अडिएको छ, जुन हालसम्मकै बढी हो। आइतबार जलविद्युत् बाहेक सम्पूर्ण समूहगत परिसूचक उकालो लागेको छ।
पछिल्लो समय बजार उकालो लाग्नुपर्ने ठोस कारण नभए पनि उकालो लागिरहनु आश्चर्यजनक भएको बजार विश्लेषकहरु बताउँछन्। बैंकहरुले मार्जिन प्रकृतिको कर्जामा दिइने ब्याजदर कम गर्दा सो रकम सेयर बजारमा गएर बजार उकालो लागेको तर्क बजार विश्लेषकहरुको छ।
तर यही कारणले बजार बढेको हो भन्न नसकिने अवस्था रहेको नेपाल धितोपत्र बोर्ड बताउँछ। बोर्डका प्रवक्ता निरज गिरीले बजार उकालो लाग्ने कुनै कारण नहुँदा पनि निरन्तर रेकर्ड राख्नेगरी उकालो लागिरहेको र यसबारे बोर्डले पनि अध्ययन गरिरहेको बताए।
आइतबार २०८ कम्पनीको ६ अर्ब ३७ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। साल्ट ट्रेडिङ कर्पोरेशन, नारायणी डेभलपमेन्ट बैंक, गुराँस लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक र प्रभु लाइफ इन्स्योरेन्सको सेयर मूल्य बढेर सर्किट लागेको थियो।
यसदिन सबैभन्दा बढी गुमाउने कम्पनीहरुमा युनाइटेड फाइनान्स लिमिटेड, एभरेष्ट इन्स्योरेन्स कम्पनी प्रमोटर सेयर, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकलगायत ५० वटा कम्पनी छन्।