काठमाडौं- पूर्व सभामुख दमननाथ ढुंगानाले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम वर्तमान परिवर्तनका विरुद्धकाे रहेको बताए।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्व सभामुख ढुंगानाले ओलीले संविधानमा विघटनको व्यवस्था छैन भन्ने बुझेर पनि बल मिच्याई गरेको आरोप लगाए। उनले यो संविधानले राम्रो व्यवस्था होइन तानाशाह नै पो जन्माएको हो कि भन्ने आशंका आम रुपमा उठ्ने भन्दै यसको निरुपण हुनुपर्ने बताए।
ढुंगानाले न्यायालयले कमजोरी गर्न नहुने भन्दै न्यायालयमाथि नागरिकले प्रश्न उठाउने अवस्था नआओस् भन्ने कामना गरे।
उनले भने, ‘अदालतको पनि जवाफदेहिता छ। सडकबाटै भोलि न्यायाधीश तान्ने दिने आउला। फिलिपिन्समा त्यस्तो भएको छ। बलिदानी प्रम भएको देशमा ज्ञानी न्यायाधीश छन्। यदि अहिलेको कदम सच्चिएन भने संविधान खारेज हुन्छ।’
उनले नागरिक चनाखो हुनुपर्ने बेला आएको बताए। ‘एकदिनको मात्रै कदम होइन विघटन हुने कुरो। सांसद नै चनाखो हुनुपर्ने उनीहरुलाई केही थाहा भएनछ। प्रधानमन्त्री भलादमी छन् भनेर चुप लागेर बसेछन्। प्रतिनिधिसभाका हरेक सदस्य अहिलेको कदममा जिम्मेवार हुनुपर्ने हुन्छ।’
उनले राष्ट्रियसभाको अधिवेशन पनि नाटकीय रुपमा अन्त्य भएको टिप्पणी गरे। ‘हिजो नाटकीय हिसाबले राष्ट्रियसभाको अधिवेशन बन्द गरिदिनुभयो। यो भनेको सबैलाई सडकमा जाउ भनेको होइन त एउटा विघटन गर्ने अर्को बन्द गर्ने यो भनेको त सरकारले नै अराजकता ल्याउन खोजेको हो।’