हलमा गएर फिल्म हेर्नेका लागि सन् २०२० निकै खराब वर्ष सावित भयो। अधिकांश फिल्म रिलिज त भए तर ओटीटी प्लाटफर्ममा। यसबाट न फिल्मले सोचेजति व्यापार गरे, न त दर्शकले भरपूर मनोरञ्जन गर्न पाए। त्यसैले फिल्म उद्योगले निकै घाटा सहनुपर्यो।
सन् २०२१ मा भने बलिउड फिल्म उद्योग निकै आशावादी छ। कारण– भारतमा कोभिड–१९ को खोप लगाउने तयारी हुँदै छ। त्यसैले बन्द बलिउड उद्योग चलायमान हुने अपेक्षा गरिएको छ।
यस वर्ष गत वर्ष रिलिज नभएका फिल्म रिलिज हुनेछन्। साथै यस वर्ष केही ठूला फिल्मसमेत बनिरहेका छन्। यस्तै सन् २०२१ मा केही चर्चित कलाकारका फिल्म पनि रिलिज हुँदै छन्। त्यसैले भारतीय फिल्म उद्योग यस वर्ष निकै आशावादी छ।
सलमान खानका तीन फिल्म
सन् २०२१ मा सलमान खानका तीन फिल्म रिलिज हुनेछन्। उनको फिल्म ‘राधे’ २०२० को इदमा रिलिज गर्ने तयारी थियो। कोभिड–१९ का कारण रिलिज हुन सकेन। त्यसैले यो फिल्म सन् २०२१ को इदमा रिलिज गर्ने तयारी गरिएको छ।
उनका ‘अन्तिम’ र ‘कभी इद कभी दिवाली’ पनि रिलिज हुनेछन्। सलमानको फिल्म ‘वान्टेड’ मा उनको भूमिकाको नाम राधे थियो। जसको निर्देशन प्रभु देवाले गरेका थिए। ‘राधे’ को निर्देशन पनि प्रभु देवाले नै गरेका हुन्। सलमानसँगै यो फिल्ममा रणदीप हुड्डा र दिशा पटानी देखिनेछन्।
फिल्म ‘अन्तिम’ मा सलमानसँगै उनका भिनाजु आयुष शर्मा देखिनेछन्। फिल्मको निर्देशन महेश मान्जरेकरले गरेका हुन्। सलमानको तेस्रो फिल्म ‘कभी इद, कभी दिवाली’ को निर्देशन साजिद सामजीले गरिरहेका छन्।
रणवीर सिंह सर्कसदेखि मैदानसम्म
रणवीर सिंहका पनि तीनवटा फिल्म रिलिज हुनेछन्। पहिलो फिल्म हो– ‘८३’। यो फिल्म सन् १९८३ मा क्रिकेट वर्ल्ड कपमा भारतको जितमाथिको विषयवस्तुमा आधारित छ।
रणवीरले तत्कालीन कप्तान कपिल देवको भूमिका निर्वाह गर्नेछन्। फिल्ममा रणवीरका साथै दीपिका पादुकोण, पंकज त्रिपाठी, ताहिर राज भसिन मुख्य भूमिकामा छन्। यसको निर्देशन कवीर खानले गरेका हुन्।
यस वर्ष रणवीरका अन्य दुई फिल्म ‘जयेश भाइ जोरदार’ र ‘सर्कस’ रिलिज हुनेछन्। ‘सर्कस’ को निर्देशन रोहित सेट्टीले गरेका हुन्।
फिल्म ‘जयेश भाइ जोरदार’ को निर्माण यशराज फिल्म्सले गरेको हो। यो फिल्म सन् २०२० मै रिलिज हुने तयारीमा थियो। तर कोरोना भाइरसका कारण हल बन्द हुँदा रिलिज हुन सकेन।
अक्षयका ६ वटा फिल्म तयार
सन् २०२१ मा अक्षयका ६ फिल्म रिलिज हुँदै छन्। पहिलो फिल्म हो, ‘सूर्यवंशी’। फिल्म सन् २०२० मै रिलिज गर्ने तयारी थियो। यसका साथै अक्षयका ‘रक्षाबन्धन’, ‘बेलबटम’, ‘अन्तरंगी’ र ‘बच्चन पाण्डेय’ रिलिजको तयारीमा छ।
आमिर खानको ‘लाल सिंह चड्डा’
दुई वर्षमा एउटा फिल्ममा अभिनय गर्ने आमिर खानको यस वर्ष ‘लाल सिंह चड्डा’ रिलिज हुनेछ।
फिल्ममा आमिरसँगै करिना कपुर, विजय सेठी र मोना सिंह मुख्य भूमिकामा छन्। यो फिल्मको निर्देशन अद्वैत चन्दनले गरिरहेका छन्। उनले यसअघि ‘सेक्रेट सुपरस्टार’ बनाएका थिए।
बन्टी और बबली–२
अभिनेता सैफ अली खानका दुई ठूला फिल्म ‘बन्टी और बबली–२’ र ‘भूत पुलिस’ रिलिज हुनेछन्। बन्टी और बबली–२ सन् २००५ मा रिलिज भएको सुपरहिट फिल्म ‘बन्टी और बबली’ को सिक्वेल हो।
फिल्ममा सैफ अलीसँगै रानी मुखर्जी, सिद्धार्थ चतुर्वेदी देखिनेछन्। फिल्मको निर्देशन नवनिर्देशक वरुण वी शर्माले गरेका हुन्।
अजय देवगनका तीन ठूला फिल्म
सन् २०२१ मा अभिनेता अजय देवगनका पनि तीन ठूला फिल्म रिलिज हुनेछन्। पहिलो फिल्म हो– ‘भुज–द प्राइड अफ इन्डिया’। यो फिल्म थिएटरमा नभएर ओटीटीमा रिलिज हुनेछ।
उनको दोस्रो फिल्म हो ‘मैदान’। यो फिल्म थिएटरमा रिलिज हुनेछ। फिल्मको निर्देशन अनिल शर्माले गरेका हुन्। यो भारतीय राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक सईद अब्दुल रहिमाको बायोपिक (जीवनी) मा आधारित फिल्म हो।
उनको तेस्रो फिल्म हो ‘आरआरआर’। यो फिल्मको निर्देशन एसएस राजामौलीले गरेका छन्। फिल्ममा अजय देवगन भारतीय स्वतन्त्रता सेनानीको भूमिकामा देखिनेछन्।
पहिलो पटक पर्दामा देखिँदै आलिया र रणवीरको जोडी
अभिनेता रणवीर कपुरको पछिल्लो फिल्म ‘सन्जु’ सन् २०१८ मा रिलिज भएको थियो। यस वर्ष रणवीरका तीन फिल्म रिलिज हुनेछन्।
उनको पहिलो फिल्म हो ‘ब्रह्मास्त्र’। ‘ब्रह्मास्त्र’ धर्मा प्रोडक्सनको फिल्म हो। यसको निर्देशन अयान मुखर्जीले गरेका छन्। यो रणवीर र आलिया भट्ट अभिनित पहिलो फिल्म हो।
अर्को फिल्म यशराज फिल्म्सको ब्यानरमा बनेको ‘शमशेर’। रणवीरको तेस्रो फिल्मलाई लव रन्जनले निर्देशन गरिरहेका छन्। फिल्ममा रणवीर र श्रद्धा कपुर देखिनेछन्। फिल्मको शीर्षक भने तय भइसकेको छैन।
एसएस राजौलीसँग देखिनेछिन् आलिया
सन् २०२० आलिया भट्टका लागि पनि सुखद् रहेन। तर सन् २०२१ मा आलियाका तीन ठूला फिल्म रिलिज हुँदै छन्। ती फिल्म हुन्– ‘ब्रह्मास्त्र’, सञ्जय लीला भन्सालीको ‘गंगुबाई काठियावाडी’ र ‘आरआरआर’।
‘आरआरआर’ मा आलिया भट्ट, जुनियर एनटीआर, राम चरण, आलिभिया मासिर र अजय देवगनको अभिनय छ। फिल्मको निर्देशन साउथ फिल्मका चर्चित निर्देशक एसएस राजामौलीले गरेका छन्।
‘आरआरआर’ भारतका दुई स्वतन्त्रता सेनानी सीताराम राजू र कोमाराम भीको जीवनीमा आधारित छ।
केजीएफ च्याप्टर २ र तूफान पनि हुनेछन् रिलिज
सन् २०१८ मा आएको अभिनेता यश स्टारर केजीएफ च्याप्टर २ र बाहुबली २ पछि बहुप्रतीक्षित फिल्म हो ‘पैन इन्डिया।’ फिल्म च्याप्टर १ हिट भएको थियो। सोही कारण च्याप्टर २ सँग पनि ठूलो आशा राखिएको छ। च्याप्टर २ मा सञ्जय दत्तसमेत देखिनेछन्।
अभिनेता र निर्देशन फरहान अख्तरको फिल्म ‘तूफान’ पनि रिलिज हुने सूचीमा छ। एक्सेल इन्टरटेनमेन्टको निर्माणमा बनेको ‘तूफान’ मा फरहान अख्तर बक्सरको भूमिकामा देखिनेछन्।
फिल्म ‘भाग मिल्खा भाग’ पछि फरहान अख्तर र राकेश ओम प्रकाश मेहरा फेरि पर्दामा देखिनेछन्। यो फिल्मको निर्देशन राकेश ओम प्रकाश मेहराले गरेका हुन्।
सिक्वेलमा देखिनेछन् टाइगर र कार्तिक
अभिनेता टाइगर श्राफ र कार्तिक आर्यन सन् २०२१ मा तीन ठूला फिल्ममा देखिनेछन्। जसमा टाइगर श्राफका दुई फिल्म ‘हिरोपन्थी २ र ‘बाघी ४’ सिक्वेल हुन् भने तेस्रो फिल्म ‘गणपत’ हो।
यस्तै कार्तिक आर्यनको फिल्म ‘भूल भुलैया २,’ र ‘दोस्ताना २’ सिक्वेल हुन्। पहिलो भूलभुलैयामा अक्षयकुमारको अभिनय थियो। दोस्तानामा अभिषेक बच्चन र जोन अब्राहम देखिएका थिए। दोस्तानाको सिक्वेलमा कार्तिक आर्यनसँगसँग जान्हवी कपूर देखिनेछिन्।
यस्तै भूलभुलैया २ मा कार्तिकसँग तब्बू र कियरा आडवाणी देखिनेछन्। कार्तिक आर्यनको तेस्रो फिल्म हो ‘धमाका’।
कटरिना, दीपिका, तापसी र कंगनाको फिल्म पनि रिलिजको सूचीमा
अभिनेत्री कटरिना कैफको फिल्म ‘फोन भूत’ रिलिज हुँदै छ। दीपिका पादुकोण शकुन बत्राको फिल्ममा देखिनेछन्। यो फिल्मको शीर्षक तय भएको छैन।
दुवै अभिनेत्रीको फिल्मका हिरो भने सिद्धान्त चतुवेर्दी रहनेछन्। अभिनेत्री कंगना रनौत फिल्म ‘तेजस’मा देखिनेछिन्।
अभिनेत्री तापसी पन्नूको फिल्म ‘रश्मि रकेट’ पनि रिलिजको सूचीमा छ।
अभिनेता आयुषमान खुराना एकपकट फेरि निर्देशक अनुभव सिन्हासँग काम गर्दैछन्। उनको फिल्मको नाम हो ‘अनेक’। यसअघि उनीहरुले ‘आर्टिकल १५’ मा सँगै काम गरेका थिए।
आयुषमानको दोस्रो फिल्म हो ‘चन्डीगढ गरे आशिकी’। फिल्ममा उनको साथमा देखिनेछिन् अभिनेत्री वाणी कपूर।
अभिनेता राजकुमार रावको फिल्म ‘बधाई दो’ पनि यो वर्ष रिलिज हुनेछ। यो फिल्म आयुषमान खुरानाको फिल्म ‘बधाई हो’ को फ्रेन्चाइजी हो।
अमिताभको ‘सरदार उधम’
अभिनेता विक्की कौशलको बहुचर्चित फिल्म ‘सरदार उधम’ पनि यस वर्ष रिलिज हुनेछ। फिल्मको निर्देशन सुजित सरकारले गरेका छन्।
अभिताभ बच्चनको फिल्म ‘चेहरे’ पनि रिलिज हुनेछ। सन् २०२० मै रिलिज हुने भनिएको यो फिल्म अभिनेत्री रिया चक्रवर्तीको विवादका कारण रिलिज हुन सकेको थिएन।
आउने छैनन् शाहरुखका फिल्म
ठूला कलाकारका तीनदेखि ६ वटासम्म फिल्म रिलिज भए पनि वर्ष सन् २०२१ मा किङ खान (शाहरुख खान) का फिल्म भने रिलिज हुने छैनन्। उनले ‘पठान’ को सुटिङ गर्नेछन्। तर यो फिल्म सन् २०२२ मा रिलिज हुनेछ।
-बीबीसी हिन्दीबाट