विराटनगर– प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सरकार नालायक भएर अविश्वासको प्रस्ताव नआएको बताएका छन्। उनले भने, ‘सरकारले काम गर्न नसकेर, मुख्यमन्त्री अयोग्य भएर पनि आएको हैन।’
गलत नियत ढाकछोप गर्न र ठूलो भाग पाउने आशाले आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याइएको उनको जिकिर छ। प्रदेश भत्काउने चाहना भएकाहरुले ल्याएको अविश्वास प्रस्तावको सामना गर्न आफू तयार रहेको उनले बताए। मुख्यमन्त्री राईले भने, ‘अविश्वास प्रस्तावको सामना गरेर अघि बढ्छु।’
विराटनगरमा मंगलबार राष्ट्रिय बाल अधिकार परिषद्ले आयोजना गरेको प्रदेशस्तरीय कार्यक्रममा मुख्यमन्त्री राईले भने, ‘रातारात, हतारोमा अविश्वास प्रस्तावको प्रयास गरियो।’
पछिल्ला घटनाक्रमले अन्योल देखिए पनि अविश्वास प्रस्तावको सामना गरेर प्रदेश १ लाई अन्यथा हुन नदिने उनले दाबी गरे। संघीयतालाई संस्थागत गर्न आफू मुख्यमन्त्री भएर आएको उनले दाबी गरे। भने, ‘प्रदेशमा केही योगदान गर्न आएको हुँ।’
परिस्थिति चाँडै सङ्लिने उनको भनाइ थियो। जनताले चाहेको राजनीतिक स्थायित्वको चाहनालाई निरन्तर अघि बढाइने उनले बताए। मुख्यमन्त्री राईले भने, ‘कल्पना नगरेको परिस्थिति आइलागेको छ, सामना गर्छु।’
सरकारलाई घेराबन्दीमा पारेर देशलाई अस्थिरता र अराजकतामा धकेल्ने काम भएपछि प्रधानमन्त्री ताजा जनादेशमा जानुपरेको तर्क उनले गरे।