विराटनगर– मोरङको विराटनगर र उर्लाबारीबाट लागु औषध ब्राउन सुगर (खैरो हेरोइन) सहित चार जना कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ।
विराटनगरबाट एक जना भारतीय नागरिकसहित दुई युवा र उर्लाबारीबाट एक युवतीसहित दुई जना पक्राउ परेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए। उर्लाबारी नगरपालिका–६ मा रहेको होटल हेभन भ्यालीबाट मोरङको रतुवामाई नगरपालिका–१० का धजेन्द्र भट्टराई र मिक्लाजुङ गाउँपालिका–४ की २० वर्षीया कविता लिम्बू पक्राउ परेका छन्।
उनीहरुको साथबाट प्रहरीले १४ ग्राम ब्राउन सुगर फेला परेको छ। भारतको पानी ट्यांकीबाट नेपाल भित्रिएका उनीहरुको योजना नेपालका विभिन्न भागमा सप्लाइ गर्ने रहेको प्रहरीले जनाएको छ।
विराटनगर महानगरपालिका–१० शान्ति चोकबाट प्रहरीले ब्राउन सुगरसहित दुई युवालाई नियन्त्रणमा लिएको छ। एक जना भारतीय नागरिक हुन्। लागु औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–६ का २२ वर्षीय धमेन्द्र रजक र भारत अररीयाका २२ वर्षीय मोहम्द अफरोजलाई पक्राउ गरेको हो।
पक्राउ परेकाहरुको साथबाट चार ग्राम पाँच सय ९० मिलिग्राम ब्राउन सुगर बरामद भएको एसपी खड्काले बताए। उनीहरुले भारतको जोगवनीबाट ब्राउन सुगर लिएर आएको खुलेको छ। पैदल नै रहेका उनीहरुले कसैलाई बिक्री गर्न खोज्दै गर्दा पक्राउ गरिएको प्रहरीको भनाइ छ।
यसैबीच मोरङको रतुवामाईको अलग अलग स्थानबाट प्रहरीले लागु औषध गाँजासहित दुई जना वृद्ध पुरुषलाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले दुवै जनालाई घरैबाट नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा रतुवामाई नगरपालिका–३ का ७३ वर्षीय प्रेमकुमार श्रेष्ठ र रतुवामाई–५ का ६५ वर्षीय देवीप्रसाद सिलवाल रहेका छन्।