टीकापुर– कैलालीमा शीतलहर बढ्न थालेपछि टीकापुर ७ स्थित सत्ती कर्णाली सामुदायिक वनले ज्येष्ठ नागरिकलाई निःशुल्क दाउरा वितरण गर्न सुरु गरेको छ।
सामुदायिक वन समितिले सोमबारबाट ७५ वर्षदेखि माथिका ११२ घरपरिवारका ज्येष्ठ नागरिकलाई दाउरा वितरण गर्न लागको हो। प्रतिव्यक्ति दुई क्वीन्टलका दरले दाउरा उपलब्ध गराउन लागेको छ।
शीतलहरमा ज्येष्ठ नागरिकलाई सहज होस् भनेर दाउरा वितरण गरेको वनका अध्यक्ष धनसिंह साउदले बताए। ‘७५ वर्षदेखि माथिका ज्येष्ठ सदस्यहरुको सम्मान पनि हुने र चिसोबाट बचाउन घरपरिवारलाई पनि सजिलो हुने भएकाले निशुल्क दाउरा वितरण गर्ने कार्यक्रम ल्याएका हौँ’, उनेले भने, ‘अघिल्लो वर्ष चोकचोकमा दाउरा वितरण गरेका थियौँ र यस वर्ष पनि चोकचोकमा दाउरा उपलब्ध गराउदैछौँ । साथै ज्येष्ठ नागरिकको घरमै दाउरा पुर्याउन थालेका छौँ।’
दाउरा घरमै पाएपछि ज्येष्ठ नागरिक खुशी भएका छन् । ज्येष्ठ नागरिक गम्भीर सिंहले सामुदायिक वनले समस्या बुझेको बताए। ‘चिसो बढेको छ। यो समयमा वनले घरमै दाउरा ल्याइदियो’, उनले भने, ‘अब आगो तापेर बस्न पाइने भयो।’
एक हजार ४०० उपभोक्ता रहेको सो सामुदायिक वनले विभिन्न सामाजिक कार्य गर्दै आएको छ। विसं ०४८ मा स्थानीयले संरक्षण सुरु गरेपछि सामुदायिक वन विसं २०५१ मा दर्ता भएको हो। सत्ती वन ३०० हेक्टर क्षेत्रफलमा फैलिएको छ।