पर्सा- जनता समाजवादी पार्टी नेपाल केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयले मुलुकमा राजीतिक अस्थिताको वातावरण निर्माण गरेको आरोप लगाएका छन्।
जसपा पर्साले आज (सोमबार) वीरगञ्जमा अयोजना गरेको विरोध कार्यक्रममा अध्यक्ष यादवले प्रतिनिधिसभा विघटनपछि मुलुकमा राजनीतिक अस्थिता उत्पन्न गरेको तथा लोकतन्त्रलाई कमजोर पार्ने काम गरेको बताए।
यादवले दुवै छिमेकीसँग राष्ट्र हितका आधारमा सन्तुलित मैत्रीपूर्ण सम्बन्ध राख्न तथा समान व्यवहारका आधारमा कूटनीतिक सम्बन्ध विस्तार गर्न आवश्यक रहेको धारणा व्यक्त गरे। अध्यक्ष यादवले वर्तमान समस्या संवैधानिकभन्दा बढी राजनीतिक रहेकाले यसको समाधानको उपाय राजनीतिबाट नै खोजिनुपर्ने भनाइ राखे।
कार्यक्रममा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले राजनीतिक अस्थिरताले संघीय लोकतान्त्रिक गणतन्त्र मन नपराउने तत्वले सल्बलाउने मौका पाएको बताए।
उनले वर्तमान संविधानले नेपाली नागरिकलाई प्रदान गरेको मौलिक हकलाई हेर्न नचाहने र प्रतिगमनको पर्खाइमा रहेकाहरुलाई संसद विघटनको निर्णयले अवसर प्रदान गरेको जिकिर गरे।
जसपा पर्साका अध्यक्ष रामनरेश यादवका अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय कार्यकारिणी समितिका सदस्य लक्ष्मणलाल कर्णले नेकपाका नेताहरुको आन्तरिक झगडाले लोकतन्त्रलाई नै धरापमा पारेको आरोप लगाए। रासस