काठमाडौं– अभिनेत्री मनीषा कोइरालाले यो सरकार नेपालीकै हो त? भनी प्रश्न गरेकी छन्।
पृथ्वी जयन्ती मनाउन सोमबार दिउँसो सिंहदरबार अगाडि पुगेको समूहलाई प्रहरीले तितरबितर पार्न खोजेपछि मनीषाले सरकारको व्यवहारप्रति आपत्ति जनाएकी हुन्।
उनले भनेकी छन्, ‘मैंले आश गरेकी थिएँ की राष्ट्रिय एकताप्रतिको सामूहिक भावलाई सरकारले सम्मान गर्ने छ। तर उसको व्यवहार उल्टो देखियो।’
मनीषाले शान्तिपूर्ण तरिकाले पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउन भेला भएको समूह सामू पानीको फोहरा र टियर ग्याससहित प्रहरी पठाउने नेपालीकै सरकार कसरी हुन सक्छ? भनी प्रश्न उठाएकी छन्।
राष्ट्रिय एकता दिवसको दिन सरकारले देखाएको व्यवहार निन्दनीय भएको मनीषाले बताएकी छन्। ‘सरकार र राजनीतिक दलले भेला सभा गर्न पाउने, आम जनताले राष्ट्र निर्माताप्रति एक भई पृथ्वी जयन्ती मनाउन नपाउने?’ उनले भनेकी छन्।
मनीषाले आम नागरिकको भेला हुन पाउने मौलिक अधिकार खोसेर सरकार अधिनायकवादतर्फ उन्मुख भएको बताएकी छन्।
सोमबार सिंहदरबार पश्चिम गेटस्थित राजा पृथ्वीनारायण शाहको शालिक अगाडि पृथ्वी जयन्ती मनाउन उपस्थित भएको समूहलाई प्रहरीले तितरबितर पार्न खोजेको थियो।
सोही क्रममा सामान्य झडपसमेत भयो। उक्त समूहमा मनीषाको समेत उपस्थिति थियो।
सरकारले पृथ्वी जयन्तीको अवसरमा कुनै कार्यक्रम नगरे पनि नागरिकले स्वतःस्फुर्तरुपमा देशभर विभिन्न कार्यक्रम गरी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै छ।
सम्बन्धित समाचार
पृथ्वीको सालिकमुनि झडप (फोटो फिचर)