काठमाडौं– भारतमा पेट्रोलियम पाइपलाइन फोडेर डिजेल चोरी भएको पाइएको छ।
भारतको मोतिहारीदेखि नेपालको अमलेखगन्जसम्म आउने पेट्रोलियम पाइपलाइनमै जोडिएको पाइपलाइनमा पटना नजिकै प्वाल पारेर डिजेल चोरी भएको पाइएको हो।
पाइपलाइन फोडेर डिजेल चोरी भएको घटनाको भारतीय आयल कर्पोरेसन (आईओसी)ले अनुगमन पनि गरेको र अनुगमनबाट पाइपलाइन फोडेर डिजेल चोरी भएको पुष्टि भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
भारतदेखि नेपाल आउने पेट्रोलियम पाइपलाइनमै जोडिएको पाइपलाइनमा सो घटना भए पनि नेपालतर्फ क्षति नभएको नेपाल आयल निगमका अधिकारीहरुले बताएका छन्। मोेतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन प्रोजेक्ट प्रमुख भरत रेग्मीले नेपालले तेल आयातका लागि मिटर जडान गरेको स्थानबाट करिब सय किलोमिटर भारततर्फ सो घटना भएको बताए।
‘दुई–तीनअघिको घटना हो। आईओसीले अनुगमन गरेर पाइपलाइन निर्माण गरेर पुनः सञ्चानमा पनि आइसकेको छ,’ रेग्मीले भने। उनका अनुसार सो घटना मोतिहारीदेखि करिब सय किलोमिटर भारततर्फ भएको हो। मोतिहारीदेखि अमलेखगञ्जसम्मको पाइपलाइनको दूरी करिब ७० किलोमिटर छ।